अन्तर्राष्ट्रिय

अमेरिकाले भन्यो : युक्रेन युद्धमा चीनले नसघाएको भए रुस टिक्ने थिएन

By खबरहब

April 26, 2024

अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनले युक्रेन युद्धमा रुसलाई चीनले दिएको समर्थनलाई लिएर राष्ट्रपित सी चिनफिङलाई प्रश्न गरेका छन् ।

युक्रेन युद्धमा रूसलाई दिएको समर्थनबारे औंला उठाएका ब्लिङ्कनले यदि चीन पछि हट्ने हो भने रुस समस्या पर्ने पनि बताए ।

ब्लिङ्कनले पत्रकारहरूसँग कुराकानीका क्रममा आफूले सी चिनफिङसँग चीनको समर्थनबिनार रूस युद्धमा टिक्नै नसक्ने तर्क गरेको जानकारी दिए ।

यसअघि सी चिनफिङले चीन र अमेरिकाले सहयोगी भएर काम गर्नुपर्ने आवश्यकता औँल्याए । उनले प्रतिस्पर्धाभन्दा सहयोग आदान प्रदान गरेर अघि बढ्न सके दुश्चक्रमा फस्नबाट दुवै देश जोगिने बताए ।

शुक्रबार मात्रै बेइजिङमै भएको भेटका क्रममा चिनियाँ विदेश मन्त्री वाङ्ग यीले ब्लिङ्कनलाई चीनको मामिलामा अमेरिकाले कुनै किसिमको सीमा नाघ्न नहुने चेतवानी दिएका थिए ।

अमेरिकी विदेश मन्त्री ब्लिङ्कन २४ अप्रिलदेखि चीन भ्रमणमा छन् । उनले शुक्रबार समकक्षी र चिनियाँ राष्ट्रपतिसँग वार्ता गरे ।

ब्लिङ्कनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग दुई देशबीचका विवादास्पद मुद्दाहरूमा कुरा गरेका छन् ।

तियानमेन स्क्वायरनजिकै ग्रेट हल अफ द पिपुलमा स्थानीय समय अनुसार शुक्रबार दिउँसो यी दुई नेताको वार्ता भएको हो ।

सीले यो वर्ष अमेरिका-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ४५औं वार्षिकोत्सव भएको उल्लेख गर्दै दुई देशले  ‘शत्रुताको सट्टा साझेदार हुनुपर्छ’ भने ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै ब्लिङ्कनले अमेरिकाले चीनको विकासलाई रोक्ने वा विश्वका दुई ठूला अर्थतन्त्रबीच तनाव ल्याउने उद्देश्य नबोकेको बताए ।