समाचार

जथाभावी जग्गा प्लटिङ गरेको भन्दै स्थानीयको विरोध

By खबरहब

January 26, 2024

काठमाडौं – ललितपुरको महालक्ष्मी नगरपालिकामा जथाभावी जग्गाको प्लटिङ गरिएको भन्दै स्थानीयले विरोध गरेका छन् । 

नगरपालिकाको वडा नम्बर ६ सिद्धिपुरमा भू–माफियाहरूले जथाभावी जग्गा प्लटिङ गरेको उनीहरूको आरोप छ । वडा कार्यालयले जथाभावी प्लटिङका लागि स्वीकृति दिँदा कृषि तथा सांस्कृतिक क्षेत्र मासिएको स्थानीयको गुनासो छ । 

स्थानीय कृष्ण कुमार महर्जन भन्छन्, ‘वडाले जथाभावी जग्गा प्लटिङ गर्न दिँदा स्थानीय संस्कृतिमाथि हानी गरेको छ । पालिकाले जग्गा प्लटिङको निश्चित मापदण्ड बनाएर मात्र स्वीकृति दिनुपर्छ ।’ 

जथाभावी जग्गा प्लटिङको विरोध गर्दै स्थानीयले वडा कार्यालय अगाडि विरोध प्रदर्शन समेत गरेका थिए । स्थानीयको विरोध पछि वडाध्यक्ष धर्म महर्जनले आफू जनताको भावना विपरित कुनै काम नगर्ने बताएका छन् । 

सिद्धिपुरको भूमि स्थानीय जनताकै चाहना अनुरूप उपयोगको नीति बनाउने उनको भनाई छ ।