ब्रेकिङ स्टोरी

क्रिकेटरको प्रशंसामा प्रधानमन्त्रीले भने- सन्दीप नेपाली क्रिकेटका ‘ब्रान्ड एम्बासडर’, दीपेन्द्रसिंह ‘बाघ’

By खबरहब

November 25, 2024

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रको विकासमा आफू सरकामा रहँदा वा नरहँदा पनि ध्यान दिने बताएका छन् ।

सोमबार धरहरा परिसरबाट नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण गर्दै ओलीले एनपीएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा खेल प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने बताए ।

प्रधानमन्त्री ओलीले खेल क्षेत्रका लागि सरकारले पर्याप्त स्रोत, साधन उपलब्ध गराउन नसके पनि लिगका लागि सक्दो साथ, सहयोग र प्रोत्साहन गर्ने विश्वास दिलाए ।

‘खेल सरकारको क्रियाकलापभन्दा बाहिर छैन, खेलमा म सरकारका हुँदा वा नहुँदा जहिल्यै पनि रुचि र अपनत्व रहनेछ, सहभागी खेलाडी सबैलाई जितको शुभकामना दिन चाहन्छु’, ओलीले भने ।

नेपालीले चान्स पाएपछि गर्छ भन्ने मान्यतालाई यो खेलले फेरि पनि स्थापित गर्ने ओलीले विश्वास व्यक्त गरे । ‘नेपाली क्रिकेटमा नयाँ आयाम थप्न सकियोस्, क्रिकेट हाम्रो पुस्ताको सपना र गौरवको विषय पनि हो’, ओलीले भने ।

ओलीले आजको दिन नेपाली खेलकुद क्षेत्रका लागि विशेष महत्त्वपूर्ण दिन भएको पनि बताए ।

‘हाम्रो गौरवशाली धरहराको काखमा, नेपाल प्रिमियर लिगको ट्रफी लन्च कार्यक्रमले खेलकुदमा नयाँ जाँगर पैदा गरेको छ’, उनले भने, ‘विशाल अनि अग्लो धरहराले हाम्रो इतिहास र संस्कृतिलाई सम्झाउँछ भने नेपाली क्रिकेट इतिहासको विशाल अनि उमङ्गमय पर्व एनपिएलले हाम्रा खेलाडीहरूको सपना र आगामी पुस्ताको प्रेरणालाई उजागर गर्दछ ।’

विश्वभर छरिएर रहेका क्रिकेट प्रेमीहरू मात्रै होइन, अहिलेको पुस्ताले नेपाली खेलाडीहरूको मेहनत र सफलतालाई गौरवका साथ लिएका ओलीले बताए । यो केवल खेल मात्र नभई, हाम्रो राष्ट्रिय जागरूकता र अनुशासनको प्रतीक भएको उनले दाबी गरे ।

ओलीले नेपाली क्रिकेटका हरेक खेलाडी अब्बल रहेका बताए ।

‘जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले स्पोर्टम्यानसिप देखाउँदै आयरल्यान्डका खेलाडीलाई रन आउट नगरेको त्यो भाइरल भिडियो मैले पनि हेरेको थिएँ, जनकपुर झैँ शान्त स्वभाव कायम रहोस्, आसिफ शेखलाई क्याप्टेन कूलको उपनाम दिनुपर्ला, काठमाडौं गुर्खाजका कप्तान करण केसीलाई भ्यालेन्टाइन बोइ भनेर सम्बोधन गर्ने कुरा थाहा पाएको थिएँ’, उनले भने, ‘करणले राजधानीको नाम राख्ने आशा लिएको छु, पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल बलर हुन् कि ब्याटर विश्वले नै चिन्न सकेको छैन, यसपालि ९९ मा आउट हुन नपरोस् शतक हान्नू ।’

कुशल मल्लाको छक्का हान्ने शैली आफूलाई साह्रै मन पर्ने ओलीले बताए ।

‘चितवन राइनोजका कप्तान कुशल मल्ल हेर्दा सानो केटो, ज्यानमा तागत बोकेर छक्का हान्ने शैली साह्रै मन पर्छ, आखिर चितवन गैंडाजका कप्तान हो नि ! थप चर्चा कमाउनू’, खेलाडीको प्रशंसा गर्दै ओलीले अगाडि भने, ‘लुम्बिनी लायन्सका रोहित पौडेलको नाम सुन्यो कि मलाई गर्व लाग्छ, रोहितको कप्तानीले लुम्बिनीको भावना मैदानमा देख्ने छ, जसले जिते पनि रोहितलाई फाइदा छ, आखिर देशले जित्छ र नेपाली क्रिकेटका कप्तान भएको नाताले उनले जितेकै हुनेछन् ।’

विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेलाई उनले नेपाली क्रिकेटको ‘ब्रान्ड एम्बासडर’को संज्ञा दिए ।

‘विराटनगर किङ्सका सन्दीप लामिछाने त हाम्रो क्रिकेटको ब्रान्ड एम्बासडर जस्तै भए । बीबीएलदेखि आईपीएलसम्म सन्दीपको बलले धेरै ब्याट्सम्यानलाई नाच्न बाध्य पारेको छ, त्यसैले त मैले भनेको थिएँ–नेपालीले चान्स पायो भने गर्छ’, उनले भने, ‘कर्णाली याक्स्का सोमपाल कामीका ती योरकरहरूलाई कसले भुल्न सक्छ ? सोमपालले कर्णालीको चिसो पानीको तागत मैदानमा देखउने छन् ।’

उनले खेलाडीहरूलाई अर्को टी–ट्वेन्टी विश्वकप खेल्ने तयारीमा जुट्न पनि भने । ‘कर्णाली याक्सले भारतका गब्बर शिखर धवनलाई अनुबन्ध गरेको सुनेको छु’, उनले भने, ‘जो आईपीएलका सर्वाधिक दोस्रो रन बनाउने ब्याट्सम्यान रहेछन् । यसरी ठूला लिग र विश्वकप खेलेका खेलाडी नेपालमा आउनु गौरवको विषय हो ।’

ओलीले दीपेन्द्रसिंह ऐरीलाई नेपाली क्रिकेटको बाघको संज्ञा दिएका छन् । ‘अन्तिममा हिरोको पालो आउँछ, मेरो फेबरेट नेपाली क्रिकेटका बाघ दीपेन्द्रसिंह ऐरीको ६ छक्काको कीर्तिमान मलाई स्मरण छ’, उनले भने, ‘एनपीएलमा यस्ता थुप्रै कीर्तिमान बनुन्, सुदूरपश्चिम रोयललाई पनि विशेष शुभकामना छ ।’

विश्वकपमा २ सय ३७ रनको रेकर्ड बनाएका मार्टिन गप्टिल पनि विराटनगर किङ्समा अनुबन्धित भएका उनले सुनाए । थुप्रै देशबाट खेलाडी आउने जानकारी पाएको बताउँदै ओलीले एनपीएलले पर्यटन व्यवसायको पनि प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे ।

देशको प्रधानमन्त्री भएकाले सात टीममध्ये कुनको सपोर्ट गर्नेमा द्विविधा परेको उनले बताए। उनले सबैलाई शुभेच्छा र शुभकामना रहेको बताए । ओलीले ले अ-आफ्नो टीमको मनोबल बढाउन आग्रह गर्दै फ्यानहरूबीच मनमुटाव हुने स्थिति सिर्जना नगर्न आग्रह गरे ।

ओलीले क्यानका पदाधिकारीलाई आगामी दिनमा महिला विशेष एनपीएल लिग आयोजना गर्न पनि सुझाव दिएका छन् ।