काठमाडौं– नेपाल पुलिस क्लबले जारी प्रधानमन्त्री कपमा लगातार छैटौँ जित हासिल गरेको छ । शुक्रबार त्रिवि मैदानमा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार छैटौं जित हासिल गरेको हो ।
कर्णाली प्रदेशले दिएको १७२ रनको लक्ष्य पछाएको पुलिस क्लबले २३.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । पुलिसको जितमा दिलिप नाथले अविजित ७५ रन बनाएका थिए भने कुशल भुर्तेलले ४३ तथा कप्तान दिपेन्द्र सिंह ऐरीले ३४ रन बनाएका थिए ।
यस अघि पहिला ब्याटिङ गरेको कर्णालीले ४२.५ ओभरमा अल आउट हुँदै १७१ रन बनाएको थियो । कर्णालीका लागि निश्चल रावलले सर्वाधिक ५० रन बनाएका थिए । लामो समयपछि कम ब्याक गरेका बलर ललित भण्डारीले यस खेलमा २ विकेट लिएका थिए ।
यो जितपछि नेपाल पुलिस क्लबले ६ खेलमा अपराजित रहँदै १२ अंक हासिल गरेको छ र शीर्ष स्थानमा रहेको छ । त्यस्तै कर्णालीको भने ७ खेलमा ६ अंक रहेको छ र अंक तालिकामा सातौँ स्थानमा रहेको छ ।