ब्रेकिङ स्टोरी

१० डल्ला म:म:को मूल्य दशथरि

By सीता न्यौपाने

January 26, 2024

काठमाडौं– दरबारमार्गस्थित याक एण्ड यति होटलमा प्रतिप्लेट चिकेन मःमः को ६२० रुपैयाँ पर्छ । होटलका सेफ राजीव सापकोटाका अनुसार एक प्लेट चिकेन मः मः को लागत करिब दुई सय हाराहारी पर्छ । तर, पाँचतारे होटलमा ‘हलाल सर्टिफाई मिट’ प्रयोग हुने हुँदा अरु होटलको तुलनामा महंगो पर्ने उनले बताए । 

होटलका खाना र पेय पदार्थ व्यवस्थापक उद्यम सिलवाल पाँचतारे होटलमा  खानाको भन्दा सेवा तथा वातावरणले मूल्य निर्धारण गर्ने बताउँछन् । उनी भन्छन्, ‘यहाँ मान्छेहरु खानका लागि मात्रै आउँदैनन् । अन्य होटलको तुलनामा पाँचतारेको सेवा, सुविधा र वातावरणमा धेरै फरक हुन्छ ।’ 

सफा, शान्त र राम्रो वातावरणको समेत मूल्य जोडिने उनले बताए । त्यसका लागि होटल उपयुक्त स्थानमा हुनुपर्छ । अनुभवी काम गर्ने कर्मचारीलगायत धेरै कुरामा होटलले लगानी गरेको हुन्छ । ती सबै सेवा उपभोक्ताले  तिर्नुपर्ने सिलवालको भनाइ छ । 

तर, याक एण्ड यति होटलबाट निस्कँदै गरेकी उपभोक्ता रमिला न्यौपानेले भने होटलको वातावरण राम्रो भए पनि चिकन मः मः स्वस्थकर नभएको अनुभव सुनाइन् । उनी भन्छिन्, ‘फाइभस्टार होटलमा स्वच्छ खानाको अपेक्षा हुन्छ । तर त्यहाँको मः मः मा टेस्टिङ पाउडर अधिक प्रयोग भएको रहेछ, मः मः खाएको केही समयपछि मलाई असहज भयो । पेट फुलेजस्तो डम्म महसुस भयो ।’  

दरबारमार्गस्थित रिगल फ्लेबर रेष्टुरेन्टमा प्रतिप्लेट चिकन मः मः को मुल्य ३८० रुपैयाँ पर्छ । एक प्लेट चिकन मः मः तयार हुन एक सय ग्राम किमा चाहिन्छ । इण्डिग्रेट सबै मरमसलासहित १५० रुपैयाँ लगानी हुने सञ्चालक रेबन्तकुमार क्षेत्री बताउँछन् । 

उनी भन्छन्, ‘यसमा रेष्टुरेन्टको भाडा, कर्मचारीको तलब, केही प्रतिशत नाफा र कर जोड्दा ग्राहकसम्म आइपुग्दा त्यो मःमः ३८० रुपैयाँ पुग्न जान्छ ।’

ग्राहकले पैसाभन्दा पनि गुणस्तरयुक्त परिकारको आशा राख्ने बताउँदै उनी भन्छन्, ‘हामीले गुणस्तरीय वस्तु मात्रै प्रयोग गर्ने हुँदा केही महङ्गो हुनु स्वाभाविकै हो ।’

नयाँ बानेश्वरस्थित विशाल मः मः सेन्टरका सञ्चालक दिल्लीकुमार कार्की आफूले सहुलियत मूल्यमा खाजा खुवाएको दाबी गर्छन् । उनी भन्छन्, ‘एक प्लेट चिकन मः मः बनाउन एकसय रुपैयाँ लाग्छ ।’

कार्कीले त्यसलाई १६० रुपैयाँमा बेचिरहेका छन् । एक प्लेट मः मः मा जम्मा ६० रुपैयाँ नाफा राखेर ग्राहकलाई सस्तोमा खुवाएको उनी बताउँछन् ।

काठमाडौंमा मः मः को परिकारलाई खाजाका रुपमा मुख्य मानिन्छ । धेरै ग्राहकले होटलमा आएर मः मः नै अर्डर गर्ने हुँदा यसमा अन्य परिकारभन्दा सुलभ मूल्य राखिएको उनी बताउँछन् । 

‘अरु परिकारको तुलनामा मः मः बनाउन पनि धेरै दुःख हुन्छ, उनले भने । तर धेरै ग्राहकले मन पराउने परिकार भएकाले धेरै मूल्यकै कारण मः मः का ग्राहक कम नहून् भनेर मूल्य सस्तो राखिएको उनले दाबी गरे । उपभोक्ता समितिको अनुगमनमा आफू कहिल्यै पनि कारवाही नपरेको उनले खबरहबलाई सुनाए । 

