फाइल फोटो

ब्रेकिङ स्टोरी

विमानस्थलमा कर्मचारी कुटिएको विषयमा छानविन समिति गठन

By खबरहब

January 26, 2024

काठमाडौं– त्रिभुवन विमानस्थलमा प्रहरीबाट अध्यागमनका कर्मचारीमाथि हातपात भएको घटनाबारे छानविन गर्न गृहमन्त्रालयले समिति गठन गरेको छ । 

शुक्रबार अध्यागमनका कर्मचारी र प्रहरीबीच विवाद हुँदा प्रहरीले कर्मचारीलाई पिटेका थिए । 

घटनामा गम्भीर ध्यानाकर्षण भएको बताउँदै गृहमन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति बनाएको हो । समितिका सदस्यमा डीआईजी राजेशनाथ बास्तोला र अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जीसी छन् । 

समितिलाई तीन दिनभित्र रायसहितको प्रतिवेदन पेश गर्न भनिएको छ ।

शुक्रबार बिहान अध्यागमनका अधिकृत छायालाल मोक्तानसँग प्रहरीको विवाद भएको थियो । यसक्रममा प्रहरीले आफूलाई पिटेको मोक्तानको भनाइ छ ।

आगमन कक्षबाट प्रस्थानकक्षतिर जाने क्रममा प्रहरीले मोक्तानलाई मेटल डिटेक्टर लगाएर जाँच लिन खोज्दा विवाद भएको थियो ।

आफू अध्यागमनको अधिकृत भएको र मेटल डिटेक्टर लगाइरहनु नपर्ने भन्दाभन्दै प्रहरीले हातपात गरेको मोक्तानको गुनासो छ । उनका अनुसार प्रहरीले लात्ती प्रहार गरेका थिए ।

घटनापछि अध्यागमन कार्यालयका प्रमुखले सीसीटीभी फुटेज जाँच गरेका थिए । सो घटनामा प्रहरीकै कमजोरी देखिएको अध्यागमन स्रोतको दाबी छ ।

घटना लगत्तै विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआइजी अर्जुन चन्दले अध्यागमनका कर्मचारीसँग छलफल गरेका थिए ।

अब यो घटनामा  तीनदिनभित्र छानविन गरी प्रतिवेदन आएपछि दोषीमाथि कारवाही गरिने गृह मन्त्रालय स्रोतले बतायो ।