ब्रेकिङ स्टोरी

सूर्यदर्शन पीडितको चित्कार : कहीँबाट न्याय मिलेन, रविलाई जोगाउन शक्ति प्रदर्शन भयो

By खबरहब

October 24, 2024

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा समातिएपछि यतिबेला पोखरा तातेको छ ।

सभापति लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएपछि देशभरबाट रास्वपा कार्यकर्ता उत्रिएर आन्दोलन गरिरहेका छन् । उनीहरूले अदालतलाई समेत दबाब बढाउने गरी आन्दोलन चर्काएपछि सहकारीपीडित आक्रोशित छन् । सूर्यदर्शनसहितका सहकारी पीडितहरू न्याय खोज्दै पोखरामा आन्दोलित छन् ।

रित्ता थालमा ढुंगा राखेर आफ्नो पीडा पोखिरहेका उनीहरू राज्यलेसमेत अन्यायमा पारेको बताइरहेका छन् । रविले सहकारीको रकम नठगेको बताइरहँदा पीडितहरूको आक्रोश भने उनैमाथि छ ।

रास्वपाले अराजकता बढाउन पोखरामा आन्दोलन गरेको उनीहरूको बुझाइ छ । यिनै आन्दोलनकारीमध्ये दुईजना पीडितसँग खबरहबले गरेको कुराकानी उनीहरूकै भाषामा प्रस्तुत गरेका छौँ ।

कृष्णप्रसाद जैसी, सहकारीपीडित

हामी सहकारीपीडितहरू बचत फिर्ताको आशमा छौँ । सहकारीको आन्दोलनमा कसले कोसँग रगतको खोलो बगाउने हो, हामीलाई थाहा छैन । उहाँहरू (रास्वपा) हामी सहकारी पीडितको पक्षमा हो भन्नु हुन्छ । सहकारी पीडितलाई न्याय दिने पनि भन्नु हुन्छ, फेरि रगतको खोलो बग्छ पनि भन्नु हुन्छ । उहाँहरूले अदालतमा न्यायाधीशसँग रगतको खोलो बगाउने हो भने हामी जान्दैनौँ । अब यस प्ररकरण अदालती प्रक्रियामा मुद्दा गएको छ ।

अदालतलाई नै आक्रमण गर्ने धम्की दिने कुरा गलत हो, यो गलत गतिवधि हो । प्रक्रियागत हिसाबले अदालतमा गएको मुद्दाबारे बाहिर बहस र आन्दोलन गर्नु भनेको अदालतविरुद्धको आन्दोलन हो ।

पोखरास्थित सूर्यदर्शन सहकारीसँग प्रकरणमा जोडिएपछि उहाँहरू (रास्वपा) ले राजनीति गर्न थाल्नु भयो । उहाँहरूलाई राजनीतिक गर्ने प्लेटफर्म पीडितबाटै मिल्ने हो । हिजो वैदेशिक रोजगारमा गएका पीडितहरू, यहाँ ठगिएका पीडितहरूबाट राजनीति गर्नु भएको थियो, अहिले उहाँहरू नै अनुसन्धानमा आइसकेपछि प्लेटफर्म चाहिएको छ राजनीति गर्न ।

यस्ता प्लेटफर्मबाट राजनीति गरेर हुँदैन । हामीले मत हालेको केही होला, नयाँले केही गर्लान् भनेर हो । तर उहाँहरूले गृह मन्त्रालय रोज्नुको कारण त ठगी प्रकरण सल्टाउन बाध्यताले पो रहेछ । गितेन्द्रबाबु राई (जीबी) सँग मिलेर पीडितलाई दुरुपयोग गर्नुभयो, अहिले पार्टीलाई दुरुपयोग गर्नु भएको छ, आम जनतालाई दुरुपयोग गर्नुभएको छ । त्यसमा हाम्रो आपत्ति छ ।

यहीकारण हामीले २०८० साउनको २२ गते जाहेरी दर्ता गरेको हौँ । त्यसपछि सूर्यदर्शनसँग सम्बन्धित कर्मचारी र पदाधिकारीका नाममा पक्राउ पुर्जी जारी भयो । तर उहाँहरू कानुन बुझेको मान्छेले दोस्रो चरणको अनुसन्धानमा सहकारी ठगीमा परिन्न भनेर बस्नुभयो । तर सहकारीको पैसा त हाम्रो पेटमा छ, त्यसले अनुसन्धानको दायरामा पर्छौँ भनेपछि डरले सत्ता चाहियो, त्यसमा पनि गृह मन्त्रालय नै चाहियो ।

पहिला केपी शर्मा ओली चाहियो, त्यसपछि पुष्पकमल दाहाल प्रचण्ड चाहियो । यसरी उहाँहरूले हारगुहार गरेर २२ सिट संसद् र ११ लाख जनमतको दुरुपयोग गर्नुभयो । हामी जाहेरवालालाई सत्ता प्रयोग गरेर उठाउने, जाहेर वालाको जाहेर नै नरहेको भन्न लगाउने, प्रमाण लुकाउने, हाम्रा दस्तावेजहरू जबरजस्ती प्रहरी लगाएर निकाल्न लगाउने गरेर सत्ताको दुरुपयोग गर्नु भयो ।

रवि लामिछाने सत्ता गुमेपछि आफ्नो छायाबाट आफैं डराउन थाल्नु भयो । प्रचण्डसँग मिलेर आमजनताको बचत दुरुपयोग छल्ने कोसिस गर्नुभयो । उहाँलाई जोगाउन अहिले शक्ति प्रदर्शन भएको छ, यो नयाँको नाममा अर्को दुर्भाग्य हो ।

यस्तो गर्दा हाम्रो मत पानीको फोका जस्तै भयो भनेर हामीले त्यो रोक्न अनुरोध गर्यौँ‍ तर उहाँहरूले टेर्नु भएको छैन । नटेर्नु भनेको अदालतविरुद्धको कदम हो, अराजकता हो । यो अराजक आन्दोलन पोखरेलीहरूको प्रतिवादमा गए केही रहँदैन ।

हामीले ७ जनालाई जाहेरी दिएका हौँ । हामीलाई चाहिएको बेला दिन्छौँ भनेर ठगे, पैसा लगे तर चाहिएको बेला दिन सकेनन् । पोखराबाट १८ हजार ९ सय जनाबाट उठाएको पैसा माग्न जाँदा दिन सकेनन् ।

त्यसपछि हामीले पैसा दिन नसक्ने को हुन् छलफल गर्न आउनुस् भन्दा उनीहरू आएनन् । त्सपछि हामीले अनुसन्धान गरीपाऊँ, घरजग्गा लिलाम गरीपाऊँ, पास्पोर्ट रोक्का गरीपाऊँ भनेर निवेदन हाल्यौँ । यसमा साधारण कमिटी बनाएर टार्न खोजे ।

तर त्यसको कनेक्सन सत्ताधारी ठूला सांसद र दलका मान्छेसम्म रहेछ । त्यसकारण ठूला मान्छेलाई अदालतले छोड्ने र साना मान्छेलाई थुन्ने गर्न हुन्न भनेर हामीले न्यायिक निकायमा बहस गर्यौँ‍ । त्यसपछि उहाँहरूको सत्ता हुँडलियो, सत्ताको दुरुपयोग गर्नु भयो ।

प्रहरीलाई धम्क्याउनु भयो । राज्य सत्तामा भएका बेला पक्राउ पुर्जी जारी भएपछि पीडितलाई न्यायको सट्टा प्रदर्शन गर्नु भएको छ, यो गलत प्रक्रिया हो । गलत संस्कार हो । उहाँहरूले यो संस्कार राख्नु भयो भने भ्रष्टाचारको विरोधबाट जन्मेको पार्टीले भोलि अरु दलका मान्छेलाई कारबाही गर्ने आधार राख्न सक्छ त ?

प्रचण्ड र रवि लामिछानेको अभियान कुर्सी बचाउनको निम्ति थियो । प्रहरीहरूलाई सुशासनको सट्टा चेन अफ कामाण्ड बाहिरबाट हस्तक्षेप गरेर मुद्दालाई ढिसमिस पार्ने काममा उहाँहरू लाग्नु भयो । आफ्ना मुद्दा कमजोर बनाउने र पीडितलाई झन् पीडित बनाउने उहाँहरूको अभियान थियो । उहाँहरूले प्रहरीबाट बुट हान्न लगाउनु भयो ।

मलाई प्रहरी लगाएर भित्रबाट लतार्दै गेटबाट बाहिर फाल्न लगाउनु भयो । गृहमन्त्री हुँदा उहाँ मातहतका प्रहरीलाई मलाई दुःख दिने नियतसहित उठाउन पठाउनु भयो । मैले मानव अधिकार आयोगमा पसेर यस्तो भयो भनेँ । मिडियाले पनि रविजीका समाचार ठूला ब्यानरमा लेखे । तर, हाम्रो भनाइ बल्ल तपाईंहरूले मात्रै प्रसारण गर्नुभयो, रवि पक्राउ परिसकेपछि । हाम्राबारे बोल्ने सरकारी वकिलहरू पनि लर्बराउँदै डराएर बोले ।

अब हामी न्यायिक प्रक्रियामा गएका छौँ । भोलि सडकबाटै न्याय खोज्ने अवस्था आए आमजनतालाई आह्वान गरौँला, उहाँले आफ्ना कार्यकर्तालाई आह्वान गरे जस्तै ।उहाँहरूलाई अहिले पनि सत्ताको सहयोग छ । अदालतको ढोकामा किन एक पक्षलाई मात्रै बोल्न दिइयो । हामीलाई त छिर्न पनि दिँदैनन् ।

