क्रिकेट

इतिहास रचेपछि छचल्कियो अफगानी क्रिकेटरको खुसी (तस्बिरहरू)

By खबरहब

June 25, 2024

काठमाडौं- अफगानिस्तानले विश्व क्रिकेटमा एउटा इतिहास भएको छ । आईसीसी टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेसँगै अफगानिस्तानले इतिहास कोरेको हो।

नेपालले भन्दा पछाडि क्रिकेटमा बामे सरेको अफगानिस्तानले टेस्ट राष्ट्रको मान्यता पाइसकेको छ ।  १० वर्षअघि विश्वकपमा नेपालसँग हारेको अफगानिस्तान अहिले विश्वका जुनसुकै देशलाई पछार्ने अवस्थामा पुगेको छ ।

मंगलबार बिहान भएको खेलमा बंगलादेशलाई डीएलएस पद्धतिमा अफगानिस्तानले ८ रनले हराएको हो । यससँगै अफगानिस्तान सुपर ‘८’ को समूह १ बाट उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ ।

समूह चरणको पहिलो खेलमा भारतसँग ४७ रनले पराजित अफगानिस्तानले त्यस लगातार जित निकाल्दै विश्व विजेता अस्ट्रेलियालाई पनि स्तब्ध बनाइदियो ।

उसले दोस्रो खेलमा अस्ट्रेलियालाई २१ रनले हरायो । अस्ट्रेलिया यस पटक सुपर ‘८’बाटै घर फर्कियो । मंगलबार भएको अर्को खेलमा अफगानिस्तानले बंगलादेशलाई हराउँदै सेमिफाइनलमा दक्षिण अफ्रिकासँग भिडन्त पक्का गर्‍यो ।

सेमिफाइनल यात्रा गरेपछि अफगानी खेलाडीहरूले मैदानमै खुसियाली मनाए । बंगलादेशलाई हराउन निर्णायक बनेका रासिद खानलाई उनका साथीहरूले मैदानमै बोकेर खुसी साटे ।