समाचार

त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक कलेजोको सफल प्रत्यारोपण

By खबरहब

February 25, 2024

काठमाडौं- विदेशी चिकित्सकको सहयोगबिनै त्रिवि शिक्षण अस्पतालका चिकित्सकले दोस्रो सफल कलेजो प्रत्यारोपण गरेका छन् । सबैभन्दा जटिल शल्यक्रिया मानिएको कलेजो प्रत्यारोपण दोस्रोपटक नेपाली चिकित्सकले नै सम्पन्न गरेका हुन् ।

त्रिवि शिक्षण अस्पतालमा चिकित्सक डा. रमेश भण्डारीको नेतृत्वमा माघ २६ मा दोस्रो व्यक्तिमा प्रत्यारोपण गरिएको हो । प्रत्यारोपण सफल भएपछि शल्यक्रियाको १६औँ दिनमा आइतबार बिरामीलाई डिस्चार्ज गरिएको हो ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको यो प्रत्यारोपण १२औँ सफल कलेजो प्रत्यारोपण हो । अस्पतालका अनुसार ३३ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरिएको थियो, जसलाई उनकी २८ वर्षीया श्रीमतीले कलेजो दान गरेकी हुन् ।

यसअघि नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीको संलग्नतामा पहिलोपटक गत पुस २७ मा कलेजो प्रत्यारोपण गरिएको थियो । विदेशी चिकित्सकको सहयोगबिना नै पहिलो र दोस्रो प्रत्यारोपण सफल भएपछि थप सेवाका लागि आत्मविश्वास बढेको डा. भण्डारीले बताएका छन् । प्रत्यारोपणका लागि आवश्यक पूर्वाधार, उपकरण र जनशक्ति उपलब्ध भएकाले प्रत्येक महिना एकजनामा सफल प्रत्यारोपणको लक्ष्य रहको डा. भण्डारीले बताएका हुन् ।

त्रिवि शिक्षण अस्पतालले यसअघि विदेशी चिकित्सकको सहयोगमा १० वटा बिरामीमा कलेजो प्रत्यारोपण गरेको थियो । त्रिविमा ०७६ जेठ १७ गते पहिलोपटक कलेजो प्रत्यारोपण गरिएको थियो, जसमा भारतको एपोलो अस्पतालका प्रत्यारोपण विशेषज्ञसहितको टोलीले सहयोग गरेको थियो ।

यसपछिका शल्यक्रियामा भारतकै फोर्टिस अस्पतालका विज्ञले सहयोग गरेका थिए । तर, दक्षिण कोरियाको सियोलस्थित सामसुङ मेडिकल सेन्टरका चिकित्सकको सहयोगमा नेपालमा पहिलोपटक ०७३ मंसिर २२ गते मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा प्रत्यारोपण गरिएको थियो । हाल भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्र र त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण भइरहेका छन् ।