उहाँहरूले ‘एक्सन टिम’ भन्नु भएको छ । एक्सनलाई मैले हान्ने टिम बुझ्छु । यसमार्फत धम्काउने, दबाब सिर्जना गर्ने, कास्कीमा गतिविधि गर्ने, झन्डा देखाउने, अदालतमै पनि धम्काउने र पीडितको घर नै घेर्न जाने अवस्था सिर्जना गर्नु भएको छ । म साधारण वेयटर हो । काम गरेर राखेको पैसा हो त्यो । हामीले एमाले र कांग्रेसका मासु भात खाएको भने छानबिन गरियोस् । उनीहरूको एक सिता भात मुखमा परेको रहेछ भने कुन शक्तिले हाम्रो नष्ट गर्नु पर्छ गरोस् ।

विक्रम केसी, सूर्यदर्शन सहकारीपीडित र जाहेरवाला

राजनीतिक उथलपुथलसहितको राजनीति स्वार्थ यिनीहरूको योजनामा होला । त्यो आफ्नो पाटो होला, तर पीडितको एउटै मात्र माग न्याय पाउनुपर्छ । हाम्रो पैसा फिर्ता हुनु पर्छ ।

रवि, छवि, जीबी र कुमार यसमा जोडिएका छन् । कुमार पुर्पक्षका लागि कारागार चलान भइसके । जीबी फरार छन् । छवि र रवि अनुसन्धानमा छन् ।

रविलाई पनि एउटै मुद्दामा पक्राउ गरिएको हो । यो विषयमा रविको पार्टीका नेताले बुझ्नु पर्ने कुरा भनेको अहिले अनावश्यक आन्दोलन र भिडभाड पोखरामा भइरहेको छ । पोखरा जस्तो शान्ति क्षेत्रलाई रणभूमि बनाउनु हुँदैन ।

रवि पक्राउ परेपछि सहकारीको मुद्दा मूल हो भन्नु भएको छ । त्यो विषय हिजोको दिनमा नउठेको हो र ? हामी न्याय माग्न रवि लामिछानेको ढोकामा नगएको हो र ? हामी ठाउँ ठाउँमा गएका हौँ । धेरैलाई भेटेका हौँ । अब त हामी झुन्डिएर मर्न मात्रै बाँकी छ ।

धेरै प्रकारका पीडित छन् । उनीहरू कुनै पार्टीमा आबद्ध होलान् । यो रविको मुद्दा पार्टीगत हिसाबबाट हेर्दा बोकेर हिँड्ने मुद्दा नै होइन । रविले पार्टी नखोल्दै जति गतिविधि गर्नुभएको छ, के पहिला नागरिकताको मुद्दा पार्टीलाई थाहा थियो र ? पासपोर्टका कुरा पनि पार्टीलाई थाहा थियो ? सहकारी काण्ड पार्टीलाई थाहा थियो ? थाहा थिएन नि । अरु यस्ता विषय आउलान्, सबै पार्टीले बोक्दै हिँड्ने हो त ? कहिलेसम्म र कति बोक्दै हिँड्ने हो ?

पार्टीले देश बनाउने कि रविका मुद्दा बोक्दै हिँड्ने ? खोलिएको दिनदेखि मात्र रविको पार्टी होला । रविले आफैँले फेसबुक लाइभमा आएर मेरो भागमा परेको कुरा म तिर्छु भनेर भन्नु भयो त । कानुनलाई त सघाउनु पर्‍यो नि, पोखरालाई रणभूमि बनाउने काम गर्ने हो त ? उहाँहरूले देशभरबाट मान्छे ओराल्नु भएको छ। त्यसैगरि देशैभरका पीडित बोलाउँदा हाम्रो गुहारको पनि त सुनुवाइ होला ।

अहिले रास्वपाका नेताहरू घरदैलो कार्यक्रम गरिरहेका छन् । बाटोमा देखिराखेका छौँ । टिकटकसहितका सामाजिक सञ्जालमा आइराखेका छन् । आइदिनुस्, हाम्रो लडाइमा साथ दिनुस् भनेर । यस्तो जबरजस्ती गर्ने होइन नि । यो उहाँहरूको लडाइँ आफ्नै विरुद्धमा हो ।

रास्वपाका नेताले अदालत र कानुनलाई प्रभाव पार्न खोजिरहेका छन् । उनीहरू अदालतमा सरर जान्छन्, आउँछन् । अदालतको मूल ढोकामै अन्तर्वार्ता, यहो कहाँसम्मको जायज हो त ? अभियुक्त कसैलाई बोल्न नदिने, कसैलाई अदालतमै अन्तर्वार्ता दिन लगाउने काम भएका छन् । तर कानुन सबैलाई एउटै हुँदैन र ?

हामी सहकारीपीडितहरु संगठित हुँदै गर्दा देशकै मुद्दा बनेको छ । सहकारीको विषयले देश नै संकटमा पर्ने होकि भन्ने गम्भीर विषय भएको छ । यसका लागि सरकारले यसको छुट्टै नियामक निकाय खोलिदिनु पर्‍यो । सहकारीलाई न्याय दिन राज्यका के के निकाय चाहिन्छन्, त्यसो गरिदिए पीडित खुसी हुन्छन्, राहत मिल्छ ।

पोखराका सहकारीपीडितहरूसँग पत्रकार कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश