फाइल तस्बिर आजतक

अन्तर्राष्ट्रिय

आज दिल्लीसहित भारतका ६ राज्यमा मतदान

By खबरहब

May 25, 2024

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको छैठौं चरणको मतदान शनिबार सुरु भएको छ । पाँच चरणको चुनाव सम्पन्न भएको भारतमा शनिबार दिल्लीसहित ६ राज्यमा मतदान सुरु भएको हो ।

शनिबार छैठौं चरणमा ७ राज्यका ५७ सिटका लागि नयाँ दिल्ली, बिहार, हरियाणा, झारखण्ड, ओडिशा, उत्तर प्रदेश र पश्चिम बंगालका ५७ सिटमा मतदान सुरु भएको हो ।

यसअघि भारतमा पहिलो चरणमा २१ राज्यका १०२ संसदीय सिट, दोस्रो चरणमा १३ राज्यका ८९, तेस्रो चरणमा १२ राज्यको ९४, चौथो चरणमा १० राज्यका ९६ सिट र पाँचौ चरणमा आठ राज्यका ४९ सिटका लागि मतदान भएको थियो।

अप्रिल १९, २६, मे ७, १३ र २० तारिखमा गरेर भारतमा यसअघि पाँच चरणको चुनाव सकिएको हो। शनिबार जारी छैठौं चरणमा दिल्लीका ७, उत्तर प्रदेशका १४, बिहारका ८, पश्चिम बंगालका ८, हरियाणाका १०, ओडिशाका ६, झारखण्डका ४ र जम्मु–कश्मिरको एक सिटमा मतदान सुरु भएको हो ।

अन्तिम तथा सातौं चरणको मतदान जुन १ मा हुनेछ। बिहार, हिमाचल, झारखण्ड, ओडिशा, पञ्जाब, उत्तर प्रदेश, पश्चिम बंगाल, चंडीगढ़ गरेर ८ राज्यका ५७ सिटका लागि अन्तिम चरणमा मतदान हुनेछ।

पहिलो चरणदेखि सातौं चरणसम्मका मतदान सम्पन्न भएपछि एकसाथ जुन ४ तारिखदेखि मतगणना सुरु हुनेछ।