आर्थिक

कुलेखानीले नधान्दा आयातकै बिजुलीको भर !

By खबरहब

June 25, 2024

काठमाडौं– कुलेखानी जलाशययुक्त आयोजनामा पानीको बहाव घट्न थालेको छ । विगतका वर्षमा हिउँद याममा बिजुलीको माग धान्न कुलेखानी चलाउने गरिएको थियो । तर, यसपालि भने गर्मी अत्यधिक बढेको र वर्षा नहुँदा आयोजनामा पानीको बहाव घट्न गई कुलेखानी चलाउन नसकिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

हिउँदका बेला अपुग हुने बिजुलीको ‘ब्याकअप’ रहेको कुलेखानीको पहिलो युनिटबाट ६० मेगावाट र दोस्रो युनिटबाट ३२ मेगावाट बिजुली आपूर्ति हुने गर्थ्यो । तर, जलाशयमा पानीको बहाव घट्दा आयोजना पूर्ण क्षमतामा चलाउन नसकिएको प्राधिकरणले जनाएको छ ।

कुलेखानीमात्र होइन, विगतमा बाढी र पहिरोका कारण अवरुद्ध बनेका जलविद्युत् आयोजनाअहिलेसम्म सञ्चालनमा आउन सकेका छैनन् । ती आयोजनाबाट डेढ सय मेगावाट बिजुली बन्द हुँदा भई प्राधिकरणको लोड व्यवस्थापनमा उत्तिकै समस्या छ ।

प्राधिकरणका अनुसार अत्यधिक गर्मीका कारण देशभर बिहान र बेलुकी विद्युत माग बढी हुने समय (पिक आवर) मा खपत ह्वात्तै बढेको छ । पंखा, फ्रिज, एयर कन्डिसनर(एसी) लगायतका विद्युत्तीय उपकरण बढी प्रयोग हुँदा लोड बढ्दै गएको हो ।

तर, विद्युत् उत्पादन घटेको अवस्था छ । प्राधिकरणका अनुसार अहिले पिक आवरमा विद्युत्‌ माग २३ सय मेगावाटसम्म पुग्ने गरेको छ । तर, विद्युत् उत्पादन क्षमता भने कम छ ।

नेपालका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित (रन अफ दि रिभर) प्रकृतिका छन् । जसका कारण हिउँदमा खोलानालामा पानीको बहाव घट्दा बिजुली उत्पादन कम हुने गरेको छ ।

हिउँद याममा कुल जडित क्षमतामध्ये एक चौथाइमात्र बिजुली उत्पादन हुने गरेको छ । प्राधिकरणका अनुसार अहिले नै राष्ट्रिय प्रणालीमा ३ हजार २०० मेगावाट कुल जडित क्षमता छ । तर, विद्युत् उत्पादन भने १७०० मेगावाट हाराहारीमात्र छ ।

हाल अपर त्रिशुली–३ ‘ए’ को एक युनिट बन्द अवस्थामा छ । त्यस्तै, मिस्त्री खोला जलविद्युत् आयोजनाको प्लान्ट नै बन्द भइसकेको छ । अपर चमेलिया पनि बन्द अवस्थामा छ । ती आयोजनाबाट उत्पादन हुने करिब डेढ सय मेगावाटभन्दा बढी बिजुली प्रणालीभन्दा बाहिर छ । बाढी र विभिन्न कारण अवरुद्ध ती आयोजना सरकारले पुनः सञ्चालनमा ल्याउन सकेको छैन ।

हिउँदमा आवश्यक पर्ने बिजुलीको माग धान्न प्राधिकरणसँग अन्य विकल्प नरहेको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए  ।कुलेखानी चलाउन नपाउँदा र अन्य ‘ब्याकअप’ नहुँदा विद्युत् आपूर्ति व्यवस्थापनमा ठूलो समस्या सिर्जना भएका घोषले खबरहबलाई बताए ।

‘कुलेखानीमा पानी छैन, चलाउन सकिएको छैन । अपर त्रिशुली–३ ‘ए’ को एउटा युनिट बन्द छ । मिस्त्रीखोला र अपर चमेलिया बन्द अवस्थामै छन्,’ उनले भने, ‘एकैचोटी सबै पावरहाउस बन्द होलान्‌ भनेर कल्पना गरिन्न । हामीसँग ‘ब्याकअप’ लोड छैन । यसले विद्युत्‌ लोड व्यवस्थापनमा चाप परेको छ ।’

४०० मेगावाट अझै अपुग हाल नेपालमा विद्युत् खपतलोड २ हजार ३०० मेगावाट पुगेको छ । अझै पनि ४०० मेगावाट बिजुली अपुग रहेको घोषको भनाइ छ । विद्युत् माग पूर्ति गर्न २५० मेगावाट हाराहारीमा भारतबाट नै विद्युत आयात भइरहेको छ । वर्षा सुरु नभए पछि अहिलेसम्म खोला नदीहरुमा पानीको बहाव बढ्न सकेको छैन ।

जसकाकारण, अधिकांश जलविद्युत् आयोजना पूर्ण क्षमतामा सञ्चालनमाआउन सकेका छैनन् । प्रतिआयोजनाबाट एकतिहाइ र आधा क्षमतामा मात्र बिजुली उत्पादन भइरहेको अवस्था छ ।

विद्युतको लोड आपूर्ति हुन नसक्दाऔद्योगिक क्षेत्रमा बिजुली दिन नसकिएको प्राधिकरण बताउँछ । ५/७ घण्टा उपलब्ध गराइएको बिजुली पनि पटक पटक जाने–आउने (ट्रिपिङ)को समस्या रहेको उद्योगीको गुनासो छ ।

विद्युत् लोड अपुग हुँदा घरेलु ग्राहकमा समेत भोल्टेजको समस्या बढेको छ । प्राधिकरण अनुसार खासगरी लुम्बिनी प्रदेशदेखि सुदुरपश्चिमसम्मका नागरिक बढी प्रभावित छन्‌ ।

त्यस क्षेत्रमा विद्युत् लोड धान्ने पावरहाउस र ग्रीड बनेका छैनन् । जसकारण कुनै कारणले १४४ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत् आयोजना र त्यस अन्तर्गतका करिडोरमा समस्या आइहाले पश्चितर्फ विद्युत् अवरुद्ध नै गर्नुपर्ने अवस्था छ ।