बागमती– मकवानपुरका अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि बजेट घटाएर ल्याएका छन् ।
मकवानपुरका १० मध्ये नौ पालिकाले निर्धारित समयभित्रै बजेट ल्याएका छन् । जनप्रतिनिधिबीचको विवादका कारण यहाँको बागमती गाउँपालिकाले बजेट ल्याएको छैन ।
सोमबारमात्रै मकवानपुरको मनहरी, मकवानपुरगढी, राक्सिराङ, कैलाश र भीमफेदी गाउँपालिकाले आगामी आवको ल्याएका छन् । हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाले भने अघिल्लो साता बजेट ल्याएका थिए ।
आर्थिक तरलता, राजस्व संकलनमा गिरावट, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा कटौतीलगायत कारणले यहाँका स्थानीय तहहरूले चालु आवको भन्दा आकार घटाएर ल्याएका छन् । मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आवका लागि ९० करोड १३ हजारको बजेट ल्याएको छ ।
यो चालु आवको तुलनामा तीन करोड कम हो । यस्तै, राक्सिराङ गाउँपालिकाले आगामी आवका लागि ५४ करोड ६१ लाख ७३ हजारको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङले चालुतर्फ ३३ करोड ४१ लाख ६७ हजार र पूँजीगततर्फ २१ करोड २० लाख पाँच हजार छ सय २३ खर्च हुने अनुमान रहेको प्रस्तुत गरे ।
मकवानपुरको कैलाश गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले आगामी आवका लागि ४८ करोड ७८ लाख ६७ हजारको बजेट प्रस्तुत गरे। मकवानपुरगढी गाउँपालिकाले पनि चालु आवको तुलनामा रु चार करोड छ लाख ७६ हजार बजेट घटाएर ६२ करोड दुई लाख ५६ हजारको बजेट प्रस्तुत गरेको छ ।
यस्तै मकवानपुरको भीमफेदी गाउँपालिकाले पनि आगामी आवका लागि ७४ करोड ३६ लाख ७३ को बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष सञ्जीव श्रेष्ठले चालु आवको भन्दा रु एक करोड घटाएर बजेट प्रस्तुत गरेका थिए ।