आर्थिक

अर्थसंक्षेप : नेप्से लगातार ओरालो, सुनको मूल्य हालसम्मकै उच्च र दुई अर्बको टेक्सटाइल निर्यात

By खबरहब

September 24, 2024

मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५८.९३ अंकले घटेको छ । यता यस वर्षको शरद याममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएका छन् । यस्तै,चालु आर्थिक वर्ष (आव) को दुई महिनामा नेपालबाट झण्डै २ अर्बको कार्पेट, टेक्सटाइल निर्यात भएको छ भने सिस्नेरी–दक्षिणकाली सडकखण्ड आजदेखि १२ दिनका लागि बन्द गरिएको छ । खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको नियमित अनुगमन गर्न काठमाडौँ उपत्यकामा तीनवटा टोली परिचालन गरेको छ । यसरी नै,चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो दुई महिनामा ६ अर्ब भन्दा बढीको स्मार्ट फोन नेपाल भित्रिएका छन् ।

आजका प्रमुख आर्थिक समाचारहरू :

२० प्रतिशत बढीले घट्यो नेप्से मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५८.९३ अंकले घटेको छ । गत साउन ३१ गते ३ हजार दशमलब ८१ को बिन्दुमा पुगेको नेप्से २० प्रतिशत भन्दा बढीले घटेर मंगलबार २४७०.३९ को बिन्दुमा रोकिएको हो ।

शेयर विश्लेषकहरूले नेप्सेमा २० प्रतिशत भन्दा बढीको गिरावट आउनु लाई ‘क्रयास’ भएको मान्नुपर्ने विश्लेषण गर्दै आएकोमा मंगलबारसम्म शेयरबजारमा देखिएको गिरावटले नेप्सेमा ‘क्रयास’ भएको हुनसक्ने अनुमान गरिएको छ ।

मंगलबार नेप्सेमा भएको शेयर कारोबारमा सम्पूर्ण सहायक सूचकहरू नकारात्मक रहे । मंगलबारको शेयर कारोबारमा २३३ वटा कम्पनीको शेयर मूल्य घट्यो भने १० वटा कम्पनीको शेयर मूल्य मात्रै झिनो अंकले बढ्यो । एकवटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको नेप्सेले देखाएको छ ।

मंगलबार नेप्सेमा १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता शेयर ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३५६ बराबरको कारोबार हुँदा फलेट इन्डेक्स, सेन्सेटिभ इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स सबैको अवस्था भने नकारात्मक रह्यो ।

शरदयाममा १४ जनालाई धवलागिरि हिमाल आरोहणको अनुमति यस वर्षको शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएका छन् ।

विश्वको सातौँ अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ । एउटा समूहका १४ जना पुरुष पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

विभागका अनुसार धवलागिरि हिमाल आरोहणको अनुमति लिएकाबाट १६ लाख ८९ हजार ३० सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ । गत वसन्त याममा तीन समूहका २२ पुरुष र आठ जना महिलाले धवलागिरि हिमाल आरोहण गर्ने अनुमति लिएका थिए । सोबापत ७१ लाख ७० हजार सात सय ५० शुल्क सङ्कलन भएको विभागले जनाएको छ ।

आरोहण अनुमति लिएका आरोही, शेर्पा, पथप्रदर्शक, भरिया र सहयोगी आधार शिविर आउने तयारी गरेका इटली आधार शिविरका होटल व्यवसायीसमेत रहेका धवलागिरि गाउँपालिका–४ का वडा सदस्य हरिप्रसाद तिलिजाले बताए ।

पर्यटन विभागको पछिल्लो विवरणअनुसार चालु यामका लागि नेपालका १० हिमाल आरोहणका लागि ५४ देशका ८८ महिला र दुई सय ७४ जना पुरुषले अनुमति लिएका छन् । उनीहरुबाट चार करोड ५२ लाख ४५ हजार आठ सय ४८ आरोहण शुल्क प्राप्त भएको छ ।

 दुई अर्बको टेक्सटाइल र एक अर्ब बढीको चिया निर्यात चालु आर्थिक वर्ष (आव) को दुई महिनामा नेपालबाट झण्डै २ अर्बको कार्पेट, टेक्सटाइल निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको साउन र भदौ महिनामा नेपालबाट १ अर्ब ९९ करोड ९६ लाख ७ हजार रुपैयाँ बराबरको कार्पेट, टेक्सटाइल सामग्री निर्यात भएको हो ।

विभागको तथ्यांकअनुसार सो अवधिमा नेपाली कार्पेट तथा टेक्सटाइल उत्पादकहरूले सबैभन्दा धेरै अर्थात् १ अर्ब ३० करोड ९९ लाख ५९ हजार बराबरको कार्पेट टेक्सटाइल अमेरिका निर्यात गरेका छन् ।

त्यस्तै समीक्षा अवधिमा उत्पादकहरूले नेपालबाट १ अर्ब बढीको कालो चिया निर्यात गरेका छन् । विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा १ अर्ब १४ करोड २४ लाख ३२ हजार रुपैयाँ बराबरको ४४ लाख २० हजार २४६ केजी चिया निर्यात गरेका हुन् ।

