काठमाडौं- धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।
धितोपत्र बोर्ड गत वर्ष पुस २० देखि नेतृत्वविहीन थियो। धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले आइतबार मात्रै सन्तोषनारायण, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम सरकारलाई सिफारिस गरेको थियो।
धितोपत्र बोर्डको नेतृत्वमा पुगेका श्रेष्ठले यसअघि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यका रुपमा काम गरिसकेका छन् । बोर्डको नेतृत्व ११ महिनादेखि रिक्त थियो । यसअघि भएका नियुक्ति प्रयास पनि विवादमा परेर रोकिएका थिए ।
२०८० पुस २० मा रमेशकुमार हमालको पदावधि सकिएयता सरकारले बोर्डमा नियुक्त गर्न सकेको थिएन । बोर्डको अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पाएका श्रेष्ठले काठमाडौं विश्वविद्यालयबाट बिजनेस एडमिनिस्ट्रेसनमा मास्टर्स (एमबीए) गरेका छन् ।
उनी स्याङ्जाको भीरकोट नगरपालिकाका बासिन्दा हुन्। वि.सं. २०३३ सालमा जन्मिएका उनले विभिन्न कम्पनीमा नेतृत्वदायी भूमिकासहित काम गरेका छन् ।