आर्थिक

यो दशैँमा रोकिएला त राजमार्ग छेउका होटलको लुटतन्त्र ?

By खबरहब

September 24, 2024

काठमाडौं – दशैंका बेला काठमाडौं उपत्यकाबाटमात्रै कम्तिमा २५ लाख यात्रु बाहिरिने गरेका छन् । देशका विभिन्न क्षेत्रबाट पेसा, व्यवसाय, अध्ययनलगायतको सिलसिलामा काठमाडौं आएका सर्वसाधारणहरू दशैं मनाउन आफ्नो गाउँघर फर्कने गर्छन्‌ ।

सरकारले सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ घटस्थापनाअघि नै खोल्ने तयारी गरेको छ । टिकट खुलेलगत्तै दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको सङ्ख्या ह्वात्तै बढ्छ ।

काठमाडौंबाट बाहिरिने लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनहरूले यात्रुलाई सडक र राजमार्ग छेउछाउकै होटल तथा रेस्टूराँमा खाना खुवाउने गरेका छन् । तर नियामक सरकारी निकायका कर्मचारी, नेता, प्रशासन, यातायात व्यवसायी, चालक, सहचालक र होटल व्यवसायीको मिलेमतोमा अस्वस्थकर र सडेको खाना खान बाध्य पार्ने गरेको यात्रुहरूको गुनासो छ ।

अघिल्ला वर्षका चाडपर्व मनाउन घर आवतजावत गर्दा पनि सडकमा यात्रा गर्ने यात्रुहरूले कहिले खानामा रौँ, किरा, कुहिएको मासु, भातमा बढी सोडा हालेको र गन्ध समेत आउने गरेको गुनासो राख्ने गरेका थिए । स्थानीय प्रशासन र नियामकले भने वर्षेनी चाडबाडका बेला राजमार्गका होटल अनुगमन ‘तीव्र पारिएको’ दाबी गर्ने गर्छन्‌ ।

यस अघिका वर्षमा झैँ दशैँ नजिकिँदा यो वर्ष पनि सरकारले राजमार्ग तथा सडक छेउछाउका होटल-रेस्टूराँहरूको अनुगमन तीव्र पारेको जनाएको छ । मुख्यतः सङ्घीय राजधानी काठमाडौं हुँदै बाहिरिने प्रमुख सडकमार्ग छेउछाउका होटल तथा रेस्टूराँहरूको अनुगमन गर्न थालिएको सरकारी अधिकारीहरूको दाबी छ ।

उनीहरूका अनुसार; सार्वजनिक यातायातमा यात्रारत यात्रुलाई होटल सञ्‍चालकले कस्तो खाना खुवाइरहेका छन्‌ ? गुणस्तर मापदण्ड पालना गरेका छन्‌/छैनन्‌ भनी अनुगमन गर्न थालिएको हो ।

चाडपर्वका बेला राजमार्ग छेउछाउका होटलहरूको सेवा, अवस्था र मापदण्ड पालना गरे/नगरेकोबारे नियमित अनुगमन गरिरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए ।

‘यात्रुहरूले खाने खानाको गुणस्तर होटल तथा रेस्टूराँहरूले पालना गरेका छन्‌/छैनन्, कस्तो खाना खुवाइरहेका छन्, नियमित अनुगमन भइरहेको हुन्छ’, उनले भने, ‘चाडपर्व नजिकिँदै जाँदा कतिपय ठाउँमा विभाग र कतिपय ठाउँमा विभागसँगै अन्य निकायसँग समन्वय गरी अनुगमन गरिरहेका छौं ।’

विभागले काठमाडौंमा मात्र नभइ उपत्यकाबहिरका सडक छेउछाउका होटल तथा रेस्टूराँमै पुगेर अनुगमन गरिरहेको महर्जनले बताए ।

काठमाडौंबाट बाहिरिँदै गर्दा बसहरू रोकिने र यात्रुले खाना खाने होटल तथा रेस्टूराँहरू नागढुङ्गादेखि मुग्लिङ बजारसम्म अधिक छन् । पृथ्वी राजमार्ग आसपासका थुप्रै होटलहरूले यात्रुलाई खाना खुवाउने गरेका छन् । त्यस क्षेत्रका होटल तथा रेस्टूराँहरूको नियमित अनुगमन भइरहेको महर्जनको भनाइ छ ।

स्थानीय सरकार सञ्चालन ऐन–२४ अनुसार, स्थानीय बजार, पसल र पालिकाभित्रको अनुगमन गर्ने अधिकार स्थानीय सरकारले पनि पाएको छ । त्यसअनुसार पृथ्वी राजमार्ग छेउछाउका होटलहरूको अनुगमन त्यहाँका स्थानीय सरकारहरूले समेत गरिरहेका छन् । खाद्य विभागको समन्वयमा गाउँपालिकाले मुग्लिङ बजार र सडक छेउछाउका होटल तथा रेस्टूराँको अनुगमन गरिसकिएको इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए ।

‘खाद्य विभागको समन्वयमा गाउँपालिकाले मुग्लिन बजार र त्यसआसका होटल तथा रेस्टूराँहरूको अवस्था कस्तो छ भनेर अनुगमन गरिएको थियो,’ उनले भने, ‘एकाध बाहेक अधिकांश होटल तथा रेस्टूराँहरूको सेवा राम्रो देखियो ।’ 

बसहरू यात्रु रोकेर खाना खुवाउने होटलहरूको अनुगमन घटस्थापनापछि पनि गरिने उनले बताए । अनुगमनका क्रममा होटल सञ्चालकहरूले यात्रुहरूको स्वास्थ्यमा प्रतिकूल असर गर्ने खाना खुवाए र सेवामा इमान्दारिता नदेखिए कारबाही गर्ने उनको दाबी छ ।

गत वर्षको गरिएको अनुगमन क्रममा सडक छेउका होटल तथा रेस्टूराँहरूले यात्रुको स्वास्थ्यमा असर पुर्‍याउने काम गरेको भन्दै दुईवटा होटललाई कारबाही गरिएको गुरुङले उल्लेख गरे ।

काठमाडौं उपत्यकाबाट बाहिर जाने अरनिको र बिपी राजमार्ग आसपासका सडक छेउछाउका होटल रेस्टूराँहरूको अनुगमनलाई पनि तीव्रताका साथ अघि बढाइएको त्यहाँका स्थानीय पालिकाहरूले बताएका छन् ।

काठमाडौंको साँगा हुँदै पूर्व जाने बस सञ्‍चालकहरूले अरनिको राजमार्ग हुँदै सिन्धुलीको गोलन्जोर गाउँपालिकाको खुर्कोट बजारमा पुर्‍याएर खान खान बस रोक्छन्‌ ।

त्यस क्षेत्रमा सञ्चालित होटल तथा रेस्टूराँहरूमा गाउँपालिका र खाद्य विभागको संयुक्त टोलीमार्फत अनुगमन गरिँदै आएको गोलन्जोर गाउँपालिकाका प्रवक्ता रेगन राज थापाले बताएका छन्‌ ।

उनका अनुसार; चाडपर्व सुरु भइसकेकाले उपभोक्ता र यात्रुहरूको स्वास्थ्यमा असर नपुर्‍याउन बजार अनुगमन थप तीव्र पारिएको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुलीको समन्वयमा पालिकाले आगामी असोज १२ पछि संयुक्त अनुगमन तीव्र पार्ने उनले जानकारी दिए ।

त्यसैगरी, नारायणगढ-बुटवल सडकखण्डको दाउन्ने र बर्दघाटलगायत सडक छेउछाउका होटल रेस्टूराँमा पनि अनुगमन बढाइएको विभागले दाबी गरेको छ । विभागका अनुसार पूर्व–पश्चिम राजमार्ग छेउछाउ, हुलाकी, मध्यपहाडी र अन्य सडक राजमार्गका आसपासका होटल तथा रेस्टूराँको अनुगमन पनि थप तीव्र पारिएको छ ।

स्थिति उल्टो

राजमार्ग छेउछाउका होटल तथा रेस्टूराँको अनुगमन तीव्रतासाथ अघि बढाएको दाबी गरे पनि आम उपभोक्ता तथा यात्रुहरूले स्वस्थ्य र गुणस्तरीय खाना खाजा खान नपाइरहेको गुनासो गरेका छन्‌ ।

यो समस्या निमिट्यान्न पार्न विशेषगरी स्थानीय सरकारले निःस्वार्थ ढङ्गले बजार अनुगमन तीव्र गर्नुपर्ने उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष तथा उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना बताउँछन्‌ ।

‘राजमार्ग छेउछाउका होटल तथा रेस्टूराँहरूले स्वस्थकर खाना खाजा खुवाइरहेका छैनन् भनी यात्रुहरूले गुनासो गरिरहनुभएको छ,’ उनले भने, ‘स्थानीय पालिकाले थप कडाइसाथ अनुगमन गर्नुपर्छ । कर्मकाण्डी अनुगमनले बजार सुध्रिँदैन ।’

राजमार्ग छेउछाउका होटलमा खाद्य स्वच्छता र उचित मूल्य कायम गराउन केन्द्र सरकारमातहत निकाय, प्रदेश र स्थानीय तहले आपसी समन्वयमा अनुगमन प्रभावकारी बताउनुपर्ने तिमिल्सिनाले बताए ।

चाडपर्वका बेला हुने बजार अनुगमनलाई थप व्यवस्थित तथा प्रभावकारी रूपमा अघि बढाउन पहल गरिरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक राजन पौडेलले जानकारी दिए ।