देश/प्रदेश

१० बुँदे विजयपुर घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय लिम्बु विद्यार्थी सम्मेलन सम्पन्न

By खबरहब

March 25, 2024

सुनसरी – लिम्बु विद्यार्थी मञ्चको पाँचदिने दोश्रो अन्तर्राष्ट्रिय महासम्मेलन शनिबार धरानमा सम्पन्न भएको छ। सम्मेलनमा नेपाल र भारतको सिक्किम, दार्जिलिङ, आसाममा बसोबास गर्ने दुई सय जना याक्थुङ लिम्बु विद्यार्थी र बुद्धिजीविहरुको सहभागिता रहेको थियो। चैत ६ गतेदेखि सुरु भएको सम्मेलनमा पाँच दिनसम्म ३७ जनाले राजनीतिक, धार्मिक, सांस्कृतिक, शैक्षिक, इतिहास, कृषि, रोजगारीदेखि महिलाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

प्रा.डा. महेन्द्र लावतीले ‘संघीयताको पुर्नव्याख्या आदिवासी जनजातिका लागि भौगोलिक र गैर भौगोलिक स्वायत्तताको समीकरण’, सिक्किमबाट आएकी दिल्ली विश्वविद्यालयकी राजनीति र इतिहासको अध्येयता सन्ध्या सिङ्जाङ्गो सुब्बाले ‘याक्थुङ लिम्बुको इतिहास र सभ्यताको अवधिकरण, सिक्किमकै सनवीर सुब्वाले ‘सिक्किमा लिम्बु भाषाको विद्यावारिधी सम्मको विकास’, मुन्धुमविद् तुम्याहाङ लक्ष्मण मेन्याङ्बोले ‘याक्थु लिम्बु र युमा साम्योको ऐतिहासिक मुन्धुमी सम्बन्ध,’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।

यसैगरी पाँचथरका हरिश्चन्द्र लावतीले ‘लिम्बु भाषा पाठ्यक्रम र विकासक्रम,’ भाषाशास्त्री दिलेन्द्र कुरुम्बाङ्ले ‘याक्थुङ भाषा संरक्षणका चुनौतीहरु’, मानवशास्त्री दिलविक्रम आङदेम्बेले ‘नेपालीकरण गरिएका लिम्बु भाषी स्थाननामहरु’, इतिहासकार भगिराज इङ्नामले ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज’, प्रा.डा. युवराज तेयुङले ‘राजनिति र पहिचानको आन्दोलन’, शंकर लिम्बुले ‘अन्तर्राष्ट्रिय कानुन र आदिवासी अधिकार’, अमृता थेवेले ‘याक्थुङ लिम्बु प्रथाजनित कानुन’ दार्जिलिङका सेवानिवृत्त प्राध्यापक अमला सुब्वा क्षेत्रीले ‘याक्थुङ मुन्धुममा नारीहरुको शसक्त उपस्थिति’, फिपराज वेघाले ‘याक्थुङ पत्रकारिता’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।

अहिले याक्थुङ लिम्बु कोही, किरात भन्दै हिँडिरहेछन्, कोही युमा भन्दै कराइरहेका छन्। राजनीतिले विभाजित बनाइरहेको छ। तर उनीहरुको ऐतिहासिक र मुन्धुमी परम्परा, मुन्धुमी ज्ञान भने दिनदिनै लोप हुने अवस्थामा रहेकाले यस्ता बहस र छलफलले निचोडमा पुर्याउने भएकाले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको हो।

प्रा. डा. प्रेम फ्याकले औपनिवेशिक शिक्षाः परिवर्तनका लागि आदिवासी ज्ञान र चिन्तन’, धनेन्द्र जवेगुले ‘लिम्बुको आर्थिक अवस्था’, हितराम तिल्लिङले ‘याक्थुङ लिम्बुजातको नामको ऐतिहासिक पक्ष र पुनर्जागरण’, डा. धिरेन्द्र नाल्बोले ‘द्वन्द्व शान्ति र विकास’, आङ्बोहाङ अवोध अविरलले ‘किरात धर्म र जनगणना’, लक्ष्मण लावतीले लिम्बुको सुभाङ्गी अमाल र किपट,’ मुन्धुमका अध्येता अर्जुबाबु माबुहाङले ‘मुन्धुम र पर्यावरण’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

पाँचदिने दोश्रो अन्तर्राष्ट्रिय सम्मेलन सफल भएको उल्लेख गर्दै मञ्चका अध्यक्ष नितेश सिङ्गकले भने, ‘यो सम्मेलनले याक्थुङ लिम्बु जातिको विषयमा तीन दर्जन बढी प्राज्ञिक कार्यपत्र प्रस्तुत गर्न सक्नु नै सफलताको कडी हो। अहिले याक्थुङ लिम्बु कोही, किरात भन्दै हिँडिरहेछन्, कोही युमा भन्दै कराइरहेका छन्। राजनीतिले विभाजित बनाइरहेको छ। तर उनीहरुको ऐतिहासिक र मुन्धुमी परम्परा, मुन्धुमी ज्ञान भने दिनदिनै लोप हुने अवस्थामा रहेकाले यस्ता बहस र छलफलले निचोडमा पुर्याउने भएकाले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको हो।’

