काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंह समस्यामा फसेको ललितपुरको सुमेरु सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड सञ्चालन गर्नेगरी शेयर सदस्य भएका छन् ।
सिंहले सयौं बचतकर्ताको अर्बाैं रुपैयाँ निक्षेप जोखिममा रहेको सो सहकारीका बचतकर्ताको बचत फिर्ता गरी सञ्चालन गर्न सकिने विचार व्यक्त गरेका छन् ।
संसदको ‘सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन समिति’ले केही उजुरीका आधारमा सो सहकारीका केही पदाधिकारीसँग बयान लिएको थियो ।
सोही क्रममा सिंहले सहकारीको सम्पत्ति समेत बेचबिखन नगरी तत्कालका लागि आफ्नै समितिबाट बचतकर्ताहरूको रकम फिर्ता गरेर विश्वासको वातावरण बनाउने समेत बताएका छन् ।
समस्याग्रस्त सहकारी किन रोजे सिंहले ?
समितिको प्रतिवेदनअनुसार ०५६ मा दर्ता भएको सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई हाल फरार रहेका भरत महर्जनले स्थापनाकालदेखि ०७६ सालसम्म नेतृत्व गरेका थिए ।
उनले सहकारी सञ्चालन सहजताको लागि आफ्ना विश्वासपात्र र आफन्तलाई सञ्चालक समितिमा राखेर काम गरेका थिए । संस्थाको रकम अपचलन गरेपछि महर्जनले ०७६ सालमा संस्थाकै कर्मचारी हेमराज दाहाललाई अध्यक्ष र विनोद आचार्यलाई सचिव बनाएका थिए । समितिमा पनि आफन्तहरूलाई नै राखेर सहकारीबाट बाहिरिएका थिए ।
अहिले सो सहकारीको ९ अर्ब रुपैयाँभन्दा बढी सम्पत्ति तथा दायित्व रहेको छ ।सहकारीले ग्राहकहरूमा ८ अर्ब ९६ करोड ७ लाख १४ हजार ७०० रुपैयाँ बराबरको ऋण लगानी गरेको छ । संस्थाको अचल सम्पत्ति १४ करोड र बैंकमा नगद ६९ लाख २० हजार ६५० रूपैयाँ रहेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, संस्थामा ७ अर्ब २३ करोड ८८ लाख ५ हजार ४४७ रूपैयाँ बचत संकलन भएको, ४५ करोड ८८ लाख १७ हजार ८९३ बराबर शेयर पुँजी रहेको र कोषमा ९५ करोड ५७ लाख २९ हजार ६३७ रुपैयाँ छ ।
सहकारीको कुल सम्पत्ति र दायित्वलाई हेर्दा संस्था जोखिमपूर्ण अवस्थामा रहेको देखिँदैन । तर, तरलताको व्यवस्थापन नगरी निक्षेपको तुलनामा अधिक ऋण प्रवाह गरेकोले समस्या भएको प्रतिवेदनमा उल्लेख छ ।
सुमेरु सहकारीले ऋणको ठूलो हिस्सा सुमेरु सिटी अस्पताल र सुमेरु कम्युनिटी हस्पिटलमा लगानी गरेको छ ।सुमेरु सिटी अस्पतालमा मात्रै सहकारीबाट ३ अर्ब १२ करोड ३५ लाख १८ हजार ६० रूपैयाँ र सुमेरु कम्युनिटी अस्पतालमा २ अर्ब ८६ करोड ६४ लाख ८१ हजार ९४० रूपैयाँ ऋण लगानी भएको छ । सहकारीले कम्पनीहरूमा मात्रै ६६.८५ प्रतिशत ऋण लगानी गरेको हो ।
संसदको विशेष समितिले सो सहकारीले ती अस्पतालहरूमा असुरक्षित लगानी गरेको औंल्याएको छ । तर, ती अस्पतालहरू हाल सञ्चालनमै छन् ।
समितिलाई राजबहादुर सिंहले सुमेरु सहकारीको वित्तीय विवरण हेर्दा बचतकर्ताको बचत फिर्ता गरेर पनि सञ्चालन गर्न सकिने आफूलाई लागेको बताएका छन् । सोही कारण आफू शेयर सदस्य भएको भन्दै उनले विशेष समितिमा बयान दिएका हुन् ।
सिंहले आवश्यक परे आफ्नो निजी सम्पत्तिबाट बचतकर्ताको केही रकम फिर्ता गर्ने र बचतकर्ताको विश्वास जितेर सहकारीलाई नियमित रूपमा सञ्चालन गर्न सकिने बताएका छन् ।
‘सहकारीको सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता दिने भन्दा पनि हालका लागि आवश्यक परे मेरो निजी सम्पत्तिद्वारा बचतकर्ताको आंशिक रकम सेटल गर्ने र बचतकर्ताको विश्वास जिती क्रमिक रूपमा सहकारीलाई नियमित रूपमा सञ्चालन गर्ने योजना छ’, सिंहले समितिसँगको बयानमा भनेका छन् ।
सहकारीको सम्पत्ति र दायित्वको अवस्था
‘पूर्वअध्यक्ष महर्जनबाट समस्या सिर्जना’
सुमेरु सहकारीमा समस्या आउनुको मुख्य कारण सो सहकारीमा लामो समयदेखि नेतृत्व सम्हालेका पूर्व अध्यक्ष भरत महर्जन रहेको सहकारीसम्बद्ध व्यक्तिहरूले बताएका छन् ।
संसदको विशेष समितिलाई बयान दिँदै उनीहरूले हाल फरार रहेर बेलायत बस्दै आएका पूर्व अध्यक्ष महर्जनले गरेको अपचलन रोक्नको लागि आवश्यक कार्य गर्न सकिए सहकारी सञ्चालन गर्न सकिने धारणा राखेका हुन् ।
सुमेरु सहकारीबाट बचत फिर्ता नभएको भन्दै संसदको विशेष समितिमा १९ जनाले उजुरी हालेका थिए । विशेष समितिले सिंहसहित सहकारीका पूर्वअध्यक्ष हेमराज दाहाल, हालका अध्यक्ष कृष्णप्रसाद कँडेल र प्रस्तावित अध्यक्ष वीरेन्द्र महर्जन लगायतसँग बयान लिएको थियो ।
संस्थाका प्रस्तावित अध्यक्ष वीरेन्द्र महर्जनका अनुसार सुमेरु सहकारीले गत असार ३१ गते साधारणसभा सम्पन्न गरेर उनकै अध्यक्षतामा हरिशचन्द्र उपाध्यक्ष, ओर्बिन गुरुङ सचिव, राजन राई कोषाध्यक्ष, गोकुल रोकाया, ध्रुब शाह र अनिल मल्ल सदस्य रहनेगरी नयाँ कार्यसमिति गठन गरेको छ ।
सहकारीको सम्पत्ति अपचलन गरी संस्थाका पूर्वअध्यक्ष भरत महर्जनले सपरिवार बेलायत भागी गएकाले संस्था समस्यामा परेको महर्जनले बताएका छन् ।
संस्थाले बचतकर्ताहरूलाई १३ सयवटा चेक वितरण गरेको र तीमध्ये ७ जनाले कालोसूचीमा राख्ने काम गरेको भन्दै प्रस्तावित अध्यक्ष महर्जनले संस्थालाई कालोसूचीबाट हटाएर कारोबारमा लैजान ६ जनाले सहयोग गरेको र बाँकी एकजनासँग समन्वय गर्ने काम भइरहेको संसदको विशेष समितिलाई बयान गरेका छन् ।
संसदको विशेष समितिमा सुमेरुको तर्फबाट बयान दिनेहरूले भरत महर्जनले यतिबेला आफ्नो सम्पत्ति बिक्री गरेर बेलायत लैजाने काम गरिरहेको र उनको सम्पत्ति रोक्का राख्न सहयोग गर्नुपर्ने बताएका छन् । संस्थाका हालका अध्यक्ष कृष्णराज कँडेल र पूर्वअध्यक्ष हेमराज दाहालले पनि भरत महर्जनको कारणले संस्था समस्यामा परेको बयान दिएका छन् ।
सुमेरु सहकारीका पूर्वअध्यक्ष भरत महर्जनले सहकारीको बचत अपचलन गरी बेलायतमा एउटा घर आफ्नो र अर्को घर छोरी–ज्वाइँको नाममा खरिद गरेको सुन्नमा आएको वयान समितिलाई दिएका पूर्वअध्यक्ष दाहालले बताए ।