समाचार

सीआईबीबाट आएको भनेर जसले लुटे दुई करोड रुपैयाँ, योजनाकार फरार

By खबरहब

June 25, 2024

काठमाडौं- आफूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरी भएको बताउँदै भक्तपुरको दधिकोटमा २ करोड रुपैयाँ लुटपाटमा संलग्न भएको आरोपमा चारजना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै भक्तपुरको दधिकोटका डिल्लीराज राउतको घरमा लुटपाटमा संलग्न चारजनालाई सार्वजनिक गरेको हो।

उक्त लुटपाटमा संलग्न भएको अभियोगमा सिन्धुपाल्चोक घर भएका सुजन रसाइली, भीमबहादुर तामाङ, ओखलढुङ्गा भर भएका मुनाराज राई र सिन्धुपाल्चोक घर भएका कृष्णबहादुर बोहरालाई सार्वजनिक गरिएको हो ।

लुटपाटमा संलग्न कुलबहादुर खत्री अझै फरार छन् । कुलबहादुरका भाञ्जा डिल्लीराज राउतको घरमा नगद रहेको जानकारी पाएपछि उनैले नै लुटपाटको योजना बनाएको प्रहरीले जनाएको छ ।

लुटपाटका लागि कुलबहादुरले वैदेशिक रोजगारमा जान काठमाडौं आएका युवाहरूलाई प्रयोग गरेको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

लुटपाटको रकम उनीहरूले बाँडफाँटसमेत गरिसकेको खुलेको छ। त्यसमध्ये केही खर्च गरेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूबाट ३६ लाख रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ ।