समाचार

कीर्तिमानी आरोही पुर्जालाई काठमाडौंमा गरियो भव्य स्वागत

By खबरहब

October 25, 2024

काठमाडौं– सातै महादेशका अग्ला हिमालको चुचुरोमा दुई पटक चढेर कीर्तिमान कायम गरेका हिमाल आरोही निर्मल पुर्जालाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।

सेभेन समिटको अन्तिम गन्तव्य चुचुरो इन्डोनेसियाको क्यास्टेर्न पिरामिडको सफल आरोहण गरेर शुक्रबार नेपाल फर्किएका निर्मल पुर्जालाई विभिन्न संघ संस्था लगायतले काठमाडौंमा स्वागत गरेका हुन् ।

पुर्जालाई त्रिभुवन विमानस्थलबाट स्वागत र्‍याली सहित काठमाडौंको बौद्धमा पुराइएको थियो । बौद्धमा सञ्चारकर्मीसंग कुरा गर्दै हिमाल आरोही निर्मल पुर्जाले देशको नाम विश्वमा फैलाउन पाउँदा खुसी लागेको बताए ।

उनले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ चुचुरोमा दुई पटक आरोहण गरेको र सातै महादेशका अग्ला हिमालको चुचुरोमा पनि पुग्ने आफू विश्वको पहिलो व्यक्ति हुन पाउँदा गौरव महसुस भएको  बताए ।

उनले रेकर्डका लागि भन्दा पनि देशको नाम उचो बनाउनका लागि हिमाल आरोहण गरेको जिकिर गरे । पुर्जाले वर्षभर नै आफू विभिन्न हिमालको आरोहणमा व्यस्त रहने बताए ।