मनोरञ्जन

ओटीटीमा सार्वजनिक भयो फिल्म ‘प्रेम गीत-३’

By खबरहब

September 25, 2024

काठमाडौं- वि.सं. २०७९ सालको दसैंमा नेपाली र हिन्दी भाषामा एक साथ प्रदर्शनमा आएको फिल्म ‘प्रेम गीत-३’ ओटीटी प्लेटफर्म एप ‘सिनेमा घर’मा राखिएको छ ।

नायक प्रदीप खड्का र नायिका क्रिस्टिना गुरुङको शीर्ष भूमिका रहेको यस फिल्म पहिलो पटक भारतमा पनि प्रदर्शन भएको थियो ।

यस फिल्म खजाग राज्यका कान्छा राजकुमार प्रेम (प्रदीप) र उनकी प्रेमिका गीत (गीत) को कथा छ। फिल्ममा प्रेम शुभ समयमा जन्मिएका कारण राजा हुने भविष्यवाणी गरिएको हुन्छ । त्यसपछिको उनको जीवनको उत्तारचढाव फिल्ममा देखाइएको छ ।

यस फिल्ममा प्रदीप र क्रिस्टिनासहित शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, समृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवालगायत कलाकारको अभिनय छ । यो चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त निर्देशन गरेका हुन् ।

प्रेम गीत सार्वजनिकसँगै सिनेमाघर एपले नयाँ फिचर ल्याएको छ । यसअघि सिनेमाघरका सामाग्री मोबाइल र स्मार्ट टिभीमा मात्रै हेर्न सकिन्थ्यो । अब ल्यापटप र डेस्कटपबाट वेब ब्राउजरमार्फत सिनेमाघरका सामाग्री हेर्न सकिन्छ ।