समाचार

गृहको दोस्रो पत्रले मिटरब्याजीपीडित वार्तामा बस्न तयार

By खबरहब

February 25, 2024

काठमाडौं– गृह मन्त्रालयले दोस्रो पत्र पठाएपछि मिटरब्याज तथा लघुवित्तपीडितहरु छलफलका लागि राजी भएका छन् । उनीहरु आजै छलफलका लागि जाने तयारीमा छन् ।

गृहले पठाएको पहिलो पत्र अव्यवहारिक भएको र समस्या समाधान उन्मुख नभएको भन्दै उनीहरुले छलफलमा बस्न अस्वीकार गरेका थिए । दोस्रो पत्र आएपछि भने उनीहरु छलफलका लागि सकारात्मक भएका हुन् ।

पीडितका तर्फबाट मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाको नेतृत्वमा सात सदस्यीय वार्ता टोली गठनको तयारी भइरहेको प्रवक्ता निर्ग नवीनले खबरहबलाई जानकारी दिए ।

उनले भने, ‘वार्ताका लागि हामी तयार भएका छौं । वार्ता टोली गठनको तयारीमा छौं । आजै छलफलमा जाने भन्ने हाम्रो तयारी छ ।’

देशैभरका मिटरब्याजी र लघुवित्तपीडित २७ दिन हिँडेर काठमाडौं आएका छन् । हजारको संख्यामा आएका उनीहरु काठमाडौंको भृकुटीमण्डपमा शान्तिपूर्ण धर्नामा बसिरहेका छन् ।