क्रिकेट

राशिद खान : कुनै बेला युद्धबाट ज्यान जोगाउन शरणार्थी बनेका थिए

By खबरहब

June 25, 2024

एजेन्सी- आईसीसी टी-२० विश्वकप क्रिकेटमा अफगानिस्तानका कप्तान राशिद खानले क्रिकेटका तीन फर्म्याटमा आफ्नो जादु देखाइरहेका छन् ।

उनले आफ्नो खेल करिअरमा कयौँ उल्लेखनीय उपलब्धि पनि हाँसिल गरेका छन् । मंगलबार बंगलादेशलाई ८ रनले हराउँदै अफगानिस्तानलाई टी-२० विश्वकपको सेमिफाइनलमा पुर्‍याउँदा उनी एक्लैले चार विकेट झारे ।

उनीसँगै अफगानिस्तानका नवीन उल हकले पनि समान चार विकेट लिए । ब्याटिङतर्फ पनि राशिदले १९ रन बनाउन सफल भए । यो विश्वकपमा पनि आफ्नो जादु चलाइरहेका राशिदले अफगानिस्तानका लागि इतिहास रच्दै गर्दा उनका साथीहरूले बोकेर मैदानमा घुमाए ।

आज विश्वकै एक जादुयी बलरका रुपमा चिनिएका राशिद कुनै बेला शरणार्थी क्याम्पमा बस्थे । उनले आफ्नो ज्यान बचाउन अफगानिस्तान छोडेर भाग्नु परेको थियो ।

राशिद खानको का जन्म सन् १९९८ मा पूर्वी अफगानिस्तानको नानगरमा भएको थियो । उनी जलालाबादबासी थिए । राशिदका १० जना दिदीभाइ छन् ।

राशिद खानको जीवनमा एक ठूलो आँधीहुरी सन् २००१ मा आयो जब अफगानिस्तानमा तालिबान र अमेरिकाबीच भीषण युद्ध सुरु भयो ।

त्यसक्रममा अफगान नागरिहरूलाई आफ्नो ज्यान आफैं जोगाउनुपर्ने बाध्यता थियो । मानिसहरूमा भयको माहोल थियो । अमेरिकाले आक्रमण थालेपछि मानिसहरू ज्यान बचाउन देशबाट पलायन हुन थालेका थिए ।

उनले शरणार्थीका रुपमा पाकिस्तानमा आमाबुवा र परिवारसहित शरण लिन विवश हुनुपरेको थियो । युद्धले अफगानिस्तान छोडेर जानेमध्ये एकजना उनै राशिद खान अहिले विश्वका दिग्गज ब्याटरका लागि टाउको दुखाइ बनेका छन् ।

पाकिस्तानमा आमाबुवासहित शरण लिँदा राशिदको उमेर केबल ३ वर्ष मात्रै थियो । शरणार्थी क्याम्पमा उनको जीवन जसोतसो अघि बढेको थियो। उनका आमाबुवा छोरालाई डाक्टर बनाउन चाहन्थे । माता-पितासँगै राशिद खान शरणार्थी क्याम्पमा भए पनि उनका सपना ठूला थिए ।

पाकिस्तानमै हुँदा राशिदले क्रिकेट खेल्न थाले । विस्तारै उनी पाकिस्तानस्थित पेशावरको गल्लीमा बल समात्दै आफूलाई तिखार्न थाले ।

पाकिस्तानमा शरणार्थी जीवन बिताइसकेपछि युद्ध केही शिथिल हुँदा उनको परिवार अफगानिस्तान फर्कियो । देशमै नयाँ जीवन सुरु गर्न उनको परिवार अफगानिस्तान फर्कियो । राशिदले आफ्नो स्कुल शिक्षा जारी राखे । राशिद आफ्ना भाइहरूसँग क्रिकेट खेल्दै हुर्किए । उनको बलिङ शैलीलाई पाकिस्तानी अलराउन्डर शाहिद अफरिदीसँग तुलना गरिन्छ।

राशिदका माता-पिता छोरलाई पढाएर डाक्टर बनाउन चाहन्थे । तर राशिदको भाग्यमा अर्कै कुरा लेखिएको थियो ।

विस्तारै क्रिकेटमा लगाव बढाउँदै उनले पढाईलाई पनि निरन्तरता दिए । तर उनको लगाव पढाईमा भन्दा धेरै क्रिकेटप्रति बढ्न थाल्यो ।

अलग-अलग खेलमा केही शानदार पारी खेलेसँगै यस्तो समय आयो उनले घरेलु क्रिकेटमा इन्ट्री मारे । यस्तोमा अब परिवारलाई पनि उनको क्रिकेटमा करिअर बनाउने कोसिसमा कुनै गुनासो बाँकी रहेन ।

सन् २०१५ मा राशिदको जीवनमा एउटा टर्निङ प्वाइन्ट आयो । जसलाई राशिदको जीवनमा सबैभन्दा ठूलो पल पनि भनिन्छ । सन् २०१५ मा अफगानिस्तानले उनलाई राष्ट्रिय टोलीमा सहभागी गरायो । उनले सन् १०२६ अक्टोबर १८ मा देशका लागि पहिलो एक दिवसी म्याच खेले ।

यस खेलमा उनले ८ रन जोडे भने १ विकेट पनि लिए । यो खेलपछि उनले कहिल्यै खेल करिअरबाट पछि फर्किनु परेन। वर्तमानमा उनी अफगान टोलीका कप्तान छन् ।

आईपीएलमा पनि दबदबा

राशिद खानको जादु इन्डियन प्रिमियर लिगमा पनि देख्न पाइन्छ । राशिद खान इन्डियन प्रिमियर लीगमा अहमदाबाद फ्रेन्चाइजीको प्रतिनिधित्व गर्छन् ।

लेग स्पिन बलिङमा माहिर उनले सन् २०१७ मा आईपीएलमा डेब्यू गरेका थिए । उनले ११ खेलमा भाग लिँदै २०.९७ को औसतले १४१ विकेट लिइसकेका छन् । उनले त्यसक्रममा प्रतिओभर लगभग ६.७१ रन दिएका छन् ।

अक्टोबर सन् २०१५ मा जिम्बाब्वेविरुद्ध केबल १७ वर्षको उमेरमा एक दिवसीयमा डेब्यू गरेका राशिदले तीव्र गतिमा कयौँ रेकर्ड आफ्नो नाममा लेखाए ।

यस क्रममा उनले जिम्बाब्वेविरुद्ध आफ्नो टी२० डेब्यू पनि गरे । अफगानिस्तान क्रिकेट टोलीले एसोसिएट मान्यता पाएसँगै उनले भारतमा कयौँ खेल खेले ।

राशिदको आम्दानी

सन् २०२४ मा राशिद खानको कुल सम्पत्ति ४ मिलियन अमेरिकी डलर रहेको बताइन्छ । जुन करिब ५४ करोड नेपाली रुपैयाँ बराबर हुन आउँछ । उनको आम्दानी मुख्य रुपमा क्रिकेट करिअर र एन्डोर्समेन्ट सम्झौताबाट आउँछ ।

टी-२० विश्वकप २०२४ मा अफगानको शानदार प्रदर्शन जारी छ । टी-२० विश्वकपमा अफगानिस्तानले राशिद खानको नेतृत्वमा शानदार प्रदर्शनसहित सेमिफाइनल यात्रा गरेको छ।

उसले सेमिफाइनल यात्राका क्रममा सुपर ८ मा अस्ट्रेलिया र बंगलादेशलाई हराएको छ । अब उसले सेमिफाइनलमा दक्षिण अफ्रिकासँग खेल्नेछ ।