काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणमा उठाउने एजेण्डाबारे सरोकारवाला निकाय तथा विज्ञसँग आज छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारी लगायतसँग छलफल गर्न लागेका हुन् ।
छलफल बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा हुने सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले यही मङ्सिर १७ गतेदेखि चीनको औपचारिक भ्रमण गर्दैछन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री लि छ्याङ लगायतसँग भेटवार्ता गर्ने छन् ।
प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि परराष्ट्र मन्त्री आरजु राणा देउवा मङ्सिर १३ गते नै चीन जाने तयारी छ ।