समाचार

बाढीले जिप बगायो, यात्रुले भागेर ज्यान जोगाए

By खबरहब

August 25, 2024

म्याग्दी– पोखराबाट म्याग्दीको बेनीतर्फ आइरहेको एउटा बोलेरो जिपलाई बाढीले बगाएको छ ।

शनिबार परेको मुसलधारे वर्षापछि आएको बाढीले बागलुङ–बेनी सडकअन्तर्गत बेनी नगरपालिका–१ हुलाके खोलाले ग२च९३५५ नम्बरको बोलेरो जिप बगाएको हो ।

यात्रु र चालकले भने भागेर ज्यान जोगाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बाढीका कारण बेनी नगरपालिका–९ मा रहेको जडभरत संस्कृत माध्यमिक विद्यालयको पाँचकोठे भवनको कक्षाकोठा लेदोले भरिएको छ ।

सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरका प्रहरी नायब उपरीक्षक नवराज नेपालका अनुसार बेनी–जोमसोम सडकमा पहिरो खसेपछि खोल्सा र नालीको पानी बस्तीतर्फ सोझिँदा विद्यालयसँगै रहेको पुलहपुलत्स्य अन्नक्षेत्र र गलेश्वर ज्येष्ठ नागरिक आश्रमको भोजनालयमा बाढी पसेको छ ।

राति नै बाढी तर्काएका सशस्त्र प्रहरी, स्थानीयवासी बिहानैदेखि कक्षाकोठा र भोजनालयमा पसेको बाढी पन्छाउन जुटेको प्रनाउ नेपालले बताए ।

बेनी नगरपालिका–८ कालीपुल बसपार्क र प्रवेशद्वार क्षेत्रमा पनि खोल्सामा आएको बाढीले क्षति भएको छ ।

बाढी र पहिराका कारण म्याग्दीका प्रमुख सडक अवरुद्ध भएका छन् । बागलुङ–बेनी सडक हुलाकेमा, बेनी–जोमसोम सडक गलेश्वरमा, बेनी–दरबाङ सडक अग्निखेत, सिङ्गा, घुमाउनेमा, मालढुङ्गा–बेनी सडक जलजला गाउँपालिकाको विभिन्न ठाउँमा खसेको पहिरोका कारण आवागमन अवरुद्ध बनेको प्रहरी निरीक्षक राजन रायमाझीले बताए ।

सम्बन्धित स्थानीय तह, पूर्वाधार विकास कार्यालय, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत पहिरो पन्छाउने र सडक मर्मत गरेर यातायात सञ्चालनका लागि समन्वय भएको प्रहरी निरीक्षक रायमाझीले बताए ।

जिल्ला सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्र, छिमेकी जिल्ला बागलुङ, पर्वत र मुस्ताङसँगै म्याग्दीको यातायात सम्पर्कविच्छेद भएको छ ।