आर्थिक

साउनमा १ खर्ब २८ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात

By खबरहब

August 25, 2024

काठमाडौं– चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना साउनमा १ खर्ब २८ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्क अनुसार गएको साउनमा नेपालले १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको हो ।

यसमध्ये सबैभन्दा बढी आयात भएको वस्तुमा डिजेल रहेको छ । एक महिनामा ६ अर्ब ९८ करोड ७१ लाख ९५ हजार रुपैयाँ बराबरको डिजेल आयात भएको छ । यस्तै, ५ अर्ब ६९ करोड ३५ लाख रुपैयाँ बराबरको पेट्रोल र ४ अर्ब ८२ करोड ६६ लाख रुपैयाँ बराबरको ग्यास आयात भएको छ ।

युरिया मल मात्रै एक महिनामा करिब ४ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । ३ अर्ब ७२ करोड ७२ लाखको स्मार्टफोन भित्रिएको छ । यस्तै, ३ अर्ब ४ लाख रुपैयाँको फलाम आयात हुँदा सूर्यमुखी तेल २ अर्ब ६३ करोड १९ लाख रुपैयाँ बराबरको आयात भएको छ ।

औषधिजन्य वस्तु २ अर्ब ३७ करोड ४३ लाख रुपैयाँ बराबरको आयात भएको छ । डाइमोनियक फोस्फेट १ अर्ब ७९ करोड ४७ लाख रुपैयाँको र कच्चा सोयाबिन तेल १ अर्ब ३० करोड ७९ लाख रुपैयाँको आयात भएको छ । कोल्जा सीड १ अर्ब २५ करोड ५१ लाख रुपैयाँको आयात भएको भन्सार विभागले जनाएको छ ।

सबैभन्दा बढी कार्पेट निर्यात

नेपालबाट चालु आवको पहिलो महिनामा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलना चालु आवको पहिलो महिनामा आयात शून्य दशमलव ६७ प्रतिशतले घटेको छ भने निर्यात नौ दशमलव ६३ प्रतिशतले घटेको छ ।

गत साउन महिनामा नेपालले भारतसँग मात्र ७० अर्ब १० करोड ४२ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको विभागले जनाएको छ । यसमा नेपालबाट सबैभन्दा धेरै निर्यात हुने प्रमुख वस्तुमा कार्पेट रहेको छ ।

एक महिनामा १ अर्ब ११ करोड ७५ लाख रुपैयाँ बराबरको कार्पेट बाहिरिएको तथ्यांकले देखाएको छ । यस्तै, ५१ करोड ३२ लाख रुपैयाँको चिया निर्यात भएको छ । फलाम, कोल्जा सीडस्, प्लाई, धागो र मिश्रित जुस लगायत वस्तु पनि निर्यात सूचीको शीर्ष स्थानमा छन्‌ ।