समाचार

दोरम्बा पहिरो : शव परीक्षण गरी परिवारलाई बुझाइयो

By खबरहब

August 25, 2024

मन्थली– रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ मा  गए राति गएको पहिरोमा परी  मृत्यु भएका ६ जनाको शव घटनास्थलै परीक्षण गरी परिवारलाई बुझाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेका अनुसार घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ भने मृतकको शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको हो ।

हराइरहेका अन्य चार जनाको खोजी भइरहेको सूचना अधिकारी न्यौपानेले जानकारी दिए । पहिरो एक किलोमिटर लामो भएकाले खोजतलासमा समस्या भइरहेको उनले बताए ।

पहिरोमा परी शैलुङ–३ की ३० वर्षीया चण्डिका श्रेष्ठ, उनका १८ महिने छोरा आयुष, सोही वडाका क्रमशः ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीया सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी र १४ वर्षीय विज्ञान पहरीको ज्यान गएको थियो ।

सो वडाको लेखर्कमा ग राति परेको अविरल वर्षाका कारण खसेको पहिरोले तीन वटा घर बगाएको र एउटा घर पुरिएको प्रहरीले जनाएको छ । पहिरोले वडा नं २ र ३ को सिमानामा रहेको अँधेरी खोलाको पक्की पुल पनि बगाएको छ ।