समाचार

‘महाजात्रा’ हेरेपछि रवि लामिछानेले भने- ऊर्जा थपियो

By खबरहब

March 25, 2024

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले परिवारसहित ‘महाजात्रा’ हेरेका छन् । जात्रा श्रृंखलाको नियमित दर्शक भएकाले हलमा आएर फिल्म हेरेको उनको भनाइ छ । 

महाजात्राको चौतर्फी चर्चाले नियमित दर्शक भएकाले फिल्म हेर्न मन लागेको बताउँदै लामिछानेले भने, ‘मलाई अघिल्ला दुई शृङ्खला मन परेको थियो । म निर्देशक प्रदीप भट्टराई, अभिनेता विपिन र दुई रविन्द्रको अभिनयको फ्यान नै हो । सोही कारण पनि मैले फुर्सदको समय सदुपयोग गर्दै फिल्म हेरेको हुँ । नेपाली फिल्मलाई हामीले हलमै आएर हेर्नुपर्छ ।’ 

फिल्म हेरेपछि कथा प्रहरी र अनुसन्धानसँग जोडिएको भएकाले आफूलाई झन् आकर्षित गरेको प्रतिक्रिया दिए । 

उनले अगाडि भने, ‘राजनीतिज्ञका रुपमा फिल्म हेरेपछि झनै ऊर्जा थपिएको छ । मनोरञ्जनसँगै राजनीतिका विषय र देशको इस्युलाई समेटिएको छ । मैले त्यो हेरिरहँदा झनै ऊर्जा महसुस गरे ।’

आफूजस्ता नयाँ पुस्तालाई राजनीतिमा आउन फिल्ममै देखिएका कथालाई उत्प्रेरित गरेको जनाए । 

फिल्ममा आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिएको छ । जसमा राजनीति पनि मिश्रण गरिएको छ । 

लामिछानेले आइतबार श्रीमती निकिता पौडेलका साथमा लबिम मल पुगेर फिल्म हेरेका हुन् । 

‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।

 फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।