स्टोरी

बीपी प्रतिष्ठानमा १४ वर्षपछि खुल्यो बढुवाको जाम, चिकित्सक पलायन रोकिने विश्वास 

By खबरहब

July 25, 2024

सुनसरी– धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सक शिक्षक र कर्मचारीको पदोन्नति गरेको छ । बीपी प्रतिष्ठानमा प्रशासनिक कर्मचारीको १४ र चिकित्सक शिक्षक तर्फ ६ वर्षपछि पदोन्नति गरेको हो ।

भ्रष्टाचार काण्ड, अख्तियारको छापा, मेडिकल उपकरण र भौतिक पूर्वाधार निर्माणमा ठेकेदार कम्पनीहरूको लापरवाही जस्ता बेथितिका कारण १४ वर्षअघि जुन पदमा नियुक्त भएका थिए सोही पदमा कर्मचारीहरू कार्यरत थिए । यसैगरी चिकित्सक शिक्षकहरू ६ वर्षदेखि पुरानै पदमा कार्यरत थिए । जागिरमा भविष्य नदेखेपछि चिकित्सकहरूको पलायन क्रम बढेको थियो ।    

प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले औपचारिक जानकारी दिँदै  खवरहवलाई भने, ‘बीपी प्रतिष्ठानलाई चलायमान बनाउन लामो समयदेखि योगदान दिने चिकित्सक शिक्षक र कर्मचारीले पदोन्नतिका लागि दबाब दिन आन्दोलन चलाएका थिए । उनीहरूको जायज माग सम्बोधन गरी पदोन्नति गरिएको छ ।’ 

 बीपी प्रतिष्ठानका चिकित्सक शिक्षक र कर्मचारीको बढुवा ०७९ पुस २० र माघ २५ गते प्रकाशित विज्ञापन अनुसार गरिएको हो । उनकाअनुसार  शिक्षक तथा कर्मचारीहरूको पदोन्नति प्रक्रिया मूल्याङ्कन तथा अन्तर्वार्ताबाट आन्तरिक एक तह बढुवा र स्तर वृद्धि गरिएको हो । 

उनले भने, ‘आवेदन दिनेहरू मध्ये चिकित्सक शिक्षक तर्फ स्थायी र करार गरी १ सय ९५ जनाको एक तह बढुवा भएको छ । यसैगरी प्रशासनिक कर्मचारी तर्फ स्थायी र पफर्मेन्स करार गरी ४ सय ९ जनाको एक तह र ३ सय ९ जनाको स्तर वृद्धि गरिएको छ ।’ 

चिकित्सक र कर्मचारीहरूले प्रा.डा. प्रल्हाद कार्की कायममुकायम उपकुलपति भएको बेला गत माघ फागुन ताका २७ दिन लगातार भद्र अवज्ञा गरी सबै जिम्मेवारी बहिष्कार गरेर पठन पाठन र परीक्षा ठप्प बनाएका थिए । निलम्बनमा परेका डा गिरी सर्वोच्च अदालतबाट मुद्दा जितेर आएपछि तत्काल रोकिएको बढुवा प्रकृया सुरु गरेका थिए । करिब डेढ वर्षअघि उनैले शुरु गरेको बढुवा प्रकृयालाई बीचमा आएका कायम मुकायम उपकुलपति प्रा.डा. कार्कीले एक्कासि रोकेपछि चिकित्सक र कर्मचारीहरू आन्दोलित भएका थिए ।  

 पदोन्नतिका लागि कर्मचारीहरूले एक दशक र चिकित्सकहरूले ७ वर्षदेखि पटक पटक आन्दोलन गर्दै आएका थिए । आफूले सिकाएका विद्यार्थीहरू अन्य संस्थामा प्राध्यापक भइसक्दा प्रतिष्ठानका सहायक, सह र अतिरिक्त पदमा नियुक्त चिकित्सक शिक्षकहरू भने पुरानै तहमा रहेका थिए ।

हालै प्राध्यापक भएका एक चिकित्सकले भने, ‘कस्तो विडम्बना थियो भने पदोन्नति प्रक्रियामा आफूले पढाएको विद्यार्थीलाई अन्तर्वार्ता दिनु परेको अवस्थासम्म आएको थियो । किनकी ऊ त बेलैमा प्राध्यापक भइसकेको थियो । पुरानै तहका चिकित्सक शिक्षकहरूले उसको अगाडि अन्तर्वार्ता दिनुपर्ने अवस्था सृजना भएको थियो । तर ढिलै भएपनि पदोन्नति भएकोमा हामी खुशी छौं ।’ 

त्यसो त प्रतिष्ठानमा चिकित्सक शिक्षकहरूको पदोन्नति नहुँदा वृत्ति विकासमा मात्र नभएर विद्यार्थी भर्ना कोटामा समेत असर परेको थियो । प्राध्यापकको सङ्ख्या अनुसार नेपाल मेडिकल काउन्सिलले विद्यार्थी भर्नाको कोटा दिने भएकाले कतिपय विभागमा प्राध्यापकविहीन हुँदा सीमित सङ्ख्यामा मात्र विद्यार्थी भर्ना हुने गरेको थियो । 

 सामान्यतया बीपी प्रतिष्ठानमा एमडी-एमएस र डेन्टलतर्फ एमडीएस पास गरेपछि एक वर्षसम्म अनिवार्य सिनियर रेजिडेन्ट (एसआर) तहमा काम गर्नु पर्छ । एकवर्ष एसआर भइसकेपछि मात्र सहायक प्राध्यापक हुन योग्य बन्छ ।  उक्त पदमा चारवर्ष अनुभव बटुलेपछि सहप्राध्यापकको प्रतिस्पर्धामा जान सक्छ । सहप्राध्यापक भएको तीन वर्षमा अतिरिक्त र अतिरिक्त भएर थप तीन वर्ष सेवा गरेपछि प्राध्यापकमा बढुवाको ढोका खुल्छ । प्रतिष्ठानमा सात बर्षयता प्रशासनिकदेखि कर्मचारीका वृत्ति विकासका काम नियमित हुन सकेका छैनन् ।