समाचार

एमालेलाई जग्गा दानविरुद्धको रिट ‘हेर्न नमिल्ने’

By खबरहब

October 24, 2024

काठमाडौं- नेकपा एमालेको पार्टी कार्यालय बनाउन भाटभटेनी सुपर स्टोरका मालिक मीनबहादुर गुरुङले दिएको जग्गा दानविरुद्ध सर्वोच्चमा परेको रिट हेर्न नमिल्नेमा परेको छ ।

न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा परेको उक्त रिट हेर्न नमिल्नेमा राखिएको हो ।

न्यायाधीश सुवेदीले मीनबहादुर गुरुङ जोडिएको ललिता निवासको मुद्दा आफूले हेरिसकेको भन्दै हेर्न नमानेको बताइएको छ ।

एमालेले गुरुङबाट जग्गा दान लिएको विषय कानुनविपरीत भएको भन्दै अधिवक्ता ज्ञानबहादुर बस्नेतले जग्गा दान र भवन निर्माण रोक्न मागसहित सर्वोच्चमा रिट हालेका थिए ।

यसअघि उक्त रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो । तर मंगलबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले प्रशासनको दरपीठ गर्ने निर्णय बदर गर्दै रिट दर्ता गर्न आदेश दिएपछि दर्ता भएको थियो।

भाटभटेनीका सञ्चालक गुरूङ र उनकी श्रीमती सावित्री गुरूङले काठमाडौंको कीर्तिपुर नगरपालिका- २ मैत्रीनगरमा एमालेका लागि पार्टी कार्यालय बनाउन जग्गा दान गरेका थिए ।

पार्टी कार्यालय भवन बनाउन दान गरेको १० रोपनी १४ आना जग्गा असोज २५ गते एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरिसकेका छन् ।