स्टोरी

थर्मसमा चिया बेच्नेमाथि नगरप्रहरीको ज्यादती, ऐया ! भनिरहँदा घिच्याएर भ्यानमा

By खबरहब

August 25, 2024

काटमाडौं– काठमाडौं महानगरपालिकाका नगर प्रहरी आइतबार बिहानै थर्मसमा चिया बेच्ने पुरुषमाथि बीच सडकमै जाइलागेको दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

मुटुका बिरामीहरूको उपचार गरिने बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रअगाडि चिया बेच्ने गरेका ती पुरुषमाथि आधा दर्जन नगर प्रहरी बीच सडकमै जाइ लागेका थिए ।

महानगरका नगर प्रहरीहरूले‘स्थानीय राजपत्र’मा उल्लेख नै नभएको अधिकार प्रयोग गर्दै ती व्यक्तिलाई पक्राउ गरिरहेका थिए ।

नगर प्रहरीको पोशाकमै देखिएका उनीहरू ती व्यक्तिलाई बलजफ्तीपूर्वक महानगरले उपलब्ध गराइएको हाइल्याक्स भ्यानमा कोच्ने कोसिस गरिरहेका थिए ।

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र अगाडिको उक्त दृश्य कुनै ठूलै अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गर्न गरिएको संघर्षभन्दा कम थिएन । तर ती व्यक्ति कुनै ठूला अपराधी नभई राष्ट्रिय हृदय केन्द्रअगाडि थर्मसमा चिया डुलाउँदै बेच्ने गर्थे ।

उक्त भिडियोमा नगर प्रहरीले बल प्रयोग गरेर घिच्याइरहँदा ती व्यक्ति चिच्याइरहेका सुनिनन्छन् । वरपर रहेका अन्य मानिसहरू रमिते बनेका छन् भने कोही भिडियो खिचिरहेका देखिन्छन् । नगर प्रहरीले बलजफ्ती भ्यानमा कोचिरहँदा चिच्याइरहेका ती व्यक्ति भन्दैछन्, ‘ऐया ! ऐया !’

तर पनि नगरप्रहरी ती व्यक्तिमाथि बल प्रयोग गर्न छाड्दैनन् । प्रतिकारको कोसिस गरेका उनलाई घिच्याउँदै जबरजस्ती भ्यानमा कोचेर ढोका लगाइन्छ ।

त्यहीबेला एकजना नगर प्रहरी पछाडिबाट दुईवटा थर्मस बोकेर आइपुग्छन् । दुवै थर्मस उनले हतार हतार उक्त हाइल्याक्स गाडीको पछाडि राख्छन् ।

चिया बेच्दै आएका ती व्यक्तिलाई नगरप्रहरीले गरेको लछारपछारको दृश्य मन कुँढ्याउने थियो । त्यही दृश्यलाई लिएर सुमन न्यौपाने ट्विटरमा टिप्पणी गरेका छन्, ‘नगर प्रहरीलाई बल प्रयोगको अधिकार छैन, ऐनले सहजीकरण गर्ने काम मात्रै भन्छ । तर यहाँ त समानान्तर प्रहरी बल चलाइरहेका छन् ।’

काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र साहले चुनावी घोषणा पत्रअनुसार काम नगरेको भन्दै विरोधमा उत्रिरहेका अभियन्ता ई: ले नगर प्रहरीको उक्त कार्यको निन्दा गरेका छन् । उनले नगरप्रहरीलाई प्रहरीले लगाउने फूली जस्तै तारा भिरेर मानिस समात्दै हिँड्ने अधिकार कसले दियो भनेर प्रश्न गरेका छन् ।

उनले नेपाल प्रहरीलाईसमेत प्रश्न गर्दै भनेका छन्, ‘के नगर प्रहरीसँग तारा भिरेर मान्छे समात्ने र यातना दिने अधिकार छ? छैन भने, टुलुटुलु कहिलेसम्म?’

