काठमाडौं – सप्तकोशी नगरपालिका स्थायी घर भएका उमेश गिरी काठमाडौंमा बसोबास गर्छन् । दशैँतिहार लगायत चाडबाडका बेला उनी घर जाने गर्छन् ।
हाल एक निजी विद्यालयमा शिक्षण पेसा गरिरहेका गिरीलाई सोमबार यातायात मजदुरले फोन गरे । सोधे, ‘दशैँ मनाउन घर कुन दिन जाने हो ?’ एक्कासी फोन आउँदा गिरी अलमलमा परे ।
फोन गर्नेलाई सोधे, ‘दशैँका लागि अग्रिम टिकट बुकिङ त खुलेको छैन, होइन ?’ उताबाट जवाफ आयो, ‘सबै सिट बूक भइसक्यो, तपाईं सधैँ हाम्रो गाडी चढेर जाने भएकाले फोन गरेको, कति गतेको टिकट बूक गरिदिऊँ ?’
गिरीले असोज २३ मा जाने गरी टिकट बूक गरिदिन भने । तर, भनेको मितिअनुसार टिकट पाएनन् । ‘अग्रिम टिकट बुकिङ खुल्ने टुङ्गो नलाग्दै बूक गर्दा त सुमोमा अगाडीकै सिटको टिकट पाइन्छ भन्ने लागेको थियो’, गिरीले भने, ‘तर, २३ गतेको लागि त ४ नम्बरको सिटमात्र खाली छ भन्यो, मैले त्यही भए पनि बुकिङ गरिदिनू भनेँ ।’
फोन गर्ने गाडीका ती कर्मचारी चिनजानका व्यक्ति भएकाले आफूले सिट पाएको गिरीले बताए । ‘पोहोर गाडीको प्यासेजमा बसेर घर जानुपरेको थियो, चिनजानको यातायात मजदुर नभएको भए यो पटक पनि त्यसरी नै जानुपर्थ्यो होला ।’
अहिले गिरीले आफ्नो सम्पर्कमा भएको व्यक्तिलाई पनि टिकटका लागि उनै यातायात मजदुरको नम्बर दिन थालेका छन् । ‘टिकट खुलेपछि त के हो के ! त्यसैले मैले त अहिले नै साथीहरूलाई पनि टिकट काट्न सुझाएको छु’, गिरी भन्छन् ।
कैलाली घर भएका नरेश शाही काठमाडौंमा अध्ययनरत छन् । उनी काठमाडौं बस्न थालेको चार वर्ष भयो । दशैँको बेला गाडीको सिट पाउन निकै सकस पर्छ भन्ने उनलाई थाहा छ । त्यसैले शाहीले असोज लाग्नासाथ कैलाली जाने गाडीको टिकट काटिसकेका छन् ।
‘मैले त टिकट काटिसकेँ, बुकिङ खुलेपछि जाँदा त टिकटै पाइँदैन’, शाहीले भने, ‘म त दशैँको बेलामा त्यसै गर्छु ।’ शाहीले रकम बुझाए पनि टिकट भने पाएका छैनन् । टिकट काट्ने ठाउँ र गाडीवाला पनि आफ्नो चिनजानको भएकाले अग्रिम टिकट बुकिङ खुलेपछि टिकट दिने भनिएको शाही बताउँछन् ।
यो पनिः
काठमाडौं छाड्नेलाई सुझाव – फूलपातीअघि नै गाउँ जानोस् !
सरकार र यातायात व्यवसायीको सहमतिमा दशैँका बेला सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने गरिन्छ । यो वर्षको दशैँका लागि असोज १२ गते (पर्सी शनिबार) देखि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भएको छ ।
तर यी प्रतिनिधिपात्र जस्तै घर जाने हतारोमा पर्ने लाखौं नागरिकले टिकटको ‘अग्रिम बुकिङ’ पाउने छैनन् । किनकी बुकिङ खुल्नुअघि नै यातायात व्यवसायी र मजदुरहरूले टिकट बेचिसकेका छन् । अग्रिम बुकिङ नखुल्दै अधिकांश टिकट बिक्री भइसकेको छ ।
रकम लिँदै, भाखा राख्दै
काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कको टिकट काउन्टरमा कार्यरत एक यातायात कर्मचारीका अनुसार अग्रिम बुकिङ खुलेपछि टिकट दिनेगरी अहिले रकम लिने काम भइरहेको छ ।
पहिले नै टिकट दिँदा कारबाहीमा परिने समेत भएकाले गर्दा त्यस्तो गर्नुपरेको ती कर्मचारीले बताए । अग्रिम बुकिङ खुल्नासाथ रकम बुझाएकाहरूको नाममा धमाधम टिकट काट्न थालिने उनको भनाइ छ ।
