समाचार

प्रेम सम्बन्धको विवादले धनुषाको औराहीमा तनाव, प्रहरीले हान्यो ९ सेल अश्रुग्यास

By खबरहब

April 25, 2024

 काठमाडौं– धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच बिहीबार दिउँसो झडप भएको छ ।

दुई गाउँका युवा-युवतीबीच प्रेम सम्बन्धबारेमा भएको विवादले उग्र रुप लिँदा झडपको अवस्था आएको हो ।

प्रहरीका अनुसार एउटा समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेको थियो ।

त्यसपछि प्रहरीले उक्त समूहले अवरुद्ध गरेको सडक खोल्न बल प्रयोग गरेको थियो ।

प्रहरीले बल प्रयोग गरेर सडक खुलाउने क्रममा झडप भएको हो ।

उक्त प्रदर्शनका क्रममा स्थानीयले ढुंगामुढा गर्दा नेपाल प्रहरीका २ र सशस्त्र प्रहरीका १ जना जवान घाइते भएका छन् ।

प्रदर्शनलाई हिंस्रक बनाउन खोजेपछि प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको पनि अवाले बताए ।

प्रहरीले त्यहाँको अवस्था नियन्त्रणमा लिन ९ सेल अश्रुग्याससमेत प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता एवम् डीएसपी रञ्जन अवाले बताएका छन् ।

डीएसपी अवालेका अनुसार उक्त गाउँबाट प्रेम सम्बन्धमा रहेका भनिएका दुईजना युवती र दुईजना युवक एकसाथ भागेका थिए ।

उनीहरूको अवस्था अहिलेसम्म खुलेको छैन । उमेर नै नपुगेका आफ्ना छोरीहरूलाई भगाइएको भन्दै केटी पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका थिए ।

त्यसको अनुसन्धानका लागि प्रहरीले ५ जनालाई नियन्त्रणमा पनि लिएको अवाले बताए । उनका अनुसार केटी पक्षले भागेकाहरूको खोजी नभएको भन्दै बिहीबार सडक अवरुद्ध गरेर प्रदर्शन गरेका थिए ।