उनले यस प्रहरणमा प्रधानमन्त्री केपी शर्मा ओली तथा सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेलाई पनि घेरेका छन् । ‘प्रधानमन्त्रीज्यू, के सडक र अनौपचारिक व्यवसाय नियमन गर्ने कानुन बनाउने इच्छाक्षमता नभएकै हो?’, उनले सोधेका छन् ।

अभियन्ता ई:ले काठमाडौं महानगरपालिकाको नगरसभामा बहुमत हुँदा हुँदै पनि नगर प्रहरीको नाममा गुण्डगर्दी चलिरहँदा कांग्रेस र एमाले रमिते बनेको आरोप लगाएका छन् । ‘नेपाली कांग्रेस र नेकपा एमाले नगरसभामा बहुमत छ। गुण्डागर्दीमा मतियारी कहिलेसम्म?’, उनले दुई दललाई घेर्दै प्रश्न गरेका छन् ।

यही भिडियोलाई लिएर वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकीले पनि संघीय सरकारलाई समेत प्रश्न गरेका छन् । ‘मैले बारम्बार गरेको प्रश्न नगर प्रहरीलाई मान्छे समात्ने अधिकार कुन कानुनले दिन्छ सरकार ?’, उनले प्रश्न गरेका छन् ।

नगर प्रहरीको यो हर्कतलाई अर्का पत्रकार सुजित महतले आततायीहरूको क्रियाकलापको संज्ञा दिएका छन् । ‘दरिद्र भन्न मिल्ने, विपन्न देशमा सडक-फुटपाथ खाली हुने समयमा एकाबिहानै चियाको थर्मस खोस्ने, साग खोस्ने आततायी नै हुन्’, उनले भनेका छन्, ‘लड्नुको विकल्प छैन । पिता-पुर्खालाई शासकबाट प्राप्त जिम्दारी-जागिरको जगमा मात्तिएर गरिखानेसँग बर्बरता अपनाउनेको कन्तबिज‍ोग देख्न धेरै समय छैन ।’

के भन्छ महानगर ?

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रअगाडि थर्मसमा चिया बेच्ने व्यक्तिमाथि भएको लछारपछारमा आफूहरूकै नगर प्रहरी संलग्न रहेको महानगरले स्वीकारेको छ ।

महानगरका प्रवक्ता नवीन मानन्धरले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रअगाडिको घटनामा काठमाडौंकै नगर प्रहरी संलग्न रहेको खुलाए ।

‘त्यहाँ भएको भनिएको उक्त धरपकडमा महानगरकै प्रहरीहरू थिए । तर उक्त धरपकडबारे मैले विस्तृतमा बुझिसकेको छैन’, उनले भने, ‘भिडियो हेरेर अनि नगर प्रहरीसँगको छलफलपछि म तपाईंलाई विस्तृतमा बताउन सकुँला ।’

नगर प्रहरीलाई त्यसरी कुनै पनि व्यक्तिलाई धरपकड गर्ने अधिकार नरहेकोबारे उनले केही टिप्पणी गर्न चाहेनन् । ‘म अहिले बुझ्दैछु । अहिलेलाई यति भन्छु’, उनले भने, ‘सडक र फुटपाथ ओगटेर जथाभावी व्यापार-व्यवसाय गर्न चाहिँ हुँदैन ।’

उता काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भिडियो सामाजिक सञ्जालमा देखेको बताउँदै त्यसको वास्तविकताबारे बुझिनसकेको जवाफ दिए । ‘सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रअगाडिको भिडियो मैले पनि हेर्न भ्याएँ । तर त्यो घटनामा भएको के हो ? त्यहाँ को तैनाथ थिए ? भन्ने कुरा बुझिसकेपछि मात्रै जवाफ दिन सकिएला ।’

स्थानीय राजपत्रमा छैन पक्राउको अधिकार

साधारणतया कुनै पनि अपराध, गैरकानुनी कृयापलाप या गतिविधिमा संलग्न रहेको व्यक्तिलाई पक्राउ गर्ने अधिकार नेपाल प्रहरीलाई मात्रै छ । भन्सार र सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरीले पनि अपराधका आधारमा मानिस पक्राउको अधिकार पाएको छ ।

सशस्त्रले पछिल्लो समय लागुऔषध तस्करी र भन्सार छलीमा संलग्नहरूलाई पक्राउ गर्ने गरेको छ । तर यी दुई प्रहरीको अधिकार पनि काठमाडौंको नगर प्रहरीले प्रयोग गर्ने गरेको छ ।

फुटपाथ र सडकमा व्यापार गर्नेहरूको सामान त उसले जफत गरि नै रहेको छ । त्यसका अतिरिक्त व्यापारमा संलग्नहरूलाई पनि उसले प्रहरीकै शैलीमा पक्राउ गरिरहेको छ ।