ती कर्मचारीले भने, ‘अग्रिम टिकटबारे जसरी आम नागरिकलाई बुझाइएको छ, अवस्था त्यस्तो छैन । काउन्टरमा आएर टिकट माग्नेहरूलाई अब टिकट सकियो भन्ने हो । पहिल्यै रकम दिएकालाई टिकट उपलब्ध गराउनुपर्छ ।’ अगाडि नै रकम बुझेको टिकटका लागि छुट्टै लिस्ट बनाउने र बुकिङ खुलेपछि त्यसैअनुसार धमाधम टिकट काट्न थालिने उनले बताए ।
यातायात मजदुर (ड्राइभर र खलासी)हरूले आफ्नो गाडीमा नियमित यात्रा गर्नेहरूलाई फोन गरीगरी अग्रिम टिकटका लागि नाम टिपाउन भनिरहेका छन् ।
‘अहिले जसको पायो, त्यसको टिकट काट्छु भन्दा समस्या हुन्छ’, ती कर्मचारीले भने, ‘आफ्नो सवारीसाधनमा यात्रा गरिरहने यात्रुलाई पहिलो प्राथमिकतामा राखेर हामीले अगाडि नै लिष्ट बनाएका हुन्छौँ, त्यसैले उनीहलाई अग्रिम टिकट काटिदिने हो ।’
नजिकका साथिहरूलाई अगाडि नै लिष्ट बनाएर टिकट रोकेर राखिदिएको सार्वजनिक यातयातका अर्का कर्मचारी बताउँछन् । ‘हामीले अगाडी सिट राखिदिँदा पैसा चाहिँ लिएको छैन’, ती कर्मचारीले भने, ‘साथीभाइ हुन्, टिकट लिन आउँदा माग्दा हुन्छ ।’
बुकिङ खुल्नुअघि नै टिकट काटिने गरेको स्वीकार
मंगलबार यातायात व्यवसायी, यातायात व्यवस्था विभागका प्रतिनिधि र सम्बन्धित सरोकारवाला निकायको उपस्थितिमा भएको छलफलले दशैँका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुलाउने निर्णय गर्यो ।
अग्रिम टिकट भने असोज लागेदेखि नै बाँड्न थालिएको यातयात व्यवसायी पनि स्वीकार गर्छन् । दैनिकजसो छुट्ने गाडीका टिकट अहिलेदेखि नै दिन थालिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर बताउँछन् ।
‘अनलाइनमा बुकिङ १२ गतेबाट हुने हो । एक–दुई दिनपछि जाँदा पनि पहिले नै टिकट काट्न मिल्छ,’ स्वाँरले तर्क गरे, ‘एयरलाइन्समा एक महिनाअघि नै टिकट लिन सकिन्छ । बसमा पनि त्यो मिल्छ ।’
अग्रिम टिकट बुकिङलाई फरक तरिकाले बुझनुपर्ने उनको भनाइ छ । ‘जुन अग्रिम बुकिङ छ – त्यो रेगुलर रूटमा जाने भन्दा बाहेकलाई हो’, स्वाँरले भने ‘घटस्थापनाको दिन पनि एउटा रेगुलर त गाडी जान्छ, त्यो क्यू गाडी (दैनिक रूटमा चल्ने गाडी) हो, यात्रुको चाप पर्ने हुनाले सो दिन सो बाहेक पनि दर्जनौं गाडी पठाउनुपर्छ ।’
क्यू गाडीलाई हटाएर रिजर्भमा जान नपाइने नियम रहेको, तर दशैँका बेला त्यो नियम लागु नहुने हुँदा अग्रिम टिकट बुकिङ खुलाउने गरेको स्वाँरको भनाइ छ ।
दैनिक रूपमा चल्ने गाडीले चाडबाडको बेलामा नपुग्ने भएकाले गर्दा त्यसको लागि अग्रिम बुकिङ त्यसको लागि मात्र भएको अध्यक्ष स्वाँरको भनाइ छ । टिकट काट्दा पनि गाडीको नम्बर चाहिँ नदिने गरिएको उनको भनाइ छ ।
‘कुन गाडी आइपुग्छ भन्ने थाहा नै हुँदैन । त्यसैले अग्रिम रकम लिए पनि गाडी नम्बर समेत यात्रुलाई दिने गरिएको छैन, नियमित रूटको गाडीका हकमा भने टिकटमै गाडी नम्बर उल्लेख गरिन्छ ।
महासंघका महासचिव डेकनाथ गौतम भने अहिले टिकट काट्ने काम नभएको दाबी गर्छन् । त्यस्तो भएको आधिकारिक सूचना आए तुरुन्तै कारबाहीसम्म गर्ने महासचिव गौतमको दाबी छ ।
‘महासंघमा आवद्ध यातयात व्यवसायीले अहिलेसम्म त्यस्तो काम गरेका छैनन्, गर्ने पनि छैनन्’, गौतमले भने, ‘त्यस्तो भएको जानकारी आए तत्कालै कारबाही गर्छौं ।’
दशैँमा वर्षेनी २० देखि २५ लाख यात्रुले काठमाडौं उपत्यका छाड्ने गरेका छन् । देशका अन्य भूभाग र प्रवासबाट त्यसको गुणात्मक सङ्ख्यामा नागरिक ओहरदोहर गर्ने गर्छन् ।
