फाइल तस्वीर

समाचार

समातिए सामुदायिक वनमा डढेलो लगाउने युवक, मुद्दा चलाइँदै

By खबरहब

April 26, 2024

बेनी- म्याग्दीको एउटा सामुदायिक वनमा डढेलो लगाउने १ जना युवक पक्राउ परेका छन् ।

बेनी नगरपालिका- ६ को खैरेनी सामुदायिक वनमा आगो लगाउने स्थानीय एकजना युवकलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।

गत वैशाख ९ गते डढेलो लगाएको सूचनाका आधारमा पक्राउ गरिएका युवा केही दिनअघि मात्रै वैदेशिक रोजगारी फर्किएका खुलेको छ।

सहायक वन अधिकृत विनयबहादुर अधिकारीले ती युवकको विस्तृत विवरण मुद्दा अघि बढाएपछि सार्वजनिक गरिने जानकारी दिएका छन् ।

म्याग्दीमा ३ सय ११ सामुदायिक वनमध्ये १ सय १२ वटाको १ हजार हेक्टरमा डढेलो लागेको छ ।

डढेलोले ग्रामीण बस्ती जोखिमा छन् । डढेलको धुवाँले जिल्लामा वायु प्रदूषण बढेको छ । प्रदेश वन निर्देशनालयले गण्डकी प्रदेशका ११ मध्ये सबैभन्दा बढी म्याग्दीको वन क्षेत्रमा क्षति पुगेको जनाएको छ ।

वन ऐन २०७६ दफा ५० को उपदफा ४ अनुसार वन डढेलो लगाएर कसुर गर्नेलाई क्षति भएको बिगो असुल गरि तीन वर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।