खेलकुद

भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा

By खबरहब

August 25, 2024

काठमाडौं- साफ यु–२० च्याम्पियनसिपअन्तर्गत घरेलु टोली नेपाल फाइनलमा पुगेको छ । पहिलो सेमिफाइनल भिडन्त पेनाल्टी सुटआउटमा पुग्दा भुटानलाई हराउँदै नेपालले उपाधि भिडन्त पक्का गरेको हो ।

खेलको निर्धारित समय १-१ मा सकिएको अवस्थामा नतिजाको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको थियो । त्यसमा नेपालले आफूलाई अब्बल सावित गर्दै भुटानलाई ४-१ को नतिजासहित घरको बाटो देखायो ।

नेपाललाई फाइनल यात्रामा लैजाने क्रममा गोल किपर जियारथ शेख नायक सावित भए । उनले पेनाल्टी सुटआउटका क्रममा भुटानका दुई प्रहार रोक्न सफल भए । नेपालका सबै चार प्रहारले जाली चुमेको थियो ।

खेलमा गोल भने नेपालले खाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको अवस्थामा भुटानले खेलको ५६ औँ मिनेटमा अग्रता बनाएको थियो ।

भुटानका लागि जेत्सुन दोर्जीले उत्कृष्ट गोल गर्दै सातदोबाटो खेल मैदानमा नेपाली समर्थकलाई पनि स्तब्ध बनाइदिए ।

तर खेलको ७८ औँ मिनेटमा निराजन धामीले गोल फर्काउन सफल हुँदै नेपालको आशा जीवितै राखेका थिए। त्यसपछि दुवै टोलीले गोल गर्न नसकेपछि खेललाई पेनाल्टी सुटआउटमा लगिएको थियो । जहाँ नेपाली किपर चम्किँदा भुटान सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो ।

नेपाल समूह ‘ए’ का दुवै खेल जितेर विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । नेपालले समूह चरणमा श्रीलंका र बंगलादेशलाई हराएको थियो ।

यस्तै, भुटान समूह ‘बी’ को उपविजेता बन्दै समिफाइनलमा पुगेको थियो । भुटानले माल्दिभ्सलाई हराएको थियो भने भारतसँग पराजित भएको थियो ।

अब दोस्रो सेमिफाइनल खेल सोमबार भारत र बंगलादेशबीच हुनेछ । यो सेमिफाइनल भिडन्तपछि नेपालसँग  उपाधि भिडन्त गर्ने टोली टुंगो लाग्नेछ । यो प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ ।