ब्रेकिङ स्टोरी

१४ केजी सुन प्रकरणमा प्लाटिनम कलेजका सञ्चालक गुरुङ पक्राउ

By खबरहब

February 26, 2024

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको १४ किलो सुन तस्करी प्रकरणमा प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङ पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पर्वत फुलबारी–२ घर भएका काठमाडौँको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष समेत रहेका गुरुङलाई आज पक्राउ गरेको छ ।

दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धानका क्रममा गुरुङ योजनाकार रहेको पत्ता लागेपछि गुरुङलाई सामाखुसीबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

उनले भने, ‘दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनामा पक्राउ पुर्जी जारी भएपछि गुरुङ फरार थिए । उनी आज पक्राउ परेका छन् । गुरुङलाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको जनाइएको छ ।