समाचार

राष्ट्रियसभा निर्वाचन : कोशीमा तीन, बागमतीमा पाँच गयल 

By खबरहब

January 25, 2024

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा कोशीमा तीन जनाले मतदान गरेका छैनन् । यस्तै बागमतीमा पनि पाँच जनाले मतदान नगरेको बताइएको छ । 

 प्रदेश सभा तर्फ कोशी प्रदेशमा धरानका मेयर हर्क साम्पाङले मतदान गरेनन् । यस्तै मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयराम गच्छदारले बिरामी भएर मतदान नगरेको बताइएको छ । 

यस्तै कोशीकै झापा गाउँपालिकाका अध्यक्ष जयराम चौधरी निलम्बनमा परेको हुँदा मतदाता सूचीमै थिएनन् । 

कोशीमा २ सय ७४ स्थानीय जनप्रतिनिधि मध्ये २ सय ७१ ले मात्र मतदान गरेका छन् । प्रदेश सभाका ९३ जनाले नै मतदान गरेका छन् । 

बागमती प्रदेशमा हाम्रो नेपाली पार्टी (हानेपा) का दुई सांसद शैलेन्द्रराज बज्राचार्य र समता खड्कीले मतदान गरेनन् । 

यस्तै स्थानीय तहतर्फ  काठमाडौंका मेयर बालेन्द्र शाह, नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष बिरबल तामाङ र काभ्रेको चौरी देउराली गाउँपालिकाको उपाध्यक्ष शेरबहादुर लामा मतदान गरेका छैनन् । 

यहाँ प्रदेश सभातर्फ १०८ जनाले मतदान गरेका छन् भने स्थानीय तहतर्फ २३४ जनाले मतदान गरे ।