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ? नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य पाँचसय रुपैयाँले प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।

यसअघि सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको थियो । पछिल्लो समय सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड  बनाउँदै आएको छ । यता, आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुक्खा बन्दरगाह भन्सारमा लक्ष्यअनुसार राजस्व संकलन भएन सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१–८२ को भदौसम्ममा आठ अर्ब ३९ करोड ४१ लाख १२ हजार राजस्व संकलन गरेको छ ।

भन्सार विभागले कार्यालयलाई भदौसम्म नौ अर्ब ९७ करोड ७९ लाख ६९ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । तर भदौसम्मको लक्ष्य पछ्याउन भने सकेन । कार्यालयले चालु आवको साउनमा तीन अर्ब ७५ करोड २२ लाख ११ हजार संकलन गर्यो भने चालु आवकै भदौमा भने रु चार अर्ब ६४ करोड १९ लाख एक हजार राजस्व संकलन गरेको छ । सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले चालु आवको दुई महिनामा राजस्व संकलन उत्साहप्रद रहेको बताए । 

‘भन्सार विभागले दिएको लक्ष्यको साउनमा ७९ दशमलव २८ प्रतिशत राजस्व संकलन भयो भने भदौमा पनि मासिक लक्ष्यको ८८ दशमलव ५० प्रतिशत राजस्व सङ्कलन गरेका छौँ’, उनले भने, ‘भदौमा चाडपर्व लक्षित आयात भएर लक्ष्यअनुसारको राजस्व संकलन गर्ने अपेक्षा भए पनि शतप्रतिशत संकलन हुन भने सकेन ।’

भन्सार विभागले कार्यालयलाई ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व संकलन गर्ने वार्षिक लक्ष्य दिएको छ । कार्यालयले चालु आवको दुई महिनासम्मको अवधिसम्म कुल वार्षिक लक्ष्यको १३ दशमलव ९८ प्रतिशत राजस्व संकलन गरेको छ ।

 काठमाडौंमा पहिलो पटक स्याउ मेला आयोजना हुने काठमाडौंमा पहिलो पटक स्याउ मेला आयोजना हुने भएको छ । ठमेलको होटल मनाङको सहकार्यमा किसान भेन्चरको आयोजनामा हुन लागेको मेला असोज १७ गतेदेखि तीन दिनसम्म चल्ने छ ।

किसान भेन्चरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालमा स्याउ खेतीलाई प्रोत्साहन गर्न नेपाल एप्पल फेस्ट २०२४ आयोजना गरिएको जनाएको हो । महोत्सवमा जुम्ला, हुम्ला, बाजुरा, मनाङ, मुस्ताङ, जाजरकोटसहित विभिन्न जिल्लामा उत्पादन भएका १५ प्रकारका स्याउहरू राखिने किसान भेन्चरका सिइओ राजेश कार्कीले जानकारी दिए ।

बिभिन्न कारणले नेपालमा उत्पादित स्याउले बजारीकरणको अभाव झेल्नुपरेको र ९० प्रतिशत स्याउ चीन र भारतबाट आयात हुने गरेको उनले बताए ।

स्थानीय किसानसँग स्याउ खरिद गरेर उपभोक्ता, आपूर्तिकर्ता र उद्योग विशेषज्ञसँग सिधा सम्पर्क गराउने उद्देश्यका साथ मेलाको आयोजना गरिएको उनको भनाइ छ । मेला ठमेलस्थित होटल मनाङमा आयोजना हुने बताइएको छ । 

दुई महिनामा ६ अर्बभन्दा बढीका स्मार्टफोन भित्रिए  चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो दुई महिनामा ६ अर्ब भन्दा बढीको स्मार्ट फोन नेपाल भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन र भदौ मात्रै ६ अर्ब ७० करोड ८१ लाख ५८ हजार रुपैयाँ बराबरको मोबाइल नेपाल भित्रिएका हुन् । 

नेपालले दुई महिनाको अवधिमा विदेशबाट ४ लाख ५४ हजार ९ सय ५८ थान मोबाइल नेपाल आएको तथ्यांकले देखाएको छ । केही समयअधिसम्म सुनसान बनेको मोबाइल व्यवसय अहिले भने चलायमान बन्दै गएको छ । 

यस्ता स्मार्टफोनहरू नेपालमा अस्ट्रेलिया, बंगलादेश, जापान, भारत ,चीन बेल्जियम, अमेरिका डेनमार्क, फिनल्याड, जर्मनी, मलेसिया ओमन कतार लगायतका विभिन्न देशहरूबाट आयात हुने गर्दछन् । नेपालमा सबैभन्दा बढी फोन भारत र चीनबाट आयात हुने गर्दछ ।

साउन र भदौमा मात्रै चीनबाट मात्रै ४ अर्ब ६ करोड ७२ लाख बराबरका ३ लाख १८ हजार ९ सय ३ वटा स्मार्ट फोन नेपाल भित्रिएका छन् । यस्तै भारतबाट २ अर्ब ५५ करोड ३५ लाख ९९ हजार मूल्य बराबरका १ लाख ३५ हजार ७६ वटा स्मार्ट फोन आयात भएका छन् ।