फाइल तस्बिर रोयटर्स

अन्तर्राष्ट्रिय

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

By खबरहब

April 25, 2024

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न थालेको अमेरिकाले दाबी गरेको छ। आफूले उपलब्ध गराएको लामो दुरीको ब्यालेस्टिक मिसाइल युक्रेनले गोप्य रुपमा प्रयोगमा ल्याएको अमेरिकाले दाबी गरेको हो।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत मार्च महिनामा उपलब्ध गराएको हतियारमा ब्यालेस्टिक मिसाइल पनि रहेको अमेरिकी अधिकारीको दाबी गरेको बिबिसीले समाचारमा उल्लेख गरेको छ।

अमेरिकाले उपलब्ध गराएका हतियार कम्तिमा एक पटक प्रयोग भइसकेको अमेरिकी अधिकारीले दाबी गरेका छन्।

अमेरिकाले फेरि नयाँ हतियार युक्रेनलाई सहयोग गर्ने घोषणा गरिसकेको छ। राष्ट्रपति बाइडेनले एक साताभित्र युक्रेनलाई अमेरिकी हतियार र उपकरण उपलब्ध गराउने घोषणा गरेका हुन्।

अघिल्लो हप्ता मात्रै अमेरिकी सिनेटले युक्रेनलाई ६१ अर्ब डलरको सहायता उपलब्ध गराउने कानुनलाई अनुमोदन गरेको थियो।

अमेरिकी कांग्रेसमा ६ महिनादेखि विधेयक अड्किएको थियो। तर, मतदानमा सिनेटले युक्रेनका लागि राहत प्याकेजलाई अनुमोदन गरेको छ।

राष्ट्रपति बाइडेनले जुनसुकै बेला यो विधेयकमा हस्ताक्षर गर्नसक्ने विश्वास गरिएको समाचारमा उल्लेख छ। यो विधेयकमा इजरायल र ताइवानका लागि अर्बौँ डलरको सहायताको प्रावधान छ।