न्युरोडस्थित ‘फेमस होटल’का सञ्चालक हरि थापाले प्रतिप्लेट चिकन मः मः १७० रुपैयाँमा बेच्दै आएका छन् । एक प्लेट मः मः तयार गर्न करिब सय रुपैयाँ लाग्ने बताउँदै उनले ७० रुपैयाँ नाफा नराखी व्यापार गर्न नसकिने बताए । 

थापा भन्छन्, ‘न्युरोडमा पानीसमेत ट्याङकरको किन्नुपर्छ । ट्याङकरको पानीको मूल्य खानेकुरामा गएर जोडिन्छ । व्यापारमा नाफा कमाउने नै उद्देश्य हुन्छ । सबै लगानी ग्राहकबाटै उठाउने हो ।’ 

शंखमुलस्थित बागमती किनारमा स्ट्रेट फुड बेचिरहेका ज्ञानबहादुर थापाले चिकन मःमः प्रतिप्लेट १५० रुपैयाँमा बिक्री गर्दै आएका छन् । उनले आफूले सडक किनारमा पसल राखे पनि गुणस्तरीय सामग्री प्रयोग गरेको दाबी गरे । 

थापा भन्छन्, ‘यहाँ आउने ग्राहक नियमित हुन् । गुणस्तरहीन परिकार बेच्दा ग्राहक बिरामी भए भने मेरो पसल चल्दैन ।’ तसर्थ आफूले खानेकुराको गुणस्तरमा कन्जुस्याइँ नगरेको बताउँछन् । 

सडक छेउमा भाडा तिर्न नपर्ने हुँदा मः मः को मूल्य १५० पर्न गएको तर भाडा तिरेर होटलमा यो मूल्यमा मः मः बेच्न नसकिने थापा बताउँछन् । ‘घरपरिवारकै सदस्यले सबै काम गर्छौँ । काम गर्ने मान्छेलाई तलब दिनु नपर्दा पनि यहाँ मः मः को मूल्य सस्तो भएको हो ।’

बिक्रेताले गुणस्तरीय रहेको बताइरहँदा उपभोक्ताले भने काठमाडौंमा कुनै पनि स्थान वा होटलको मः मः खान लायक नभएको गुनासो गरेका छन् ।

काठमाडौंका प्रदीप श्रेष्ठले मः मः बनाउने मासुलगायत अन्य मरमसला अत्यन्त कम गुणस्तरको प्रयोग हुने गरेको गुनासो पोखे । उनी भन्छन्, पहिलो कुरा त कच्चा पदार्थ नै राम्रो हुँदैन ।’

काठमाडौंमा एकदमै कम होटल तथा रेष्टुरेन्टले मात्रै मःमः का लागि राम्रो मासु तथा मसला प्रयोग गर्ने उनको दाबी छ । साथै, होटलवालाहरुले अत्यन्त महङ्गो मूल्यमा मः मः बेच्ने गरेको उनी बताउँछन् । 

‘अधिकांश कुखुराको मासु पसलमा छाला, खुट्टा छुट्टाएर राखिएको देखिन्छ । त्यो होटलवालाहरुले चिकन मः मः का लागि अर्डर गरेका हुन्छन्’ फ्याँक्न पर्ने मासुबाट बनाइएको मःमः किन यति धेरै महङ्गो ? खाद्य तथा गुण नियन्त्रण विभागले के हेरेर बसेको छ ?’ श्रेष्ठ प्रश्न गर्छन् । 

त्यस्तै अर्की ग्राहक सुनीता थापा मःमः मीठो परिकार भए पनि गुणस्तरहीन रहेको बताउँछिन् । पैसा थोरै छ र  त्यही अनुसारको सस्तो मः मः खाउँ न त भन्दा धेरैपटक आफू बिरामी भएको समेत उनले सुनाइन् । थापा भन्छिन्, ‘अलि धेरै मूल्य तिरेर राम्रो होटलमा खाइयो भने ठिकै छ ।’

केही दिन अगाडि १६० रुपैयाँ पर्ने चिकन मः मः खाएको अनुभव खबरहबलाई सुनाउँदै थापा भन्छिन्,  ‘मःमः काँचै थियो, काँचो मासुको स्मेल आइरहेको थियो । होटलमा गुनासो गरेको, हाम्रो मः मः को स्वाद नै यही हो भन्ने जवाफ आयो ।’

त्यो मः मः ले आफूलाई दुई दिनसम्म बिरामी बनाएको उनले सुनाइन् । 

यी केही प्रतिनिधि घटनाले काठमाडौंको ‘स्ट्रेट फुड’ अर्थात् रोडदेखि पाँचतारे होटलसम्म मःमः गुणस्तरीय नभएको पाइन्छ । तारे होटलहरूमा अनावश्यक विभिन्न लगानी जोडेर उपभोक्ताको ढाड सेक्ने कामसमेत भइरहेको छ ।  

