सांकेतिक तस्वीर ।

समाचार

अढाई वर्षीया नाबालिका भारतीयलाई बेचियो, पाल्ने जिम्मा लिएकी महिला पक्राउ

By खबरहब

April 26, 2024

काठमाडौं– एकजना अढाई वर्षीया नाबालिकालाई भारत लगेर बेचेको खुलेको छ ।

अढाई वर्षीया ती नाबालिकालाई बेचबिखन गरेको अभियोगमा प्रहरीले ललितपुरको गोदावरी नगरपालिका-१३ घर भई काठमाडौंको जडीबुटी बस्ने उर्मिला भन्ने ४३ वर्षीय कल्पना विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

विश्वकर्माले मकवानपुरको एक परिवारकी नाबालिकालाई होस्टेलमा राखेर पढाइदिने प्रलोभन देखाएर काठमाडौंस्थित आफ्नै घरमा राखेकी थिइन् ।

काठमाडौं ल्याइएकी ती नाबालिकालाई उनले भारतको सिलगुडीबाट आएकी साथीलाई सुम्पिएको खुलेको थियो ।

उनले नाबालिकालाई भारतको सिलगुडीस्थित साथीलाई बेचेको सूचनाको आधारमा राष्ट्रिय बालबालिका खोजतलास केन्द्र तथा राष्ट्रिय बाल अधिकार परिषद्को पहलमा खोजतलास थालिएको थियो ।

ती बालिकाको उद्दार गरेर हाल सुरक्षित आवासगृहमा राखिएको प्रहरीले जनाएको छ । मानवबेचबिखन

अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले विश्वकर्मालाई काठमाडौंको भृकुटीमण्डपबाट पक्राउ गरेर हिरासतमा लिएको छ ।

उनीविरुद्ध मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान गरिरहेको छ ।