रामेछाप– घर प्रवेशका लागि सम्बन्धित निकायबाट समन्वय नभएको भन्दै बिनु यादव आइतबारदेखि अनसनमा छिन् ।
जिल्ला प्रशासन कार्यालय, रामेछापको गेटमा असनरत बिनुको माग हो– आफ्नै घरमा बस्न पाउनुपर्यो ।
श्रीमान् प्रदीप कठायत र बिनुको सम्बन्ध विच्छेदको मुद्दा सर्वोच्चमा चलिरहेको छ । मुद्दा फैसला नहुन्जेल श्रीमान्कै घरमा बस्न पाउनुपर्ने भन्दै उनले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी हुन् ।
जिल्ला अदालतले प्रदीप कठायत र बिनुको सम्बन्ध विच्छेद गराइदिएको थियो । तर उच्च अदालतले २०७९ असार १६ मा जिल्लाको फैसला उल्टाइदिएको थियो । उनी उच्चको फैसलालाई आधार मानेर प्रदीपको घरमा बस्न पाउनु माग गरिरहेकी छन् ।
बिनुलाई श्रीमान्कै घरमा बस्न पाउने वातावरण बनाइदिन मानव अधिकार आयोगले महिला आयोगलाई चिठी समेत काटेको छ ।
बिनुले महिला आयोगको चिठी ल्याएर जिल्ला प्रशासनमा निवेदन दिएकी थिइन् । प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको सल्लाहअनुसार शुक्रबार श्रीमान्को घरमा पुग्दा परिवारले प्रवेश नदिएको उनको दाबी छ ।
उनी गुनासो गर्छिन्, ‘सीडीओ साबले छलफल गरेर कुरा मिलाउने आश्वासन त दिनुभएको छ । तर उनीहरू टेर्ने स्थितिमा छैनन् ।’ आफू आउने जानकारी पछि प्रदीप घर छोडेर हिँडेको उनको आरोप छ । यही बहाना बनाएर परिवारले आफूलाई घरमा प्रवेश नदिएको उनी सुनाउँछिन् ।
मन्थली नगरपालिकाका मेयर लब श्रेष्ठले समेत आफूलाई असहयोग गरेको बिनुको दाबी छ । उनी भन्छिन् ‘प्रदीपको परिवार मबाट असुरक्षित रहेको भन्दै मेयरले प्रशासनलाई चिठी पठाइदिएको छ ।’
उनी भन्छिन्, ‘घरमा बस्ने वातावरण मिलाइदिन सक्दैनौँ भने कारणसहित एक निवेदन देऊ भन्दा पनि प्रशासनले मानेको छैन ।’ उनी अनसनमा पनि एक्लै छिन् । बिनु अनसन बसेको दिनदेखि प्रमुख जिल्ला अधिकारी निरौला मुख्य गेटबाट कार्यालय प्रवेश गरेकी छैनन् ।