काठमाडौं- प्रधानमन्त्री केपी ओलीले जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकतासहित विश्वव्यापी साझेदारीमा नेपालले भूमिका खेल्ने बताएका छन् ।
संयुक्त राष्ट्रसंघ स्थापना दिवस (यूएन–डे)का अवसरमा बिहीबार सैनिक मुख्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वमा जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकता दिँदै विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न नेपाल तयार रहेको बताए ।
उनले विश्वभरको अस्थिर र अस्पष्ट अवस्थामा नेपाल राष्ट्रसंघका सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको जिकिर गरे ।
प्रधानमन्त्री ओलीले शान्ति, सुरक्षा, दिगो विकास, र वातावरण संरक्षण प्रवर्द्धन गर्न विश्वव्यापी प्रयासलाई समर्थन गर्न जारी राख्ने स्पष्ट पारे ।
उनले नेपालको परराष्ट्र नीतिको एक अंगको रूपमा, सधैं शान्तिपूर्ण सह-अस्तित्व, सार्वभौमसत्ताका लागि पारस्परिक सम्मान र अहस्तक्षेपका सिद्धान्त पालना भइरहेको अवगत गराए ।
दुई ठूला छिमेकीहरूको बीचमा रहेको नेपालले सबैसँग मित्रता र कसैसँग शत्रुताको नीति कायम राख्ने स्थितिमा रहेको पनि ओलीले बताए ।
त्यस्तै प्रधानसेनापति अशोकराज सिग्देलले शान्ति शान्तिकार्यमा खटिएका नेपाली सैनिकले चुनौतीलाई स्वीकार्दै जस्तोसुकै जिम्मेवारी लिँदै आएको बताए । भविष्यमा पनि आफ्नो जिम्मेवारी निर्वाहका लागि तयार रहेको उनले बताए ।