गंगालाल अगाडि त उसले जोरजबरजस्ती गरेर चिया बेच्ने ती व्यक्तिलाई उठाएको छ । नगर प्रहरीसँग पक्राउ पुर्जी जारी गर्ने अधिकार छैन । तर, उसले गैरकानुनी रुपमा मानिसहरूलाई प्रहरीले जस्तै समातेर लैजाने गरेको छ । यसलाई लिएर सामाजिक अभियन्ता इ:ले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।

काठमाडौंको नगर प्रहरीले सडकमा रहेकामाथि गरेको यो पहिलो र अन्तिम धरपकड होइन। यसपहिले सरकारी निकायमा दर्ता भएर सञ्चालित कवाडी व्यवसायीमाथि यसैगरी धरपडक गरेको थियो ।

त्यस्तै सडक किनारमा जुत्ता सिलाउने श्रमिक, मकै पोल्ने महिला, साइकलमा आँप बेच्ने व्यसायी र चिया बेच्ने महिलामाथि पनि नगरप्रहरीको ज्यादती यसअघी नै सार्वजनिक भएका थिए ।

कवाडी व्यवासयीले त काठमाडौं महानगरपालिकाको कमलादीस्थित कार्यालय घेरेर नै आन्दोलन चर्काए । तर उनीहरूलाई प्रहरीले चर्को दमन गरेर लखेटेको थियो।

के के छन् अधिकार ?

काठमाडौं महानगरपालिकाले २०८० साउन ११ गते जारी गरेको ‘स्थानीय राजपत्र’ मा विभिन्न २८ वटा अधिकारी निर्धारण गरिएको छ । ती अधिकारमा यसरी व्यवसायी या व्यक्तिलाई पक्राउ र धरपकड गर्ने कुरा कहीँ पनि उल्लेख छैन ।

बरू नगर प्रहरीका अधिकारमध्ये बुँदा नम्बर (द) मा भनिएको छ, ‘बिनाइजाजत पेसा, व्यवसाय सञ्चालन गरेको पाइएमा त्यस्ता पेसा व्यवसायको दर्ता-नवीकरण गर्न सहजीकरण गर्ने ।’

नगर प्रहरीलाई महानगरले नै सहजीकरणको मात्रै भूमिका दिएको छ कानुनी रुपमा । तर उसले सडकबाट मानिसहरूलाई बलजफ्ती धरपकड गरेर प्रहरीले जस्तै पक्राउ गर्दै लाने गरेको छ । गंगालाल अस्पताल अगाडिको दृश्य त्यसकै निरन्तरता मात्रै हो ।

काठमाडौं महानगरको ‘स्थानीय राजपत्र’को परिच्छेद–३ मा यस्ता छन् नगर प्रहरीकf काम, कर्तव्य र अधिकार :

(१) कार्यपालिका, वडा समिति, सम्बद्ध विभाग तथा महानगरपालिकाका पदाधिकारी तथा अधिकारप्राप्त अधिकारीको निर्णय तथा निर्देशन कार्यान्वयन गर्नु महानगर प्रहरीको प्रमुख कर्तव्य हुनेछ । महानगर प्रहरीको काम, कर्तव्य र अधिकारको विस्तृत विवरण देहायबमोजिम रहनेछ :

