काठमाडौं– रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले ब्रिक्स सम्मेलन सफलतापूर्वक सम्पन्न गरेर आफूलाई एक्ल्याउन प्रयासरत अमेरिकासहितका पश्चिमा मुलुकहरूलाई चुनौती दिएका छन् ।
युरोप र उत्तर अमेरिकी देशहरूको सैन्य गठबन्धनको सदस्य राष्ट्र टर्कीलाई ब्रिक्स सम्मेलनमा सहभागी गराएर पुटिनले अमेरिकासहित पश्चिमा मुलुकहरूलाई चुनौती दिन सफल भएका हुन् । सम्मेलनमा सदस्यबाहेक २५ देशबाट राष्ट्रका सरकार र राष्ट्र प्रमुख सहभागी थिए ।
अमेरिका, बेलायत, क्यानडा, फ्रान्ससहितका १२ देशहरूले सन् १९४९ मा उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) स्थापना गरेका थिए । नेटो स्थापना गर्ने सन्धिमा अमेरिकाको वासिङ्गटन डीसीस्थित मेलेन अडिटोरिअममा हस्ताक्षर भएको थियो ।
नेटोको मुख्य उद्देश्य युरोपमा तत्कालीन सोभियत संघको विस्तार रोक्नु थियो । तत्कालीन समयमा रुससहितका कम्युनिस्ट गणतन्त्रहरूले सोभियत संघको गठन गरेका थिए । रूसी राष्ट्रपति पुटिनले त्यही नेटाको सदस्य राष्ट्र टर्कीलाई यसपल्ट ब्रिक्स सम्मेलनमा सहभागी गराएका हुन् ।
ब्रिक्स सम्मेलनमा सहभागी हुन टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआन कजान पुगेका थिए । उनी नेटोको साथ छाडेर ब्रिक्स देशहरूसँग नजिकिने प्रयास गरिरहेका छन् ।
अर्दोआन पछिल्लो समय लगातार रूस, चीन र भारतसहितका देशहरू सम्मिलित ब्रिक्समा सहभागी हुन चासो देखाउँदै आएका थिए । यसपल्ट ब्रिक्सले टर्कीलाई साझेदार देशको दर्जा दिएको छ । गत अगस्टमा अर्दोआनले टर्की केवल पश्चिमको भरोसामा मात्र बस्न नसक्ने प्रतिक्रिया दिएका थिए ।
अमेरिकासहितका पश्चिमा देशहरूले रूसविरुद्ध आर्थिक प्रतिबन्ध लगाएका लगाए छन् । उनीहरूसँग रूस सम्बन्ध सुमधुर देखिँदैन । उनीहरूबीच सम्बन्ध यतिसम्म बिग्रिएको छ कि गत वर्ष इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी) ले युक्रेनमा युद्ध अपराध गरेको ठहर गर्दै रूसी राष्ट्रपति पुटिनको गिरफ्तारीका लागि वारेन्ट जारी गरेको थियो ।
तर, गिरफ्तारी वारेन्टका बावजुद पुटिन गत सेप्टेम्बरमा आईसीसीकोे सदस्य राष्ट्र मंगोलिया भ्रमणमा गएका थिए । त्यो भ्रमण वारेन्ट जारी भएपछिको पुटिनको आईसीसी सदस्य राष्ट्रमा पहिलो थियो ।
रूसी राष्ट्रपति पुटिनले नेटो सदस्य राष्ट्र टर्कीसँगै उदयीमान अर्थतन्त्रसहितका दुई ठूला मुलुक (सबैभन्दा बढी जनसंख्या पनि भएका) भारत र चीनका राष्ट्र प्रमुखहरूलाई ब्रिक्स सम्मेलनमा एकसाथ उभ्याएर पश्चिमा मुलुकहरूलाई ‘सरप्राइज’ दिएका छन् ।
रूसको कजानमा आयोजित ब्रिक्स सम्मेलनका क्रममा पुटिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता गराएर दुई देशबीच लामो समयदेखि चिसिएको सम्बन्धलाई सुमधुर बनाउने प्रयासमा पनि सफल देखिएका छन् । जुन पश्चिमा मुलुकहरूका लागि सुखद संकेत नभएको विश्लेषण भइरहेको छ ।
चिनियाँ राष्ट्रपति सीले त मोदीसँगको भेटका क्रममा ‘आपसी संवाद र सहयोग’ मा जोड दिँदै आफूहरूको भेटवार्तालाई विश्व समुदायले नियालिरहेको बताएका थिए । ‘दुवै देशका जनता र अन्तर्राष्ट्रिय जगतले हाम्रो भेटलाई अत्यन्तै गौर गरेर हेरिरहेको छ,’ भारतीय प्रधानमन्त्री मोदीसँग उनले भनेका थिए ।
युक्रेनसँगको जारी युद्ध र रूसले व्यापारका क्षेत्रमा पश्चिमा देशहरूको दबदबालाई चुनौती दिइरहेका बेला कजानमा पुटिनले ब्रिक्स सम्मेलन आयोजना गरेका थिए । केही विश्लेषकहरूले ब्रिक्स सम्मेलनलाई अहिलेसम्मकै सफल भनेका छन् ।
बीबीसीसँगको कुराकानीमा भारतीय स्तभकार सुधिन्द्र कुलकर्णीले रूसको कजानमा सम्पन्न ब्रिक्स समिटलाई इतिहासकै सबैभन्दा सफल र पुटिनलाई सम्मेलनको हिरो (नायक) भनेका छन् ।
विभिन्न मुलुकका २० भन्दा बढी नेताहरू सहभागी ब्रिक्स सम्मेलनले जारी गरेको घोषणापत्रमा पनि अप्रत्यक्ष रूपमा पश्चिमा देशहरूद्वारा रूसमाथि लगाइएको आर्थिक प्रतिबन्धहरूको जिकिर गरिएको बीबीसीमा समाचार प्रकाशित छ ।
गत जनवरीमा मिस्र, ईरान, इथियोपिया र यूएईलाई ब्रिक्सको सदस्य बनाइएको थियो । साउदी अरबलाई पनि ब्रिक्समा सहभागी हुन आमन्त्रण गरिएको थियो । तर, पुटिनको उक्त प्रयास यसपल्ट सफल हुन सकेन । साउदी अरब ब्रिक्स देशहरूमा सहभागी भए यो संगठन विश्वमा ४४ प्रतिशत कच्चा तेलको उत्पादक देशहरूको समूह बन्ने छ ।
ब्रिक्सले विश्वको ४४ प्रतिशत जनसंख्या र एक तिहाइभन्दा बढी अर्थव्यवस्थाको प्रतिनिधित्व गर्दछ । सन् २००६ मा ब्राजिल, रूस, भारत र चीनले ब्रिक्स स्थापना गरेका थिए । सन् २०११ मा दक्षिण अफ्रिका पनि ब्रिक्समा सहभागी भएको थियो ।