काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने आफ्नो प्रयास रहेको बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको कृषिमा लगानी दशक सान्दर्भिकता र निजी क्षेत्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममामा मन्त्री अधिकारीले कृषि क्षेत्रमा लागेकाहरूको सुझाव कार्यान्वयन गर्नका लागि आफ्नो सकारात्मक प्रयास हुने पनि बताए ।
सरकारले कतिपय कृषि उपजहरूको आयातमा रोक लगाइएको भन्दै मन्त्री अधिकारीले कृषिमा अनुदान दुरुपयोग गर्ने लाई कारबाहीको दायरामा ल्याउन जरुरी छ भने । कृषिको विकासको लागि थप लगानी वृद्धि गर्न जरुरी रहेको मन्त्री अधिकारीले बताए ।
मन्त्री अधिकारीले निजी क्षेत्र सँग सहकार्य गर्न मन्त्रालय तयार रहेको र लगानी दशक सफल बनाउन निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने भएकाले निजी क्षेत्रलाई कृषिमा लगानी बढाउन आग्रह पनि गरे ।
गरिबीबाट मुक्ति पाउनका लागि पनि प्रत्येक परिवार कम्तीमा कृषिमा आत्मनिर्भर हुन जरुरी छ भन्दै मन्त्री अधिकारीले पछिल्लो समय कृषि कर्म गर्नेहरूको संख्या घट्नु चिन्ताको विषय भएको बताए ।
मन्त्री अधिकारीले आफ्नो ध्यान कृषि कर्मगर्नेहरुलाई प्रोत्साहन गर्नमा केन्द्रित रहेको बताए । कृषिमा सहज लगानीको वातावरण बनाउन अवयस्क रहेको भन्दै मन्त्री अधिकारीले लगानी दशक सफल बनाउन यो अनिवार्य सर्त हुनेमा जोड दिए ।