सांकेतिक तस्बिर

समाचार

व्यापारिक सटर हस्तान्तरण गर्ने भन्दै १३ करोड ठगी, छ जना पक्राउ

By खबरहब

June 25, 2024

काठमाडौं– नेपाल प्रहरीले कलंकी ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी विभिन्न व्यक्तिबाट १३ करोडभन्दा बढी ठगी गरेको आराेपमा सो सेन्टरका छ जना सञ्चालकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कलंकीस्थित ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी १३ करोड ७३ लाख ५२ हजार २५६ ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा स्याङ्जाका ६१ वर्षीय शान्तिरमण पङ्गेनी, काठमाडौँका ६८ वर्षीय नरेन्द्र बज्राचार्य, ५१ वर्षीय राजु महर्जन, ललितपुरका ६२ वर्षीय राजेशकृष्ण श्रेष्ठ, पाल्पाका ५३ वर्षीय निरञ्जनकुमार श्रेष्ठ र कास्कीका ५९ वर्षीय चिरञ्जीवी पौडेल रहेको प्रहरीको भनाइ छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले कलंकी डेभलपर्स र मिला ल्याण्ड डेभलपमेन्ट प्रालिमार्फत कलंकी ट्रेड सेन्टर निर्माण गरी व्यापारिक सटर हस्तान्तरण गर्ने भनी ठगी गरेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका ६ जनालाई जिल्ला अदालत काठमाडौँबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए।