खेलकुद

इटाली युरोकपको अन्तिम १६ मा प्रवेश

By खबरहब

June 25, 2024

काठमाडौं– जर्मनीमा जारी युरोकप फुटबलमा इटाली अन्तिम १६ (नकआउट चरण) मा प्रवेश गरेको छ । आज बिहान सकिएको समूह ‘बी’ को खेलमा क्रोएसियासँग १–१ गोलको बराबरी खेल्दै साविक विजेता इटाली युरोकपको अन्तिम १६ मा पुगेको हो ।

खेलमा इटालीका लागि माटिया जाकाग्नी र क्रोएसियाका लुका मोड्रिचले एक–एक गोल गरेका थिए ।

खेलको ५५औँ मिनेटमा मोड्रिचले गोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए । तर दोस्रो हाफको इन्जुरी समयको आठौँ मिनेटमा इटालीका जाकाग्नीले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

यो बराबरीसँगै इटाली ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा रहँदै प्रि-क्वार्टरफाइनलमा पुगेको छ । शतप्रतिशत नतिजा निकाल्दै स्पेन ९ अंकसहित शीर्षस्थानमा छ । स्पेन यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ । क्रोएसियाको २ र अल्बानियाको १ अंक छ ।