अन्तर्राष्ट्रिय

पुटिनसामु सी–मोदीले हात मिलाउँदा चीन र भारतमा उत्साह

By खबरहब

October 24, 2024

काठमाडौं- नेपालका दुई निकट छिमेकी भारत र चीनबीच लामो समयदेखिको तिक्ततापूर्ण सम्बन्धमा सुधारको संकेत देखिएको छ । रूसको कजानमा आयोजित ब्रिक्स सम्मेलनका क्रममा दुई देशका राष्ट्र र सरकार प्रमुखबीचको भेटवार्तापछि लामो समयदेखि चिसिएको सम्बन्ध सुमधुर हुने संकेत देखिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच पाँच वर्षपछि पहिलो पटक औपचारिक द्विपक्षीय वार्ता भएको छ । वार्ताका क्रममा दुवै नेताहरूले सीमा क्षेत्रको तनाव मत्थर पार्न दुई देशबीच हुन गइरहेको सम्झौताको स्वागत गरेका छन् ।

तेस्रो मुलुकमा भएको द्विपक्षीय वार्तामा दुवै नेताहरूले ‘सीमामा शान्ति’ कायम राख्ने प्राथमिकतालाई रेखाङ्कन गर्दै ‘आपसी विश्वास’, ‘आपसी सम्मान’ र ‘आपसी संवेदनशीलता’ लाई सम्बन्धको आधारसमेत बताए ।

चिनियाँ राष्ट्रपति सीले त ‘आपसी संवाद र सहयोग’ मा जोड दिँदै आफूहरूको भेटवार्तालाई विश्वल समुदायले नियालिरहेको बताए । ‘दुवै देशका जनता र अन्तर्राष्ट्रिय जगतले हाम्रो भेटलाई अत्यन्तै गौर गरेर हेरिरहेको छ,’ मोदीसँग उनले भने ।

दुई नेताबीचको भेटपछि बीबीसी हिन्दी अनलाइनले ‘पाँच वर्षबाट द्विपक्षीय सम्बन्धमा जमेको बरफ बुधबार रूसको कजानमा त्यो बेला पग्लियो, जब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङले द्विपक्षीय वार्ताका दौरान जोश–जाँगरका साथ हात मिलाए’ भन्दै समाचार छापेको छ ।

चीनको सरकारी अखबार ग्लोबल टाइम्सले पनि मोदी–सी द्विपक्षीय वार्तालाई अवसरको संज्ञा दिँदै भनेको छ, ‘भारत र चीनका मुद्दा समाधानका लागि यो एक अहम् मौका हो । यसको स्वागत गरिनुपर्दछ ।’

भारत–चीन सम्बन्धलाई नजिकबाट हेर्दै आएका विश्लेषकहरूले पनि दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन मोदी–सी भेटवार्ता अहम् कदम भएको बताएका छन् । जवाहरलाल नेहरू विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. राजनकुमारले भारत र चीनका शीर्ष नेताहरूको भेटवार्ता अहम भएको बताएका छन् ।

‘किनकी एक हप्ता अघिसम्म दुई देशबीचमा यस्तो कुनै बैठक–छलफल हुने केही निश्चित थिएन,’ उनले बीबीसीसँग भनेका छन्, ‘दुवै देशले लद्दाखस्थित सीमाक्षेत्रमा ‘डिसइन्गेजमेन्ट’को प्रक्रिया घोषणा गरेपछि मात्रै यो भेटवार्ता भएको छ ।’

केही विश्लेषकहरू आपसी तनाव कम गर्ने सम्झौता र चीनलाई वार्ताको टेबलमा ल्याउनु भारतको ठूलो जितका रूपमा हेरिरहेका छन् । नयाँ दिल्लीस्थित ‘अब्जर्भर रिसर्च फाउन्डेशन’का अध्ययन तथा विदेश नीति विभागका उपाध्यक्ष प्रोफेसर हर्ष भी पन्तले दुई देशबीच छलफलको सुरुवात अत्यन्तै अहम रहेको प्रतिक्रिया बीबीसीलाई दिएका छन् ।