नियमित रूटमा चल्ने सीमित सवारीसाधनबाट यति धेरै यात्रुलाई आवागमन गराउन सम्भव हुँदैन । त्यसैले यातायात व्यवसायीहरूले चाडवाडका बेला काठमाडौं उपत्यकामा चल्ने सवारीसाधन समेत भाडामा लिएर यात्रुलाई जिल्ला पठाउने गरेका छन् ।
आफ्ना नियमित यात्रुलाई नै दशैँका बेला दैनिक चल्ने गाडी अपुग हुने हुँदा अर्को गाडी भाडामा लिएर भए पनि गन्तव्यसम्म पुराउने गरिएको व्यवसायीहरू बताउँछन् ।
एक व्यवसायीले भने, ‘चिनेको मान्छेको त प्रायः सबैको बूक भइसक्यो, अब अरू कति आउँछन्, त्यो हिसाबले गाडी भाडामा लिँदैछौँ ।’
कारबाही गर्न मिल्दैन : विभाग
नगद लिएर टिकट नै नदिइ मौखिकमा सिट कब्जा भइरहँदा नियामक यातायात व्यवस्था विभागका अधिकारीहरू पनि कारबाही गर्न नमिल्ने बताउँछन् ।
बदमासी भएको छैन र व्यवस्थापन गर्न बुकिङ खुल्नुअघि नै त्यसो गरिएको छ भने विभागले केही भन्न नसक्ने विभागका सूचना अधिकारी इश्वरीदत्त पनेरुले बताए ।
‘विगतमा पनि अरनिकोउ यातायातले त्यस्तै गरेको कुरा आएको थियो । त्यसले पूर्वतर्फका जिल्लामा जाने यात्रुको टिकट काट्न थालेको भनिएको थियो’, पनेरुले भने, ‘त्यो नितान्त व्यवसायको कुरा हो । हामीले टिकट नै नकाट भन्ने कुरा पनि आउँदैन । हामीले यातायात व्यवसायी महासंघलाई दशैँका बेला धेरै टिकट आवश्यक पर्ने हुनाले अग्रिम टिकट बुकिङ खोल्न भनेका हौँ ।’
त्यसरी टिकट काट्न पाउने भए पनि बढी भाडा भने लिन नपाउने पनेरुको भनाइ छ । बढी भाडा लिएको उजुरी आए भने तुरुन्त कारबाही गरिने पनेरु बताउँछन् ।
‘अगाडि पनि तिनै यात्रुले टिकट काट्ने हुन्’, पनेरुले भने, ‘सरकारले त समन्वयमात्रै गर्ने हो, अब ढिला नगर्नू भनी १२ गतेलाई एउटा मिति तोकिएकोमात्र हो ।’
कुनै व्यवसायीले आन्तरिक रूपमा राम्ररी व्यवस्थापन गरी असोजदेखि नै टिकट काटेको भए त्यसलाई नराम्रो भन्न नमिल्ने पनेरुको तर्क छ ।
रित्तो हात फर्कंदै यात्रु
दशैँमा घर पुर्याउने बसको टिकट काट्न नयाँ बसपार्क पुगेका यात्रुहरू रित्तो हात फर्कनुपर्ने अवस्था छ । टिकट काउन्टरका कर्मचारीहरूले कि ‘अग्रिम टिकट खुलेपछि आउनू’ या ‘जुन दिन जाने हो, त्यही दिन आउनू’ भन्न थालेका छन् ।
तर, व्यवसायी र यातायात मजदुरहरूले व्यक्तिगत सम्बन्ध र सम्पर्कका आधारमा भएभरको सिट बाँडिसकेकाले नियमित प्रक्रियाबाट अग्रिम टिकट बुकिङ गर्न बसपार्क पुगेकाहरू निरास हुँदै फर्कनुपरेको बताउँछन् ।
‘अहिले अग्रिम टिकट बुकिङ खुलेपछि आउनु भन्छन्, बुकिङ खुलेपछि जाँदा टिकट सकियो भन्छन्, जाने दिनमा काउन्टरले टिकट सकिएको भन्दै फर्काउँछन्,’ बसपार्कमा भेटिएका एक यात्रुले भने, ‘टिकट पाउने सबै विकल्प बन्द गरेर यात्रुसँग दोब्बर तेब्बर रकम लिनेगरी नाममात्रको रिजर्भ गाडी देखाउँछन् । त्यसैमा कोचिँदै उभिएर घण्टौंसम्म कष्टपूर्ण यात्रा गर्न बाध्य बनाउँछन् ।’
राज्य र यातायात व्यवसायीकै मिलेमतोमा यात्रुलाई सास्ती दिनेगरी मौका छोपेर अथाह कमाउन यस्तो सेटिङ गरिएको ती यात्रुले बताए ।
यसरी, अग्रिम बुकिङ नखुल्दै लामो तथा मध्यम दूरीमा गुड्ने सार्वजनिक सवारीसाधनको सिट बाँड्दा लाखौं यात्रुहरूले वर्षेनी दुःख पाइरहेका छन् ।