सांकेतिक तस्वीर

समाचार

सिरहाको एक होटलमा युवक मृत फेला, साथमा आएकी महिला फरार 

By खबरहब

June 25, 2024

सिरहा– सिरहाको धनगढीमाई नगरपालिका १० स्थित धनगढीमाई होटल एण्ड लजमा आज अपरान्ह एक युवकको शंकास्पद मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढीमाई नगरपालिका ३ का करिव ३२ वर्षीय प्रमोद कुमार कामती रहेको प्रहरीले जनाएको छ। 

होटल सञ्चालक धर्मा महतोका अनुसार बिहान ९: ३० बजे एक जना महिलासँगै आएका कामती होटलमा प्रवेश गरेको जानकारी दिए। धेरै समय भइसक्दा समेत होटल चेक आउट नभएपछि ढोका खोल्दा कामती मृत अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरेको होटल सञ्चालक महतोले जानकारी दिए। 

मृतक कामती वैदेशिक रोजगारीबाट आज बिहानमात्र घर आइपुगेको परिवारजनले जानकारी दिए। मृतका बुवा रामनारायण कामतीले विदेशबाट आउने बितीकै कसैलाई केही नभनी छोरा घरबाट निस्किएको बताए। मृतक कामतीको श्रीमतीसहित तीन छोरा र दुई छोरी छन्। 

कामतीको मृत्यु शंकास्पद रहेको जनाउँदै मृतक कामतीसँग प्रवेश गरेकी अपरिचित महिला फरार रहेको बताउँदै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

प्रहरीले घटनास्थलको प्रकृति हेरी मुचुल्का उठाउने काम भइरहेकोले तत्काल केही बताउन नसकिने जनाएकोछ।