बंगलादेशविरुद्धको ब्याटिङका क्रममा हावामा उडेको इब्राहिम जाद्रानको ब्याट । तस्बिरः क्रिकइन्फो

क्रिकेट

अफगानिस्तानले बंगलादेशलाई दियो ११६ रनको चुनौती

By खबरहब

June 25, 2024

काठमाडौँ – आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर-८ मा अहिले अफगानिस्तानले बंगलादेशलाई ११६ रनको चुनौती दिएको छ।

सुपर-८ को अन्तिम खेलमा टस जितेर सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले पूरै २० ओभर खेल्दै ५ विकेट गुमाएर ११५ रन बनाएको हो।

अफगानिस्तानका लागि रहमानउल्लाह गुरबाजले सर्वाधिक ४३ रन बनाए। कप्तान राशिद खानले नटआउट १९ रन जोडे। इब्राहिम जाद्रानले १८ रन जोड्दा अजमातुल्लाह उमरजाई १० रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बंगलादेशका लागि रिशाद हुसेनले तीन विकेट लिँदा मुस्ताफिजुर रहमान र तस्किन अहमदले एकएक विकेट हात पारे।

सुपर-८ को समूह-१ बाट भारत अपराजित रहँदै सेमिफाइनल प्रवेश गरिसेको छ। अन्तिम खेलमा गएराति अस्ट्रेलियालाई २४ रनले पराजित गर्दै भारत सेमिफाइनल पुगेको हो। यो समूहबाट सेमिफाइनल पुग्ने अर्को टिमको टुंगो बंगलादेश र अफगानिस्तानको खेलमा भर पर्नेछ।

अस्ट्रेलियाले तीन खेल खेल्दा दुई अंक मात्र बनाएको छ भने दुई खेल खेलेको अफगानिस्तानको समान दुई अंक छ।

अंकबिहीन बंगलादेशसमेत सेमिफाइनल दौडबाट बाहिरिसकेको छैन। बंगलादेशले अफगानिस्तानविरुद्ध जित निकाले अस्ट्रेलिया, बंगलादेश र अफगानिस्तानको समान दुईदुई अंक हुनेछ। तीन टिममध्ये रनरेटको आधारमा एउटा टिम सेमिफाइनल प्रवेश गर्नेछ। अफगानिस्तान विजयी भए स्वः सेमिफाइनल पुग्नेछ।

सुपर-८ को समूह-२ बाट भने दक्षिणा अफ्रिका र इंग्ल्यान्ड विश्वकपको सेमिफाइनल प्रवेश गरिसेका छन्।