(क) महानगरपालिकाको चल, अचल सम्पत्ति, भवन, जग्गा, पार्क, मेशिन, उपकरण आदिको सुरक्षा र संरक्षण गर्ने । (ख) महानगर क्षेत्रभित्र हुने सभा, समारोह, परम्परा तथा जात्रा, चाडपर्वको सुरक्षा व्यवस्थापन गर्ने । ग) बजार तथा सवारी पार्किङस्थलको रेखदेख र व्यवस्थापन गर्ने । (घ) महानगरपालिकाको सरसफाइसम्बन्धी अनुगमन, नियमन तथा कारबाही गर्ने । (ङ) महानगरपालिकाबाट न्यायिक रोहमा भएका मिलापत्र तथा निर्णय कार्यान्वयन गर्ने । (च) सार्वजनिक, ऐलानी, पर्ती, सहरीवन, बगैँचा, नदी उकास, नदी किनार, नदी करिडोर, सार्वजनिक गल्ली, चोक, डबली, बहाःवही, ननीः, मठमन्दिर, पाटीपौवा, पोखरी, ढुंगेधारा, कुवा, सार्वजनिक भवन, बाटो, निकास, चौर, खेलमैदान, कुलो, नहर, अन्त्यष्टीस्थल, धार्मिकस्थल, पुरातात्विक महत्वका सम्पदा आदिको संरक्षण र सुरक्षण गर्ने । (छ) विपद व्यवस्थापनसम्बन्धी खोजी, उद्दार, राहत तथा पुनस्र्थापनासम्बन्धी कार्य गर्ने । (ज) अनधिकृत बाह्य विज्ञापन तथा होर्डिङबोर्ड नियन्त्रण तथा कारबाही गर्ने । (झ) छाडा पशु चौपायाको नियन्त्रण तथा व्यवस्थापन गर्ने । (ञ) सम्बन्धित विभागको समन्वयमा भवन निर्माण अनुमति इजाजत नलिई निर्माण भएका भवनजन्य संरचना र अनधिकृत निर्माण नियन्त्रण, सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्ने । (ट) फोहरमैला व्यवस्थापनमा अनुगमन, नियमन, नियन्त्रण तथा कारबाहीसम्बन्धी कार्य गर्ने । (ठ) सार्वजनिक आवागमनमा बाधा पुग्ने गरी राखिएका निर्माण सामग्री हटाउने । (ड) स्वास्थ्यका लागि हानिकार चिज, अखाद्य तथा सडेगलेको खाद्य पदार्थ बिक्री वितरणमा रोक लगाउन सहयोग गर्ने । (ढ) अधिकार प्राप्त अधिकारीको निर्णय र आदेश बमोजिम खतरा उत्पन्न हुने रुख काट्न लगाउने, घर पर्खाल भए भत्काउन लगाउने । (ण) वडा समितिसँगको समन्वयमा टोल सुधार समिति तथा सामुदायिक प्रहरीसँगको सहकार्यमा सरसफाइ, सुरक्षा र सामाजिक विकृति हटाउने कार्य गर्ने । (त) महानगरपालिकाको विभिन्न तहबाट भएका निर्णय, स्वीकृत योजना तथा कार्यक्रम कार्यान्वयन गर्न गराउन सहयोग गर्ने । (थ) राजस्व विभागसँगको समन्वयमा करदातालाई कर तिर्न सहजीकरण गर्ने । (द) बिनाइजाजत पेसा व्यवसाय सञ्चालन गरेको पाइएमा त्यस्ता पेसा व्यवसायको दर्ता-नवीकरण गर्न सहजीकरण गर्ने । (ध) महानगरपालिका क्षेत्रमा भित्तेलेखन, तुल, व्यानर तथा पोष्टर टाँस्न प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयन गर्ने । (न) महानगरपालिका क्षेत्रभित्र सार्वजनिक स्थलमा अनुमति नलिई गरिने जादु, सर्कस, जुवा लगायतका विकृतिजन्य क्रियाकलापमा रोक लगाउने । (प) पर्यावरणमा असर पर्ने सबै किसिमका प्रदूषण नियन्त्रण गर्ने । (फ) वातावरणलाई असर पर्ने खालका प्लाष्टिकजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्ने । (ब) सार्वजनिक स्थलमा धुम्रपान, मादक पदार्थ सेवन तथा सुर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्ने । (भ) महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका होटल, रेष्टुरेण्ट, लउन्ज, रेष्ट्रो, बार र क्लबमा बालबालिकाको उपयोग तथा सहभागितालाई निषेध गर्ने तथा ती स्थानहरूमा सामाजिक विकृतिजन्य कार्य नियन्त्रण गर्न अन्य सुरक्षा निकायसँग समन्वय गरी कार्य गर्ने, गराउने । (म) सवारीसाधनबाट हुने वायु तथा ध्वनि प्रदूषण नियन्त्रणमा सहजीकरण गर्ने । (य) धुवाँ, प्रकाश अथवा अन्य कुनै कारणले सार्वजनिक रूपमा बाधा पुग्ने गरी उद्योगधन्दा चलाउन रोक लगाउने कार्यमा सहयोग गर्ने । (र) दमकल सेवालाई २४ सै घण्टा दुरुस्त राखी सञ्चालनको व्यवस्था मिलाउने । (ल) महानगरपालिकाले तोकेको अन्य कार्य गर्ने, गराउने ।

उपदफा (१) बमोजिमको कार्य सम्पादन गर्दा महानगरपालिकाको प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सम्बन्धित वडा अध्यक्ष र विभागीय प्रमुखसँग समेत आवश्यकता अनुसार समन्वय गर्नु महानगर प्रहरीको कर्तव्य हुनेछ ।