आर्थिक

राष्ट्र बैंकले टकमरी गर्‍यो ३१ करोड थान सिक्का, नयाँ नोट नौ करोड थान

By खबरहब

April 26, 2024

काठमाडौं – नेपाल राष्ट्र बैंकले मुद्रा व्यवस्थापन अन्तर्गत ३१ करोड थान सिक्का टकमरी र नौ करोड थान नयाँ बैंक नोट छपाइ गरेको छ ।

चालू छपाइ चक्रअन्तर्गत २० रुपैयाँ दरको नोट नौ करोड थान, १ रुपैयाँ दरको २३ करोड थान र २ रुपैयाँ दरका आठ करोड थान सिक्का टकमरी गरेको हो । टकमरी र छपाइ भएका मुद्रा आपूर्ति भइसकेको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार केन्द्रीय बैंकले नोट छपाइ चक्र अन्तर्गत नै अब ५, १० र १०० दरका बैंकनोट छपाइ प्रक्रिया अघि बढाएको छ । विद्यमान मुद्रा व्यवस्थापन पद्धतिलाई क्रमशः आधुनिकीकरण तथा यान्त्रिकीकरण गर्दै जाने लक्ष्य बमोजिम झुत्रा नोट धुलाइ गरी ब्रिकेट बनाउने आठ थान मेसिन खरिद गरिएको पनि गभर्नर अधिकारीले बताए ।

राष्ट्र बैंकले झुत्रा नोटबाट ब्रिकेट बनाउने मेसिन थापाथलीस्थित निर्माणाधीन भवन तथा प्रदेशस्थित कार्यालयहरूमा जडान गरिसकेको छ । नोट पेलेर ती मेसिनले बनाउने ब्रिकेट बिक्री गर्ने व्यवस्था समेत मिलाइएको गभर्नर अधिकारीले जानकारी दिए ।

पछिल्लो लटमा थप गुणस्तरीय बैंक नोट छाप्न सुरक्षण विशेषता तथा नोटमा प्रयोग हुने सबैजसो प्राविधिक स्पेसिफिकेसनलाई निरन्तरता दिइएको पनि गभर्नरले जनाए ।

राष्ट्र बैंकले हाल आठ स्थानमा रहेका नोटकोष र वाणिज्य बैंकमा रहेका ७२ वटा नोटकोषमार्फत बैंक/वित्तीय संस्था, सहकारी र सरकारी निकाय तथा सर्वसाधारणलाई आवश्यक पर्ने मुद्राको सहज आपूर्ति गर्दै आएको जनाएको छ ।