महासचिव प्रदीप नेयोङ्ले याक्थुङ लिम्बु विविधकारणले विभाजित जस्तो देखिए पनि जुनसुकै मुलुकका नागरिक भएर बसेपनि भाषा, लिपि, संस्कार र संस्कृतिले नै मात्र बाध्न सकिन्छ भन्ने कुरा यो सम्मेलनले देखाएको बताए।

सिक्किमकी युवा इतिहासकार सन्ध्या सिङ्जाङ्गोले सम्मेलन फलदायी भएको प्रतिक्रिया दिँदै भनिन्, ‘सम्भवत पहिलो पटक याक्थुङ इतिहास र सभ्यताको विषयलाई विश्वको इतिहास र सभ्यतासँग तुलना गर्दै र मुन्धुमा वर्णन गरिएको आधारमा र नेपाल र सिक्किमा फेला परेका याक्थुङ इतिहासका आधारमा ‘क्रोनोलोजी’ कालक्रम र ‘पिरियोडाइजेसन’ अवधिकरण गरेर बहसमा ल्याउने प्रयास गरेको छु।’  उनले याक्थुङबा लिम्बुको मुन्धुमलाई अरुले प्रमाणिकरण गरेर नहुने बताइन्। याक्थुङ लिम्बुले आफ्नो सभ्यता प्रारम्भ गरेर समाज, परिवार, विवाहदेखि अनेक रितीथिति निर्माण गर्दै आएको दस्तावेज वा जीवन दर्शन नै याक्थुङ मुन्धुम भएको भन्दै त्यसैको आधारमा सभ्यता र इतिहासको कालक्रम विभाजन गरिएकाले बहसमा ल्याउने प्रयास गरेको बताइन्।

महासम्मेलनको समापन समारोहमा लिम्बु विद्यार्थी मञ्चले १० बुँदे विजयपुर घोषणापत्र जारी गर्दै कोशी नाम खारेज गरेर ऐतिहासिक पहिचानका आधारमा आत्मनिर्णयको अधिकार र स्वशासनसहितको स्वायत्त लिम्बुवान नामाकरण गर्न माग गरेको छ।

१० बुँदे विजयपुर घोषणपत्र जारी महासम्मेलनको समापन समारोहमा लिम्बु विद्यार्थी मञ्चले १० बुँदे विजयपुर घोषणापत्र जारी गर्दै कोशी नाम खारेज गरेर ऐतिहासिक पहिचानका आधारमा आत्मनिर्णयको अधिकार र स्वशासनसहितको स्वायत्त लिम्बुवान नामाकरण गर्न माग गरेको छ।

सम्मेलनले लिम्बुवान आन्दोलनप्रति संसारभरका याक्थुङ विद्यार्थी र समुदायको तर्फबाट ऐक्यबद्धता प्रकट गर्दै घोषणा पत्रमा भनिएको छ, ‘याक्थुङ लिम्बु भाषालाई प्रदेश १ मा कामकाजी भाषाको रुपमा लागु गर्न तत्काल भाषा विधेयक संसदमा प्रस्तुत गरेर राजपत्रमा प्रकाशित गरेर कार्यान्वयनमा लैजान जोडदार माग गर्दछौं।’

सम्मेलनले याक्थुङ लिम्बु समुदायको सांस्कृतिक, पुरातात्विक एवम् मुन्धुमीस्थललाई विश्व सम्पदा र राष्ट्रिय सूचीमा सूचीकृत गर्न पहल गर्ने घोषणा गर्दै लिम्बू बसोबास भएका मुलुकमा याक्थुङ/लिम्बु भाषामा मुन्धुमी परम्परागत ज्ञान, सीप समेटिएको व्यावहारिक, वैज्ञानिक औपचारिक शिक्षाका निम्ति उच्च तहसम्म पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको छ। यसैगरी याक्थुङ-लिम्बू आदिवासी अर्थतन्त्र सुदृढीकरण, संरक्षण, सम्बद्र्धन गदै याक्थुङ समुदायसँग सम्बन्धित बौद्धिक तथा साँस्कृतिक सम्पत्तिको प्रतिलिपि अधिकार सुरक्षा गर्न संयुक्त राष्ट्रसंघको साँस्कृतिक निकाय युनेस्को लगायत राष्ट्रिय रुपमा दर्ताका लागि पहल गर्ने, लिम्बुवानलगायतका याक्थुङ/लिम्बुको ऐतिहासिक थातथलोका अप्रभंशित स्थाननामहरु याक्थुङ भाषामै नामकरण गराउन पहल गर्ने पनि मंचले प्रतिबद्धता व्यक्त गरेको छ।

याक्थुङ लिम्बु समुदायले मुन्धुमी स्थल मुक्कुमलुङ (सेमुक्क्तीगोक, मुक्तिफोमाङ)लाई पवित्र स्थलको रुपमा घोषण गरिसकेकाले सो स्थानमा केवलकार निर्माण कार्य तत्काल रोक्न नेपाल सरकार र सम्बन्धित पक्षसँग पनि माग गरेको लिम्बु विद्यार्थी मंचका महासचिव प्रदीप नेयोङ्ले बताए।

घोषणापत्रमा नेपालका तर्फबाट मञ्चका अध्यक्ष नितेश सिंगक, सिक्किम याक्थुङ निछाम साप्सक चुम्भोका इङ्सा योङहाङ, आसामबाट माया सुब्वा लिवाङ र बेलायतबाट अमित थेवे र अमेरिकाबाट टंक सेलिङले संयुक्त हस्ताक्षर गरेका छन्।