अन्तर्राष्ट्रिय

२०३० सम्म द्विपक्षीय व्यापारलाई दोब्बर पार्न भारत र ग्रिस सहमत

By खबरहब

February 26, 2024

नयाँ दिल्ली- सन् २०३० सम्म द्विपक्षीय व्यापारलाई दोब्बर पार्न भारत र ग्रिस सहमत भएका छन् । भारत भ्रमणका क्रममा ग्रिक प्रधानमन्त्री किरियाकोस मित्सोटाकिस र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको भेटवार्ताका क्रममा यस्तो सम्झौता भएको हो ।

भेटवार्ताका क्रममा सन् २०३० सम्म द्विपक्षीय व्यापारलाई दोब्बर पार्ने उद्देश्यतर्फ दुबै मुलुक अग्रसर रहेको भन्दै प्रधानमन्त्री मोदीले खुशी व्यक्त गरेका थिए ।

भारतीय समाचार संस्था एएनआईका अनुसार दुई नेताबीच भएको भेटवार्ताका क्रममा सैन्य उपकरणको उत्पादन गर्ने विषयमा पनि छलफल भएको थियो ।

दुई मुलुकबीच चाँडै आप्रवासन सम्झौतामा हस्ताक्षर गर्ने विषयमा पनि चर्चा भएको जनाइएको छ । त्यसबाहेक दुई नेताबीच अन्तर्राष्ट्रिय एवम् क्षेत्रीय राजनीतिका विभिन्न विषयमा पनि छलफल भएको एएनआईले जनाएको छ ।