एक प्लेट चिकन मः मः बनाउँदा किमा (छाति वा फिलाको मासु), प्याज, छ्यापि, बन्दा र मैदा आवश्यक पर्छ । त्यस्तै मसलामा जिराको धुलो, नून, बेसार, मःमः मसला, दालचिनीको धुलो, घिउ वा बटर र ग्यास आवश्यक पर्छ । 

फुटपाथदेखि पाँचतारेसम्म यसको लागत सय रुपैयाँदेखि दुईसय रुपैयाँसम्म पर्छ । तर, उपभेक्ताले अत्यन्त महङगो मूल्य तिरेर खानुपर्ने बाध्यता छ । पैसा धेरै तिर्नु त छँदैछ, कुनै ठाउँमा शुद्ध मः मः खान पनि पाइँदैन । 

विभागसँग छैन मापदण्ड : उपभोक्ता अधिकारकर्मी

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बारम्बार खाद्य तथा गुण नियन्त्रण विभागलाई झक्झक्याइरहँदा पनि सुनुवाइ नभएको बताए  । उनी भन्छन्, ‘हामीले खाद्यवस्तुको स्पष्ट मापदण्ड बनाउनुपर्छ भनेका छौं । गुणस्तर र मूल्य लगायतका विषयमा नियमन कडा गर्नुपर्छ ।’ 

संघीय सरकारले मापदण्ड बनाएपछि स्थानीय सरकारलाई पनि काम गर्न सजिलो हुने उनले बताए । ‘व्यापारीहरूको मनोमानीले उपभोक्ता मारमा परेका छन् । उपभोक्ताले स्वच्छ, गुणस्तर र सही मूल्यमा मः मः खान पाएको अवस्था छैन ।’ 

विडम्बना, उपभोक्ता हितको विषय सरकारको प्राथमिकतामै पर्दैन । त्यसकारण उपभोक्ताले मार बेहोर्नुपर्ने स्थिति भएको उनले सुनाए । 

‘एक प्लेट मः मः कस्तो हुने, त्यसको किमा कस्तो राख्ने, स्वास्थ्यको हिसाबले ठीक छ कि छैन र त्यो स्वस्थकर हो कि होइन भन्ने यावत विषयमा अनुगमन र नियमन हुनुपर्छ भनेर निरन्तर पहल गर्दै आइरहेको उनको भनाइ छ । 

मूल्य, गुणस्तर र नापतौलमा निरन्तर अनुगमन र नियमन हुनुपर्छ । कतै मः मः ठूलो हुन्छ, कतै स-सानो हुन्छ । किमा कतै राम्रै पनि छ, धेरै ठाउँमा राम्रो हुँदैन । त्यो नियम गर्ने दायित्व बोकेको खाद्यप्रविधि, वाणिज्य विभाग सक्रिय भएर नलाग्दा उपभोक्ताले दुःख पाएको उनले बताए ।

अनुगमन कसले गर्ने ?   खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको ‘खाद्य प्रविधि विकास तथा पोषण महाशाखा’ उपमहानिर्देशक सोमकान्त रिजालले होटलहरुको खाना स्थानीय निकायले नै अनुगमन गर्ने बताएका छन् ।

तर, विभागको अनुगमन उद्योगमा मात्रै केन्द्रित छ । जनशक्तिको अभावले बजार अनुगमन चाडपर्वको समयमा मात्रै गर्न सकिएको उनले बताए ।  उनी भन्छन्, ‘विभाग ठूलो परिणामको अनुगमनमा जुट्दा स–सानो अनुगमन छुटेको छ ।’

तर, कुनै व्यक्ति वा संस्थाले उजुरी गरेमा विभागले अनुगमन हुने उनले बताए । सानो क्षेत्रको अनुगमन स्थानीय निकायलाई छ । होटलहरुमा कमसल मः मः को बिक्रीवितरण हुनु भनेको स्थानीय तहको सक्रियता कमजोर भएको रिजालले बताए । 

होटलको मः मः खाएर कोही बिरामी भएका छन् भने गुणस्तरीय मासु मात्रै प्रयोग गरेको छु भनेर नहुने रिजाल बताउँछन् । उनी भन्छन्, ‘स्वस्थ जनावर, मासुको प्रशोधन स्थल र पर्याप्त सरसफाइ नहुँदा पनि ग्राहक बिरामी पर्न सक्छन् । यी सबैकुरालाई ध्यानमा राखेर स्थानीय तहले अनुगमन गर्नुपर्छ ।’ 

त्यस्तै, खाद्य प्रविधि विकास तथा पोषण महाशाखा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत ज्योत्स्ना श्रेष्ठले मः मः को मात्रै भनेर अनुगमन नभएको बताउँछिन् । 

‘जिल्ला डिभिजन कार्यालयहरूमा अनुगमन गर्ने अधिकार दिइएको छ,’ उनले भनिन्, ‘हामीले होटल-होटल गएर खानेकुराको अनुगमन गर्न भ्याइँदैन, जनशक्ति कम छ । त्यसको निरीक्षण गर्ने जिम्मा स्थानीय निकायको हो ।’