बीबीसीको हिन्दीसँग पन्तले भनेका छन्, ‘यो एक प्रकारले भारतको ठूलो जित हो । भारत चार वर्षसम्म ठूलो शक्तिका अघि उभियो । भारतले पटक–पटक सीमा क्षेत्रको स्थिति सामान्य नहुँदासम्म अन्य क्षेत्रमा पनि सम्बन्ध सुमधुर नहुने बताइरह्यो । ताजा सम्झौतामा चीनले यसलाई स्वीकार गर्यो‍ ।’

सन् २०२० मा पूर्वी लद्दाखको गलवानमा दुई देशका सेनाबीच हिंस्रक झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो । चीनका कयौं सैनिक हताहत भएको भनिए पनि क्षतिको विवरण सार्वजनिक गरिएको थिएन ।

त्यही समयबाट भारत र चीनबीचको सम्बन्ध तनावपूर्ण बनेको थियो । विगत पाँच वर्षदेखि दुई देशका शीर्ष नेताहरूबीच द्विपक्षीय वार्ता पनि भएको थिएन ।

लद्दाख घटनाकोे चार वर्षपछि गत सोमबार (कात्तिक ५) भारतले वास्तविक नियन्त्रण रेखा (एलएसी) मा तनाव न्यूनीकरणका लागि दुई देशबीच सम्झौताको घोषणा गरेको थियो ।

यद्यपि, यसअघि पनि दुई देशबीच आपसी विवाद समाधानका लागि कयौंपल्ट वार्ताहरू भएका छन् । डोकलाममा दुई देशबीच संकट उत्पन्न हुँदा चीनको वुहानमा सम्पन्न ब्रिक्स सम्मेलनका क्रममा पनि मोदी र सीबीच द्विपक्षीय वार्ता भएको थियो ।

उक्त भेटवार्तामा पनि ‘वुहान स्पिरिट’लाई अगाडि बढाउने भनिएको थियो । सन् २०१९ मा भारतको चेन्नई नजिकै पर्ने महाबलिपुरममा मोदी र सीबीच छलफल पनि भएको थियो । तर, त्यपछि गलवानमा दुवै देशका सेनाहरूबीच झडप हुन पुगेको थियो ।

पछिल्लो भेटवार्तालाई चीनले भने आशाका साथ हेरेको छ । चीनको सरकारी अखबार ग्लोबल टाइम्सले लेखेको छ, ‘चीन–भारत सम्बन्धहरूको दिशा वैश्विक ट्रेन्ड्स र क्षेत्रीय समीकरणबाट निर्धारित हुने छ । भारत र चीन पूर्वका दुई महान प्राचीन सभ्यताहरू हुन् । उदाउँदै गरेका विकासशील देशका रूपमा चीन–भारत सम्बन्धहरू महत्वपूर्ण छन् ।’

ग्लोबल टाइम्सले चीन र भारतले एकता र सहयोग चयन गर्दै आफ्नो स्वतन्त्रता र स्वायत्ततालाई कायम राख्नु पर्ने र आपसी द्वन्द्वबाट मुक्त भएर एक–अर्काको सफलताका लागि प्रयास गर्न आवश्यक रहेको समाचारमा उल्लेख गरेको छ ।

चीन–भारत मिलापपछाडि पश्चिमा शक्तिहरूसँग लडिरहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चाललाई मानिएको छ । अमेरिकासहित पश्चिमा शक्तिको चर्को दबाब झेलिरहेका पुटिनले विश्व हाँक्ने शक्ति अब पूर्व र एसियातिर ल्याउने कोसिस गरिरहँदा भारत र चीनबीचको तनावले मुस्किल पर्ने अनुमान थियो ।

यस्तोमा पुटिनले भारत र चीनको नेतृत्वलाई कजानमा वार्तामा मात्रै राख्न सफल भएनन्, दुई देशबीचका अहिलेसम्मका तनावलाई सहयात्रातिर बढाउने सक्ने गरी पहलकदमीसमेत लिएका छन् । भारत र चीनबीच तनाव नभएमा अमेरिका नेतृत्वको पश्चिामा शक्तिलाई टक्कर दिन सकिने पुटिनको निष्कर्ष रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।