समाचार

रास्वपाले भन्यो- उपसभामुखले लेखेको पत्र अमेरिकी दूतावासमा दर्ता भएको रहेनछ

By खबरहब

July 25, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानाले लेखेको सिफारिस पत्र अमेरिकी दूतावासमा दर्ता नभएको दाबी गरेको छ ।

आज बसेको केन्द्रीय समिति बैठकमा पत्रका विषयमा पार्टीले अनौपचारिक रूपमा बुझ्दा दूतावासमा दर्ता नभएको पाइएको पार्टीका प्रवक्ता मनिष झाले बताए ।  

‘यो पत्रको मिति १८ महिना अगाडिको रहेछ । अमेरिकी दूतावासमा रजिस्टर भएको पनि छैन । सिफारिसअनुसार कसैले सुविधा लिइएको पनि पाइएन ’ बैठकपछि पत्रकार सम्मेलनमा प्रवक्ता झाले भने ।

पत्रको एउटा मात्रै कपी बाहिर आएको तथा त्यसमा दूतावासको छाप नरहेको उनले बताए । यस प्रकरणमा उपसभामुखको आशय र नियत गलत नभएको तथा आर्थिक चलखेल नभएको झाले बताए। 

संवैधानिक परिषदमा बहुमत पुर्‍याउने हेतुले अहिले यो प्रकरणलाई बाहिर ल्याइएको पार्टीको आशंका  छ ।